‘सम्बन्ध’ टुटाउनेका अनेकौं सुर

‘सम्बन्ध’ टुटाउनेका अनेकौं सुर
सुन्नुहोस्

– मोतीराम तिमल्सिना

काभ्रेपलाञ्चोक जिल्ला अदालतमा २०७९ माघ २२ गते भुम्लु गाउँपालिका–५ सल्ले घर भई ललितपुर महानगरपालिका–५ जावलाखेलस्थित आमासँग बस्दै आएकी ३ वर्षीया सम्राक्षा लामा, ६ महिने बच्चा सम्राज्ञी लामासहित ३४ वर्षीया जुनी तामाङले अंशचलन तथा मानाचामलसम्बन्धी मुद्दा ३९ वर्षीय श्रीमान् भरतकुमार लामाविरुद्ध दर्ता गरिन् । 

न्याय प्रशासन ऐन, २०७३ को दफा ७ तथा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १८ बमोजिम अदालतको क्षेत्राधिकारभित्र दायर भएको उक्त मुद्दामा श्रीमान् भरतकुमार लामाले २०७९ चैत २६ गतेसम्म तारेख गुजारी थाम्ने थमाउने म्यादसमेत बाँकी राखेनन् । प्रतिवादी हाजिर हुन आएका बखत मुद्दा जगाउने गरी अंश मूल मुद्दा भएकाले डिसमिस नभएको हुँदा तामेलीमा राख्ने आदेश जिल्ला न्यायाधीश मोहनप्रसाद भट्टराईले २०८० असार २९ गते गरे । जुनी र भरतकुमारविरुद्ध २०७५ साल असोज ३१ सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।

जेठी छोरी सम्राक्षाको २०७६ असार २३ र कान्छी छोरी सम्राज्ञीको २०७९ असार ३० गते जन्म भएको हो । ज्याला मजदुरी गरेर ललितपुर बस्दै आएको परिवारमा सामान्य विषयमा असमझदारी बढ्यो । श्रीमती जुनीले श्रीमानसँग बस्न नसक्ने निश्कर्षसहित दुई छोरी र आफ्नोसमेत लालनपालन सहितको जिम्मेवारी लिने गरी कानुनी उपचारका लागि जिल्ला अदालत पुग्ने निर्णय गरिन् । भरतकुमारको उनी दोश्रो श्रीमती हुन् । पहिलो श्रीमतीसँग सम्वन्धविच्छेद भएपछि जुनीसँग विवाह भएको थियो । पहिलो श्रीमतीबाट जन्मिएका एक सन्तान छोरा साथमा छन् । जुनीले मासिक २० हजार श्रीमान् भरतकुमार र नभए उनका बाबुबाटसमेत दिलाउन माग गरेकी थिइन् । 

मुद्दा दर्ता गरेको १४ महिना अर्थात २०८० चैत्र ४ गते श्रीमती जुनी र श्रीमान् भरतकुमार लामाबीच जिल्ला फिर्ता लिँदै मिलापत्रको सहमति भयो । पहिलो श्रीमतीबाट जन्मिएको सन्तान, दोश्रो श्रीमतीपट्टिका दुई सन्तानको भविष्यका लागि पनि उनीहरूले मिल्नुको विकल्प देखेनन् र मिलापत्र गरेको प्रतिक्रिया दिए । प्रविधि, खुलापन, अविश्वास, असमझदारी, आशंकाका कारण पारिवारिक सम्बन्ध बिग्रँदै गएका छन् । अदालतमा मुद्दा दर्ता गरेर सम्बन्धविच्छेद भएका व्यक्तिले आफ्नै सन्तानलाई बिचल्ली बनाएका कारुणिक दृश्य पनि देखिन थालेका छन् ।

‘बाबु र आमा दुबैले सन्तानको जिम्मेवारी लिँदैनौँ भन्दै बहस गरिरहेका हुन्छन्,’ एक कानुन ब्यवसायीले भने, ‘सम्वन्धविच्छेद र पारिवारिक असमझदारीले समाजमा विग्रह मात्रै निस्कँदै छैन । बालबालिकाहरूको अन्धकार भविश्य, गलत संगतका कारण हुन सक्ने अपराधका बारेमासमेत सचेत भएको देखिँदैन ।’ आर्थिक वर्ष २०७९÷२०८० को वार्षिक प्रतिवेदनमा पारिवारिक विवादका १ हजार २ सय ३७ वटा मुद्दा दर्ता भएको तथ्यांक उल्लेख छ । चालु वर्षको ९ महिनामा करिव ८ सयभन्दा धेरै मुद्दा पारिवारिक विवादका छन् ।

आर्थिक वर्ष २०७९/२०८० मा विवाहसम्बन्धी एउटा मुद्दा दर्ता हुँदा सम्वन्ध विच्छेदका ६ सय ५९ वटा मुद्दा दर्ता भए । जसमा ५ सय ३८ वटा फस्र्याेट भएका थिए । मातृत्व तथा पितृत्व कायमसम्बन्धी एउटा मुद्दा थियो । सम्बन्ध विच्छेदपछि अंशबण्डासम्बन्धी ५ सय १९ वटा मुद्दा थिए ।

जसमध्ये ३ सय ४ वटा फैसला भए । अपुतालीसम्बन्धी ६ वटा मुद्दा दर्ता भई ५ वटा फस्र्याेट भएका थिए । मानाचामलसम्बन्धी ४९ वटा दर्ता भए । जसमा ३१ वटा सोही आर्थिक वर्षमा टुंगिए । नाता कायमसम्बन्धी २ वटा गरी सोही आर्थिक वर्ष पारिवारिक विवादका १ हजार २ सय ३७ मुद्दा दर्ता भएका थिए । जसमध्ये ८ सय ८२ वटा फस्र्याेट भए भने ३ सय ५५ वटा चालु वर्षका लागि जिम्मेवारी सरेका थिए ।

चालु वर्षमा दर्ता भएका पारिवारिक विवादका मुद्दाको संख्या गत वर्षजस्तै उल्लेख्य छन् । जिल्ला अदालतमा त्यस्तै बहुविवाहसम्बन्धी १२ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै सोही आर्थिक वर्षमा सम्पत्तिसम्बन्धी ९ सय थान मुद्दा दर्ता भएका थिए । भोगाधिकारका २ वटा, जग्गासम्बन्धी १ सय ७ वटा, लेनदेनसम्बन्धी २ सय ९८ वटा, सार्वजनिक जग्गासम्बन्धी २ वटा, सम्पत्ति हस्तान्तरण १, लिखत बदरका ४ सय ८२, घरबहाल ४, दानबकस १ र क्षतिपूर्तिसम्बन्धी ३ वटा गरी ९ सय थान मुद्दा दर्ता भएका थिए । अहिले उक्त संख्या ह्वात्तै बढेको छ ।

एक साताअघि जिल्ला अदालत काभ्रेपलाञ्चोकमा मेलमिलापकर्ता कानुन ब्यवसायीले दुई लाख रूपैयाँ सम्वन्धविच्छेद गर्दा लिएको विषयले खैलाबैला भएको छ । कानुन व्यवसायीले सम्बन्धित ब्यक्तिले खुशीले दिएको भनिए पनि अर्काे पक्षलाई धेरै रकम माग्न लगाएर, मिलापत्र हुने अवस्थामा पनि दुई लाख रूपैया नदिँदासमेत मिल्न नदिएर दुई लाख रूपैयाँ लिएको पक्षहरूले बताएका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू