मन्त्रीसँगको भेटपछि काठमाडौंका मेयर झन् क्रुद्ध

मन्त्रीसँगको भेटपछि काठमाडौंका मेयर झन् क्रुद्ध

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले विपन्न एवम् लक्षित वर्गलाई कुल शैयाको १० प्रतिशत छुट नदिने ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतलाई भेटेर मेयर साहले विपन्न वर्गलाई कानूनबमोजिम उपचारमा दिएको छुट सुविधाको विवरण महानगरले माग्दासमेत उपलब्ध नगराउने ती स्वास्थ्य संस्थालाई सात दिनभित्र कारबाहीको माग गरेका हुन् । 

अन्यथा, महानगरपालिका आफैं ती स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्न बाध्य हुने उनको चेतावनी छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवम् प्रचलित स्वास्थ्यसम्बन्धी कानूनमा विपन्न र लक्षित वर्गलाई कुल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्नेलगायत स्वास्थ्य सुविधाहरु उल्लेख छन् । 

यसअघि जेठ ६ गते काठमाडौं महानगरपालिकाभित्र रहेका अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थासँग लक्षित वर्गलाई उपलब्ध गराइएको छुट सुविधाको विवरण मागिएको थियो । 

तर, ६८ स्वास्थ्य संस्थाले हालसम्म सो विवरण नबुझाएको बताइएको छ । आज सामाजिक सञ्जाल फेसबुकमार्फत् मेयर साहले लेखेका छन्, ‘माननीय मन्त्रीज्युको ध्यानाकर्षण गराउँदै काठमाडौँ महानगरपालिकाले छुट सुविधासम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरणअनुसार नियमन र कारबाही गर्न अनुरोध गरेका छौं । यदि मन्त्रीज्युले ७ दिनभित्र उहाँहरुलाई कानूनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने छौं ।’

मेयरले नेपालको संविधान र प्रचलित कानूनले आधारभूत स्वास्थ्यसम्बन्धी मौलिक हक राज्यले प्रत्याभूत गर्नुपर्ने उल्लेख गर्दै सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको समेत स्मरण गराएका छन् । मेयरले मन्त्रीसँग हिजो भेटवार्ता गरेका हुन् ।
 

टिप्पणीहरू