वातावरण जोगाउन बागलुङमा अन्तरक्रिया
विश्व वातावरण दिवसको उपलक्ष्यमा कालीगण्डकी आवासीय माध्यमिक विद्यालयले ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नारासाथ अन्तरक्रिया गरेको छ । यस पटकको वातावरण दिवसको उक्त नारासहित आयोजित कार्यक्रममा वक्ताहरूले वातावरण जोगाउँदाको फाइदाबारे विद्यार्थीहरुलाई जानकारी गराएका हुन् ।
विश्वभर भइरहेका वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी ज्ञान विद्यार्थीहरुलाई बेलैमा दिन सकेको खण्डमा यसले समाजमा सकारात्मक प्रभाव पार्ने वक्ताहरुको धारणा थियो । जलवायु परिवर्तनको असरले मानव जीवन तथा पृथ्वीमा यसले नकारात्मक प्रभाव पारेकाले वातावरण जोगाउन सबैले भूमिका खेल्नुपर्ने उनीहरुको निचोड थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्त बराल, नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्य, उपसभापति राजेन्द्र आचार्य, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, कालीगण्डकी आवासिय विद्यालयका प्रिन्सिपल निरञ्जनलाल राजभण्डारी, लायन्स क्लब कालीगण्डकीका नारायणप्रसाद आचार्यको सहभागिता थियो । कार्यक्रममा कालीगण्डकी आवासिय माध्यमिक विद्यालयका शिक्षक जीवननाथ शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सोही विद्यालयका भाइस प्रिन्सिपल सुरेन्द्र शाक्यको अध्यक्षतामा कार्यक्रममा विद्यार्थीहरुले जनचेतनामूलक नाटक र नृत्य प्रदर्शन गरेका थिए ।संयुक्त राष्ट्र संघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले सोही अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गर्दै आएको छ । वातावरण दिवस भव्य र सभ्यरुपमा मनाउन सबै स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार एवम् सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा यसअघि नै अनुरोध गरेको थियो ।
टिप्पणीहरू