परेवाले धानिदिनुपर्ने कस्तो आयो दिन ?

परेवाले धानिदिनुपर्ने कस्तो आयो दिन ?

‘एउटा गरिब देशको ख्याउटे नेता
शासनमा पुग्छ (त्यो अब्राहम लिंकन होइन)

ख्याउटे नेता मोटाउँदै मोटाउँदै
सुन्निएर चिनिनसक्नुको हुन्छ
हेर्दा हेर्दै देशचाहिँ कुशासनमा पुगिसकेको हुन्छ...’

गणतन्त्र–गनतन्त्र अर्थात् जसको लठ्ठी उसको भैँसी । न प्रजातन्त्र, न लोकतन्त्र । गणतन्त्रमा गणका मालिक गणेश पनि छन् । कहिले सातमुखी, कहिले पञ्चमुखी । कहिले कहिले त त्रिमुखी पनि । नक्कली भुटानी शरणार्थी प्रकरण र सुनकाण्डमा भएको त्रिदलीय भेटघाटले पित्तलको जवाफ दिन आँट नगरी त्यसै पन्छाइदिएको घटना पछिल्लो उदाहरण हो । हेर्नाेस् त, संसद्को मामिला दल बैठकमा लगेर कसरी टुङ्ग्याइयो ! आखिर संसद् पनि के रेछ र ? दलको स्टयाम्प प्याड न हो ।

खै राष्ट्रिय प्रजातन्त्र, खै जनतन्त्र, खै जनवाद ? गणतन्त्रमा पुष्पलालको नौलो जनवाद र तुल्सीलालको राष्ट्रिय प्रजातन्त्र पनि अटाउँदैन । समाजवादको कुरो त परै रह्यो । जेठ १५–टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरी पनि छुटेको दिन । अपराधमुक्ति दिवस, दण्डहीनताको पराकाष्ठा, कानुनी शासनको अन्त्य– जे  भने पनि भो । आजदेखि प्रहरी र सरकारको मनोवैज्ञानिक विश्वासको मेरुदण्ड कमजोर भयो भन्ने अर्थ लगाए भो । त्यस्तो मेरुदण्ड नै पो के थियो र भन्ने प्रश्न पनि उठेको छ ।  अब चिरञ्जीवी वाग्ले, जयप्रकाशप्रसाद गुप्ता, गोविन्दराज जोशी र  विजयकुमार गच्छदारले पनि मजासँग चुनाव लड्ने, कानुन बन्ने दिन टाढा नहोला । पाउनु पनि पर्छ । अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण भइसकेपछि अब केचाहिँ पो बाँकी राख्नु र ?

देश भष्मासुरहरूले सिध्याए । भष्मासुरलाई वरदान दिने जनता नै थिए र हुन् । तिनले चुनाव कसरी जिते, हामीलाई थाहा छैन र ? अनि खर्च गरी गरी जितेको चुनावको हिसाब अर्काे चुनावका लागि उठाउनुपरेन ? 

पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछिबाट मात्र कुरो गरौँ, पुरानो बिर्साैँ । गठबन्धन एउटासँग, सरकार निर्माण अर्काेसँग–चरम स्वार्थ र अस्थिरताको बीजारोपण त्यहीँबाट शुरु भएन र ? अनि राष्ट्रपति अर्कैको बनाउन खोज्दा गठबन्धनको मित्रले मान्थ्यो र ? दुइटा नाउमा खुट्टा भएन र ? गौतम बुद्धले पनि भनेका छैनन्–सर्वजन हिताय । बरु उनले भनेका छन्– बहुजन हिताय, बहुजन सुखाय । सबैको कल्याण हुन सक्दैन । सरकार बनाउने दलले सबै  दललाई खुशी बनाउनुपर्दैन, सक्दैन पनि । देश काले काले मिलेर खाऊँ भाले भइसक्यो, अब समृद्धि कहाँबाट खोज्ने ? सरकार बचाउन छाडेर को समृद्धि खोजोस् ?

अहिले गृष्म चल्दै छ, बर्खा पनि लाग्ला । मलको जोहो के हुँदै छ ? बिजुक्छेले सधैँ भन्ने गरेको रासायनिक मल कारखाना निर्माण प्रक्रिया कहाँ  पुग्यो ? बाढीपैरोबाट बच्न, उद्धार–राहत गर्न के बन्दोबस्त छ ? वैकल्पिक बाटा बनेका छन् कि छ्र्रैनन् ? टुँडिखेलको भाषण र परेवा उडानले डेलिभरी खोज्ने दिन गए भनी सम्झाउने कसले ? रेशमले उन्मुक्ति पाउँछ भने ज्ञानेन्द्रलाई पनि भाषण गर्न देऊ–सहअस्तित्व स्वीकार, उनले आफूलाई राजा बनाऊ भनेकै छैनन् । उनी योगी आदित्यनाथसँग आशीर्वाद लिन्छन् भने लिन देऊ, बरु गणतन्त्रको जग बलियो बनाउँदै जाऊ । युवाहरुलाई रोजगारी देऊ, तिनलाई तिखार राजतन्त्रविरुद्ध । हाम्रा  गणतन्त्रलाई कसैबाट खतरा छ भने दलहरूबाट छ, तिनका नेताहरूबाट छ, तिनको कार्यशैली र व्यवहारबाटै छ –दलका नेताहरू नै यसो भनिरहेका छन् भने तिम्रो गणतन्त्र कत्तिको बलियो छ, आफैँ सोच ।  

‘रोगी नेता ।  रोगी शासकले 
देश नै रोगी बन्छ । ख्याउटे हुन्छ 
रोगी देश । ख्याउटे देश
भिक्षापात्र बोक्दै हिँड्छ
अन्धाधुन्द हात फैलाउँछ
माग्दै हिँड्छ, रुँदै हिँड्छ
हेर्दाहेर्दै रोगी देश माग्ने देश बन्छ ।’

 

टिप्पणीहरू