क्याम्पस प्रमुखमाथि अभद्र व्यवहारपछि छानबिनको माग

क्याम्पस प्रमुखमाथि अभद्र व्यवहारपछि छानबिनको माग

भक्तपुर बहुमुखी क्याम्पसका प्रमुख कविता लुईंटेलमाथि भएको अभद्र व्यवहारको सत्यतथ्य छानबिन गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् । 

आज विज्ञप्ति जारी गर्दै एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले क्याम्पस प्रमुखले पद बहाली गर्ने क्रममा भएको घटना र तालाबन्दीको छानबिन गर्न माग गरेका हुन् । गत आइतबार क्याम्पस प्रमुख लुईंटेलले पद बहाली गर्ने क्रममा उनीमाथि अभद्र व्यवहार भएको बताइन्छ ।

अनेरास्ववियु भक्तपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष यादव दुलालले लुईंटललाई बिना कारण अभद्र व्यवहार गरिएको र क्याम्पसको भौतिक सम्पत्तिमाथि क्षति पुग्ने खालको गतिविधि गरेको भन्दै घोर भत्र्सना गरेका छन् । उनले स्ववियु सभापतिले कुनै एक विद्यार्थी संगठनले गरेको विरोध कार्यक्रमको समर्थनमा निकालिएको विज्ञप्तिप्रति विरोध जनाउँदै त्यसलाई यथाशीघ्र सच्याउनसमेत माग गरेका छन् । 

साथै, क्याम्पसका कार्यक्रमको आर्थिक पारदर्शिता, कर्मचारी नियुक्त गर्दा खुल्ला विज्ञापनको आधारमा गर्नुपर्ने तथा ई–हाजिरीलगायत व्यवस्था गर्नुपर्ने अनेरास्ववियुको माग छ । 

यता, अनेरास्ववियु क्रान्तिकारीले जेठ २१ र २२ गते क्याम्पसमा भएको घटनाको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न माग गरेको छ । क्याम्पस कमिटीका अध्यक्ष नवराज सिंहले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न सम्बन्धित सरोकारवालाहरुसँग वार्ता गरी क्याम्पसमा शैक्षिक वातावरण बनाउन क्याम्पस प्रशासनसमक्ष माग गरेका हुन् । अन्थया, जस्तोसुकै कदम चाल्न पनि संगठन तयार रहेको उनको चेतावनी छ । 

‘जेठ २१ गते नयाँ क्याम्पस प्रमुखले पद बहाली गर्दा विवादको विषय साथै जेठ २२ गते क्याम्पसमा भएको तालाबन्दीका साथै अन्य गतिविधिले हाम्रो संगठनको ध्यानाकर्षण भएकोले यस घटनाको सत्यतथ्य छानबिन गर्न सम्बन्धित पक्षसँग प्रत्यक्ष वार्तालाप गरी क्याम्पसमा सहज शैक्षिक वातावरण निर्माण गर्न क्याम्पस प्रशासनसामु यथाशीघ्र जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्थया सम्बन्धित पक्ष समस्या समाधानको लागि नजुट्ने हो भने यस क्याम्पसमा सहज वातावरण बनाउनको निम्ति अनेरास्ववियु (क्रान्तिकारी) ले जस्तोसुकै कदम चाल्न तयाररहेको जानकारी गराउँदछौं ।’

टिप्पणीहरू