पाकिस्तानी दूतावासद्वारा विद्यार्थी पुरस्कृत

पाकिस्तानी दूतावासद्वारा विद्यार्थी पुरस्कृत

काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘१० औं वार्षिक पाकिस्तानी राजदूत निबन्ध लेखन तथा छैठौं वार्षिक पाकिस्तानी राजदूत वक्तृत्व कला’ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । 

एक समारोहका बीच राजदूत अबरार एच हाश्मीले विजेतालाई पुरस्कार वितरण गरेका हुन् । यो वर्ष निबन्ध लेखन प्रतियोगिताको विषय ‘क्षेत्रीय समृद्धिका लागि सार्कको सदुपयोग’ भन्ने थियो । त्यसमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई स्वर्ण, रजत र काँस्य पदकसहित स्मारिका र नगद पुरस्कार प्रदान गरिएको बताइएको छ । 

त्यस्तै, १० जना उत्कृष्ट विद्यार्थीलाई सान्त्वना वापत नगद पुरस्कार प्रदान गरिएको दूतावासले जनाएको छ । ‘हाम्रो जीविकोपार्जनमा जलवायु परिवर्तनको प्रभाव–दक्षिण एसियाको साझा चुनौती’ शीर्षकमा भएको वक्तृत्व प्रतियोगितामा शीर्ष स्थान हासिल गर्नेलाई पनि स्वर्ण, रजत र काँस्य पदकका स्मृति चिन्ह र नगद पुरस्कार प्रदान गरिएको छ । 

दूतावासका अनुसार अन्य १३ जना उत्कृष्ट प्रतियोगीहरुले पनि स्मृति चिन्ह र नगद पुरस्कार पाएका छन् । दुवै प्रतियोगितामा ३८ उच्च माध्यमिक विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीको सहभागिता थियो ।

सो क्रममा राजदूत हाश्मीले सहभागी विद्यार्थीहरुको आलोचनात्मक सोचको प्रशंसा गरे । प्रतियोगिताले दुई मुलुकको सम्बन्ध बलियो बनाउने उल्लेख गर्दै उनले भने, ‘विद्यार्थीहरुको आलोचनात्मक सोचको म प्रशंसा गर्दछु । भविष्यमा आइपर्ने यस्ता चुनौतीलाई आत्मसात् गर्दै तपाईंहरु अघि बढ्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।’

टिप्पणीहरू