बजेट पुस्तिकामा प्रदेशको नाम सच्याउन सभामुखको निर्देशन

बजेट पुस्तिकामा प्रदेशको नाम सच्याउन सभामुखको निर्देशन

सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा भएका प्राविधिक त्रुटी सच्याउन सरकारलाई निर्देशन दिनुभएको छ । 

मन्त्रालयगत कार्यक्रम समावेश गरिएको बजेट पुस्तिकामा प्रदेशको नाममा त्रुटी भएको उल्लेख गर्दै उहाँले सच्याउन निर्देश गर्नुभएको हो ।

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि छलफल चलिरहँदा बजेट पुस्तिकामा प्रदेशको नाम अंकमा लेखिएपछि प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाएको थियो । सोही कारण आजको बैठक १५ मीनेट स्थगित भएको थियो । 

त्यसपछि बसेको बैठकमा सभामुख घिमिरेले भन्नुभयो, हामी विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयगत छलफलमा छौं । सम्बन्धित मन्त्रालयहरुबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश पुस्तिकामा उल्लेखित केही विषय खासगरी प्रदेशसभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षणसहित सच्याउनका लागि यसअघि निर्देशन भइसकेको छ । साथै, त्यस्ता कुनै त्रुटिहरु भएका भए तत्काल सच्याउन पुनः निर्देशन गर्दछु ।’

यसअघि बसेको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमा पर्यटन र शहरी विकास मन्त्रालयले लुम्बिनी प्रदेशको ठाउँमा ५ नम्बर प्रदेश राखेर ल्याएपछि एमाले सांसदहरूले विरोध गरेका थिए । उनीहरुले नाम नसच्याएसम्म छलफल गर्न नदिने अडान लिएपछि बैठक स्थगित भएको थियो । 

बैठकमा शहरी विकासमन्त्री सीता गुरुङले सो विनियोजन शीर्षकमा त्रुटी भए सच्याउने प्रतिवद्धता व्यक्त गरेपनि एमाले सांसदहरुले सभामुखबाट रुलिङ गर्न माग गरेका थिए ।

टिप्पणीहरू