उपप्रधानमन्त्रीले बिदाई गर्नुअघि घण्टाघरमा मुर्दावादको नारा घन्कियो
मक्का मदिनामा हज गर्न नेपाली मुस्लिम समुदायको पहिलो समूह हिजो राति साउदी अरेबियातर्फ प्रस्थान गरेको छ । दुई सय ६८ जनाको टोलीलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राति ११ बजे विमानस्थल पुगेर बिदाई गर्नुभएको बताइन्छ ।
तर हिजै दिउँसो काठमाडौंको घण्टाघरस्थित पञ्च काश्मिरि तकिया मस्जिदमा अरु मुसलमानले अनियमितता भएको आरोप लगाउँदै नाराबाजी गरेका थिए । गृह मन्त्रालय मातहतको नेपाल हज समितिले साउदी अरेबिया पठाउन उठाएको रकममा हिनामिना गरेको उनीहरुको आरोप छ ।
जजिरा एयरलाइन्सलाई चार्टर उडानमा हज गर्न जाने झण्डै ११ सय जना नेपाली मुसलमानलाई काठमाडौंबाट लैजाने र ल्याउने जिम्मा दिइएको छ । केही मुसलमानले रकम अनियमिततासँगै परिवारका सदस्यहरुलाई पनि छुट्टाछुटै उडाएको, ४० दिनको बसोबासमा खानालगायतको व्यवस्था हज समितिले नमिलाएको, प्रतिव्यक्ति चार लाख उठाएपनि खर्चपछि बाँकी रहेको रकम फिर्ता नदिएको आरोप लगाइएका छन् ।
समितिले अपारदर्शी कार्य गरेको आरोप लगाउँदै झण्डै एक सय जना मुुसलमानहरुले हिजो दिउँसो त्रिचन्द्र कलेज अगाडिको सडकमा नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीको पहलमा असन्तुष्ट मुसलमानहरु, हज समितिका सदस्य र मस्जिदका जिम्मेवारहरुबीच कुराकानी भएको बताइन्छ ।
टिप्पणीहरू