रेशम चौधरीलाई छुटाउन पाईंदैन भन्दै शीतल निवासमा उजुरी

रेशम चौधरीलाई छुटाउन पाईंदैन भन्दै शीतल निवासमा उजुरी

टीकापुर हत्याकाण्डमा ज्यान गुमाउने प्रहरीका परिवारले रेशम चौधरीलाई आममाफी नदिन राष्ट्रपति कार्यालयमा उजुरी दिएका छन् । 

आज राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले चौधरीलाई आममाफी नदिन निवेदन दर्ता गराएकी हुन् । उनले तीन तहको अदालतले निरुपण गरिसकेको विषयलाई राजनीतिको खास्टो ओढाएर माफी मिनाहा दिए पीडितमाथि अन्याय हुने जिकिर गरेकी छन् । 

‘तीन तहको अदालतले निरुपण गरिसकेको विषयलाई राजनीतिको खास्टो ओढाएर अपराधीलाई माफी मिनाहा प्रदान गरी राज्यको सबैभन्दा शाक्तिशाली नीति राजनीतिलाई नै अपराधीकरणसँग मितेरी नगाँसियोस्,’ निवेदनमा भनिएको छ ।

अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा चौधरीलाई छुट्याउन पटक–पटक राजनीतिक सौदाबाजीको प्रयत्न भएको उल्लेख निवेदनमा थप भनिएको छ, ‘यही घटना म अरु कसैलाई पर्छ भनेर कल्पना गर्न सक्दिनँ न त कुनै नागरिकले सोच्न सक्छ । न त मेरा पतिलगायतका सुरक्षाकर्मीको हत्या भएझैं दोषीलाई कानूनमा नभएको मृत्युदण्डको माग गरेकी छु । मेरो याचना त दिवंगत राष्ट्रसेवकको आत्माका शान्तिका लागि विद्यमान कानूनबमोजिम अदालतले गरेको फैसलाअनुसार दोषी पनि सजायको भागिदार हुनुपर्छ भन्ने मात्र हो ।’

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ (४) को (घ) मा समेत ‘क्रु तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको कसुरका कसुरदारलाई सजाय माफी गर्ने, मुल्तबी राख्ने, परिवर्तन गर्ने वा कम गर्न नहुने व्यवस्था रहेको स्मरण गराउँदै कडायतले आफ्ना लागि मात्र नभई सम्पूर्ण जनता, सुरक्षाकर्मी र राष्ट्रसेवकका लागि न्याय र कानूनका पक्षमा देशका अभिभावक र संविधान संरक्षक सँगसँगै छन् भन्ने अनुभूति गराउन पनि चौधरीले माफी मिनाहा पाउन नहुने बताइन् । 

टीकापुर हत्याकाण्डको मुख्य दोषी ठहरिएपछि जन्मकैदको सजाय भुक्तानी गरिरहेका चौधरीलाई सरकारले आगामी सोमबार गणतन्त्र दिवसको दिन आममाफी दिने तयारी गरेको छ ।

टिप्पणीहरू