माधव नेपालनिकट पत्रकारको अध्यक्ष र महासचिवमा जनआस्थाकर्मी निर्वाचित
जनआस्थाकर्मी विश्वमणि सुवेदी र रामकुमार एलन नेकपा एकीकृत समाजवादी पार्टीनिकट समाजवादी प्रेस संगठनको अध्यक्ष र महासचिव पदमा आज बिहानै निर्वाचित भएका छन् । गत शुक्रवारदेखि राजधानीमा आयोजित संगठनको प्रथम अधिवेशनले वरिष्ठ पत्रकार सुवेदीलाई अध्यक्ष र एलनलाई महासचिवमा चयन गरेको हो ।
प्रतिस्पर्धी पूर्व महासचिव भूपराज खड्कालाई २८ मतले पराजित गर्दै सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै,एलनले लुम्बिनीका हृदय भुसाललाई ९ मतले हराएका छन् । भुसालले १३० मत ल्याउँदा एलन १३९ मतसहित विजय हात पार्न सफल भएका हुन् । २३–२४ वर्षदेखि जनआस्थासंग जोडिएका सुवेदी र एलन पत्रकारिता क्षेत्रमा सिध्दहस्त कलमजीवी मानिन्छन् ।

सुवेदी पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका कारण पटकपटक पुरस्कृत भइसकेका छन् । जनआस्थाको कार्यकारी सम्पादकसमेत रहेका सुवेदीले नेपाली पत्रकारिता क्षेत्रलाई उचाइमा पुर्याउन र श्रमजीवी पत्रकारका हकहितका लागि लड्दै आएका छन् ।
यता, महासचिवमा निर्वाचित भएका एलनले पनि लामो समयदेखि सक्रिय पत्रकारिता गरिरहेका छन् । क्रियाशील पत्रकारितामा लागेका उनी विभिन्न पुरस्कारबाट सम्मानित भइसकेका छन् । यसअघि प्रेस संगठनको अध्यक्ष र महासचिवको जिम्मेवारी सम्हालेका शम्भु श्रेष्ठ र भुपराज खड्काले आजदेखि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

टिप्पणीहरू