एउटै मन्त्रालयका सयबढी कर्मचारी अनुपस्थित, सहसचिवसँगै ६० जना अधिकृत छड्केमा
कर्मचारीहरु बिहान १० बजे अगावै कार्यालयमा उपस्थित हुनुपर्ने सरकारी कानुन छ । वर्षको नौ महिना साँझ ५ बजे र जाडोमा तीन महिना ४ बजे कार्यालयबाट छुट्ने समय तोकिएको छ ।
तर, मुलुकको प्रशासनिक थलो सिंहदरबार र त्यसमा पनि सबै कर्मचारीको तालुक अड्डा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक सय तीन जना कर्मचारी तोकिएको समयमा कार्यालयमा उपस्थित नभएपछि कारबाहीमा परेका छन् ।
हिजो मन्त्रालयमा गरिएको छड्केमा बिहान १० बजेसम्म पनि कार्यालयमा उपस्थित नभएका कर्मचारीमध्ये एक जना सहसचिव, २३ जना उपसचिव र ३६ जना शाखा अधिकृत छन् । मन्त्रालयमा रहेका अधिकृतमध्ये ६० जनाले कार्यालय समयको पालना गरेको नपाइएको हो ।
बिहान १० बजेसम्म कार्यालयमा नपुगेकामध्ये ४३ जना नायव सुब्बा र सोभन्दा मुनिका राजपत्र अनंकित कर्मचारी हुन् । बिहान सवा १० बजेसम्म कार्यालयमा आउन छुट दिँदा पनि कर्मचारी ढिलो आएकाले हाजिरी छड्के गरिएको बताइएको छ ।
टिप्पणीहरू