एमालेले सरकारको जवाफ माग्दै सदन अवरुद्ध गरेपछि प्रधानमन्त्रीको सम्बोधन अलपत्र

एमालेले सरकारको जवाफ माग्दै सदन अवरुद्ध गरेपछि प्रधानमन्त्रीको सम्बोधन अलपत्र

प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद चल्न नदिएपछि प्रतिनिधिसभामा प्रधानमन्त्रीले गर्ने भनिएको सम्बोधन अन्योलमा परेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची हिजै तय भएको हो । तर, एमालेका सांसदहरुले बुधबारको बैठकमा सत्तापक्षका सांसदले बोलेको कुरालाई जोडेर आज सदनमा नाराबाजी गरेपछि बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नपाएको हो ।  

आज बैठक शुरु हुनेबितिक्कै एमालेका सांसदहरुले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचारीको बात लगाइएको भन्दै उठेर बिरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले समय दिएपछि बोलेका सुवास नेम्वाङ र पदम गिरीले ओलीमाथि लागेको आरोपको सरकारले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान लिए । सभामुखले पटक–पटक संसद सूचारु गर्न सहयोग मागेपनि एमाले सांसदहरुले अस्वीकार गरेपछि २० मिनेटका लागि भनेर बैठक स्थगित गरियो । 

तर, डेढ घण्टा बितिसक्दा पनि बैठक शुरु भएको छैन । सभामुख घिमिरेले प्रमुख चार दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरि सदन चलाउने प्रयास गरिरहेको बताइएको छ । 

यसअघि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बुधबारको संसद बैठकमा सबै भ्रष्टाचारका घटनाको वस्तुनिष्ठ छानविन गर्नुपर्ने माग गर्दै पशुपतिमा चढाइएको जलहारीको प्रसंग ल्याएका थिए । एमाले अध्यक्ष प्रधानमन्त्री भएका बेलाको उक्त चर्चित घटनामा आर्थिक अनियमितता भएको सांसद दाहालको दाबी थियो । 

त्यसैको विरोधमा एमालेका सांसदहरुले संसदमा हङ्गामा गरेका हुन् ।

टिप्पणीहरू