फुटपाथ व्यवसायले बढायो भक्तपुरमा दुर्घटनाको जोखिम

फुटपाथ व्यवसायले बढायो भक्तपुरमा दुर्घटनाको जोखिम

भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित मुख्य सडक क्षेत्रमा अव्यवस्थित तरिकाले व्यापार व्यवसाय सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढेको छ । 

साँझ परेपछि सूर्यविनायकदेखि सल्लाघारीसम्मका अधिंकाश सडकका फटुपाथ खुद्र व्यवसायका कारण पूरै ढाकिने गरेको छ । त्यहि समयमा सडकमा सर्वसाधारणको चहलपहल पनि उत्तिकै हुन्छ । उसै त साँघुरो फुटपाथ, त्यसमा पनि असरल्ल पसल र सामानले सर्वसाधारणलाई आउजाउ गर्न हम्मेहम्मे पर्ने गरेको छ । सडक र फुटपाथका छेउमा राखिएका पसलहरु पनि अस्तव्यस्त देखिन्छन् ।
 
जताततै छरपस्ट कपडा, तरकारी तथा अन्य सामानले फुटपाथ र सडक वरपरको वातावरण अव्यवस्थित बनाउने गरेको छ । सँगै फुटपाथमा राखिएका पकवान बेच्ने ठेलाबाट पनि पैदल यात्रु हैरान हुने गरेका छन् । 

मुलुकको राजधानी भनेर चिनिने काठमाडौंमा केही समयअघिसम्म साँझ परेपछि पैदलयात्रीलाई हिँड्न निकै सास्ती हुने गथ्र्यो । तर, अहिले अन्यत्रको तुलनामा केही सहज भएको बताइन्छ । 

साँझको बढ्दो सवारी चाप, यात्रुको भीड र फुटपाथ पसलका कारण हिँड्नै नसक्ने राजधानीका मुख्य बजार अहिले केही व्यवस्थित देखिएका हुन् । 

काठमाडौंका फुटपाथमा पैदल यात्रु सहज रुपले हिँड्न सक्ने भएको बताइन्छ । तर, सूर्यविनायक नगरपालिकाको मुख्य बजार क्षेत्रमा पैदल यात्रुलाई बेलुकीपख निस्कनु भनेको कुनै युद्ध लडे बराबर हुने गरेको छ । 

त्यही हुलमुलमा दैनिक हजारौं सवारीसाधन सडकमा गुड्छन् । यता फुटपाथमा पसल राख्ने व्यवसायीहरुबीच हुने बेला बेलाको झगडा र भनाभनले अर्को समस्या हुने गरेको पैदल यात्रुहरुको अनुभव छ । 

त्यसबाट पनि बचेको फुटपाथको थोरै भाग र सडक किनारामा पार्किङ गरिएका सवारीसाधनले पैदल यात्रीलाई अर्को सास्ती दिने गरेको छ । 

भक्तपुरको सूर्यविनायक र सल्लाघारीका सडकमा दिनहुँजसो ठूलो संख्यामा पैदल यात्रीहरुको ओहोर हुन्छ । त्यो पनि साँझको समयमा सबैभन्दा बढी हुने गरेको छ ।

तर, त्यहि सडक र फुटपाथले पैदल यात्रीलाई चिन्दैन । सडकपेटी ओगटेर राखिएका फुटपाथ पसल, ठेला र मनपरी ढंगले राखिएको सवारीसाधनले भक्तपुरकै स्वरुपलाई कुरुप बनाइदिने गरेको छ । 

भक्तपुरका सल्लाघारी, सूर्यविनायक, सिर्जनानगरलगायत क्षेत्रको सडकपेटी साँझ परेपछि हाटबजारमा परिणत हुने गरेको स्थानीयको अनुभव छ । 

सडकपेटी सबै पसलले ढाकिदिएपछि पैदलयात्रु सडकबाट हिँड्नुको विकल्प हुँदैन । त्यस्तो अवस्थामा गुडिरहेको सवारी साधन र त्यसैमा जोत्तिन पुग्ने पैदलयात्रीको चापले ट्राफिक नै अस्तव्यस्त बनाइदिन्छ । 

तर, यसतर्फ नगरपालिकाको पर्याप्त ध्यान गएको देखिँदैन । सल्लाघारीको सडकमा दिनहुँ ओहोरदोहर गर्ने कटुञ्जेकी निशा लामाले साँघुरो बाटोमा फुटपाथ पसल सञ्चालन गर्न दिँदा पैदलयात्रुलाई ठूलो समस्या पर्ने गरेको बताइन् । 

काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसाय हटाएपछि अहिले पैदल यात्रीलाई सहज भएको उनको भनाइ छ । सल्लाघारीमा पनि यस्तो कार्यको थालनी गर्न आवश्यक भइसकेको निशा बताउँछिन् ।

भन्छिन्, ‘फुटपाथ व्यवसाय गर्नेमध्ये कतिपय राजधानीमा घर भएका पनि छन् । केही मध्यम वर्गका र केही निम्न वर्गका छन् । तर, राज्यको नीतिनियम र कानून सबैले पालना गर्नुपर्छ । हिजो पैदल यात्रीलाई हिँड्न सहज होस् भनेर ठूला घर भत्काएर फुटपाथ बनाइयो । तर, अहिले पैदलयात्रुले त्यो फुटपाथमा आफ्नो पाउ समेत राख्न पाउँदैनन् ।’ 

उनी आक्रोशित हुँदै प्रश्न गर्छिन्, ‘यदि सडकपेटीमा व्यवसाय  सञ्चालन गर्न दिनु नै थियो भने हिजो किन घर भत्काएर फुटपाथ बनाइयो ?’

नगरपालिकाको कमीकमजोरीका कारण यस्तो भएको जनाउँदै उनले तत्काल फुटपाथ व्यवसायलाई व्यवस्थित गर्नुपर्ने तथा हटाउनुपर्ने सल्लाह दिएकी छन् ।

अर्की पैदल यात्री मनिषा लामिछाने फुटपाथ व्यवसायीका कारण सडक दुर्घटना बढेको बताउँछिन् । जथाभावी फुटपाथ सञ्चालन गर्न दिँदा पैदल यात्रीलाई सँधै सकस हुने गरेको उनको गुनासो छ ।

सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाको फुटपाथ व्यवसाय व्यवस्थित बनाउन नगरपालिका जुटिरहेको दाबी छ । फुटपाथ व्यवसायलाई व्यवस्थित बनाउन नगरपालिका आफैंले जग्गा भाडामा लिने योजना रहेको उनले जानकारी दिए ।

‘नगरपालिका फुटपाथ व्यवसाय व्यवस्थित बनाउन लागिपरेको छ । कतिपय गरिब, निमुखाले फुटपाथ व्यवसायबाटै बिहान–बेलुकाको छाक टार्ने भएकाले हामी अन्यौलमा परेका हौं,’ उनले भने, ‘हाल नगरपालिका आफैं जग्गा भाडामा लिएर त्यस्ता व्यवसायीलाई व्यापार व्यवसाय सञ्चालन गर्न दिने योजना बनाएको छ । तर, जग्गा नपाउँदा समस्या परेको हो ।’

टिप्पणीहरू