सामुदायिकमा पढ्ने छात्रालाई साइकल र नगद
सिन्धुलीको मरिण गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई प्रोत्साहनस्वरुप साइकल र एक लाख रुपैयाँ नगद दिएको छ ।
आर्थिक वर्ष २०७९-८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल र नगद वितरण गरेको हो ।
अध्यक्ष विमर्श मोक्तानले हालसम्म पालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा कक्षा ११ अध्ययनरत एक सय ६० छात्रालाई साइकल तथा स्नातक तह उत्तीर्ण पाँच छात्रालाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ नगद दिएको जानकारी दिए । उनका अनुसार उच्च शिक्षामा छात्राको आकर्षण बढाउन र बालविवाह न्यूनीकरण गर्नका निम्ति यस्तो कार्यक्रम ल्याइएको हो ।
‘हाल पालिकाभित्र दुईवटा उच्च माध्यमिक विद्यालय छन् । ती विद्यालयमा अध्ययनरत एक सय ६० विपन्न, दलित, आदिवासी जनजाति छात्रालाई पहिलो चरणमा साइकल वितरण गरेका छौँ,’ अध्यक्ष मोक्तानले भने, ‘स्नातक तह उत्तीर्ण पाँच जना छात्रालाई पनि एक लाख रुपैयाँ नगद प्रोत्साहनस्वरुप प्रदान गरेका हौं ।’
पालिकाभित्रका अधिंकाश छात्राले माध्यमिक तह शिक्षा (एसईई) उत्तीर्ण गर्ने बित्तिकै विवाह गर्ने बताउँदै उनले विवाह गर्नुभन्दा अघि नै स्नातक तहसम्मको पढाई पूरा गरेको छात्रालाई नगद वितरण गरिएको जानकारी दिए ।
यसले छात्राहरुको शिक्षामा पहुँच बढ्नुका साथै उनीहरुलाई केही नयाँ काम गर्न पनि थप बल पुग्ने अध्यक्ष मोक्तानको विश्वास छ ।
टिप्पणीहरू