दिवस मनाउने सरकारको तयारी, दर्जन बढी निकायलाई जानकारी
गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखाले लागुऔषधको दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । २६ जुनमा मनाइने ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ को अवसरमा भव्य कार्यक्रम गर्न लागिएको बताइएको छ ।
यसपटकका लागि ‘लागुऔषध दुर्व्यसनीविरुद्धको ऐक्यबद्धताः व्यक्ति, समाज र राष्ट्रको प्रतिबद्धता’ भन्ने मूल नारा छनौट गरिएको छ । दिवसलाई सप्ताहव्यापी रुपमा भव्यताका साथ मनाउन गठित मूल आयोजक समितिको जेठ २३ गते बसेको बैठकले सात बुँदे निर्णय गरेको छ ।
शाखाले १४ वटा निकायलाई पत्राचार गर्दै समितिको निर्णय कार्यान्वयनमा सहयोग गरिदिन आग्रह गरेको छ । आगामी असार ५ देखि ११ गतेसम्म मनाइने दिवसका लागि आवश्यक तयारीको जिम्मेवारी विभिन्न निकायलाई दिइएको उल्लेख छ ।
पाँच सय वटा टिसर्ट र एक हजार वटा क्याप वितरण गर्ने जिम्मा रेडियो नेपाललाई दिइएको छ । त्यस्तै, ‘सेभ द चिल्ड्रेन’ नामक संस्थाले हल भाडामा उपलब्ध गराउनुपर्नेछ । खाजा वितरण र लागु औषधविरुद्ध जनचेतना जगाउने पोष्टर, पाम्प्लेट र ब्याच वितरण गर्ने जिम्मेवारी ‘युनाइटेड नेसन अफिस अन ड्रग्स एण्ड क्राइम’ ले पाएको छ ।
‘फेडेरेशन अफ ड्रग्स डिमाण्ड रिडक्सन’ र ‘नार्कोनन’ ले सर्ट भिडियो बनाउने र खानेपानी वितरण गर्नेछ । मूल समारोहको सजावट र मञ्च व्यवस्थापन लागुऔषध नियन्त्रण ब्यूरोले गर्नुपर्नेछ । खाजा व्यवस्थापनको जिम्मा नेपाल प्रहरी र सशस्त्र प्रहरीको भागमा परेको छ । नार्कोटिक्स कन्ट्रोल ब्यूरो, नेपाल सरकार, नेपाल रेडियोले प्रशिक्षण र अनुशिक्षण कार्यक्रम गर्नुपर्ने समितिको निर्णय छ ।
नेपाल प्रहरीले सांगीतिक कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । कार्यक्रममा विद्यार्थीको सहभागिता जुटाउने जिम्मेवारी ‘एन–प्याब्सन’ ले पाएको छ । नेपाल स्काउट पनि कार्यक्रममा सहभागी हुनेछ । त्यसैगरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतले प्रभातफेरी व्यवस्थापन गर्नुपर्ने समितिले बताएको छ ।
लागुऔषध दुरुपयोग विरुद्धको सन्देशमूलक सूचना प्रवाह गर्न मोबाइलको रिंगटोन प्रशारणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत् नेपाल टेलिकमलाई अनुरोध गर्ने निर्णय पनि समितिले गरेको छ ।
साथै, वार्षिक नीति तथा कार्यक्रम एवम् बजेटमा लागुऔषध दुरुपयोगविरुद्धको कार्यक्रमलाई मूलप्रवाहीकरण गर्न प्रदेश सरकार र स्थानीय तहलाई अनुरोध गर्ने, असार ११ गते बिहान ७ बजे भुकृटीमण्डपको मूलगेटमा भेला हुने र टुँडिखेल परिक्रमा गरी राष्ट्रिय सभागृहमा बिहान ८ बजेदेखि मूल समारोह शुरु गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्थानीय तहका प्रतिनिधिलाई सहभागी गराई चेतनामूलक र्याली, अन्तरक्रिया, सडक नाटक, सांगीतिक कार्यक्रम गर्न लागिएको छ ।
टिप्पणीहरू