टाउकोमा प्लेकार्डको टोपी लगाएर सीपी मैनाली सडकमा

नक्कली भूटानी शरणार्थी प्रकरणलगायत भ्रष्टाचारविरुध्द नेकपा माले पनि सडकमा ओर्लिएको छ ।

शरणार्थी काण्डमा मुछिएकाहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाइरहेका बेला छानविनलाई प्रभावकारी तुल्याउन सरकार र सरोकारवालाहरुलाई खबरदारी गर्ने भन्दै माले सडकमा उत्रिएको हो । 

आज दिउँसो  काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शनकारीहरुले भ्रष्टाचारविरुद्ध चर्को नारा लगाएका थिए । अध्यक्ष सीपी मैनालीको नेतृत्वमा भएको प्रदर्शनमा पूर्वमन्त्री कुमार बेलबासे,खगेन्द्र प्रसाईं , स्थायी कमिटी सदस्य दिनानाथ घिमिरे,सुरेन्द्र ढकाललगायत सहभागी थिए । 

त्यस क्रममा टाउकोमा प्लेकार्डको टोपी लगाएका र हातमा झण्डा लिएका मैनालीसहितका नेता-कार्यकर्ताले 'साम्राज्यवादी सुक्ष्म व्यवस्थापन मूर्दावाद !' 'विस्तारवादी सुक्ष्म व्यवस्थापन मूर्दावाद !', 'वैदेशिक तावेदारीवाद बन्द गर !' 'वैदेशिक दलाली बन्द गर !' 'हिन्द-प्रशान्त रणनीतिको बिरोध गरौं !' 'भ्रष्टाचार - कमिशनखोरी मूर्दावाद !', 'नक्कली भुटानी शरणार्थी काण्डका सक्कली दोषीलाई कार्वाही गर !' जस्ता नारा लगाएका थिए । 

नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ कुम्ल्याउने गिरोहमा उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिहरुको संलग्नता रहेको अनुसन्धानबाट खुलिसकेको छ । त्यसकारण राजनीतिक पहुँच र प्रभावले छानविन प्रक्रिया प्रभावित हुनसक्ने आशंकाका कारण राजनीतिक दल, तिनका भातृ संगठनलगायत सरोकारवालाहरुले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

टिप्पणीहरू