संसदीय समितिको सभापतिका लागि सभामुखको सात दिन
सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति चयनका लागि सात दिनको समयसीमा तोकिदिनु भएको छ ।
आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले सभापति चयन नहुँदा विधेयकमाथिको समितिगत छलफलले गति लिन नसकेको भन्दै सात दिनभित्र सभापति चयन गरिसक्न निर्देशन दिनुभएको हो ।
संसदीय समितिको नेतृत्वबारे दलहरुको ध्यानाकर्षण गराउँदै सभामुख घिमिरेले समिति र उपसमिति ज्येष्ठ सदस्यले नै नेतृत्व गरिरहेको भएपनि सभापति चयन नहुँदा विधेयकमाथिको छलफलले गति लिन नसकेको उल्लेख गर्नुभयो ।
‘संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिएको छैन । ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ । उपसमिति पनि ज्येष्ठ सदस्यले नै नेतृत्व गर्नुभएको छ,’ बैठकमा सभामुखले भन्नुभयो, ‘सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिएको छैन । तपाईंहरुले आजको मितिबाट सात दिनभित्रमा सहमतिमा सभापति चयन गर्नुहोस् । अथवा, सात दिनपछि प्रक्रिया (निर्वाचन)बाट नेतृत्व चयन गर्न मलाई सहयोग गर्नुहोस् ।’
गत १९ चैतमा प्रतिनिधिसभा नियमावली २०७९ पारित भएपछि १५ वैशाखमा प्रतिनिधिसभाका १० वटा विषयगत समिति गठन गरिएको थियो । यसपछि २ जेठमा प्रतिनिधिसभाका १० वटा विषयगत समितिको पहिलो बैठक बसेको थियो भने बैठकको सभापतित्व ज्येष्ठ सदस्यले गरेका थिए ।
टिप्पणीहरू