खानेपानीको निहुँमा चन्द्रागिरीमा भाँडभैलो, मेयरमाथि ‘गुण्डागर्दी’को आरोप

खानेपानीको निहुँमा चन्द्रागिरीमा भाँडभैलो, मेयरमाथि ‘गुण्डागर्दी’को आरोप

आम उपभोक्ताले सञ्चालन गर्दै आएको खानेपानी उपभोक्ता समिति आफ्नो कब्जामा लिन खोजेपछि काठमाडौंको चन्द्रागिरी नगरपालिकामा लफडा भएको छ । नगरपालिकाले समिति आफ्नो स्वामित्वमा लिन खोजेको भन्दै त्यहाँ कार्यरत पदाधिकारीहरुले विरोध जनाएका छन् । 

कार्यपालिकाको बैठकबाट समितिका सबै अधिकार आफ्नो अधिनमा राख्ने निर्णय नगरपालिकाले गरेपछि द्वन्द्व सिर्जना भएको बताइन्छ । उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै ज्ञापनपत्र बुझाउन नगरपालिका पुगेका समितिका पदाधिकारीहरुलाई मेयर घनश्याम गिरीले ‘गेटआउट’ भन्दै अभद्र व्यवहार गरेपछि त्यहाँ भाँडभैलो मच्चिएको हो । 

समितिका पदाधिकारीहरुले मेयर गिरीलाई जथाभावी अभिव्यक्ति दिने कुनै अधिकार नभएको बताउँदै प्रतिवाद गरेपछि अवस्था तनावग्रस्त भएको हो । नगरपालिकाले समिति खारेज गर्ने गरी नयाँ विधेयक ल्याएर स्थानीय रूपमा काम गर्ने संस्थालाई हटाउने योजना बनाएको समितिका पदाधिकारीहरुको आरोप छ । आफूहरुले ज्ञापनपत्र बुझाउन खोज्दा मेयर गिरी ‘गुण्डागर्दी’ शैलीमा प्रस्तुत भएको महादेवस्थान खानेपानी उपभोक्ता समितिका सदस्य पुरुषोत्तम उदासले बताए ।

 

उपभोक्तामुखी ऐन नबनाई समितिमाथि निरकुंशता लाद्न खोजेकाले आफूहरुले विरोध जनाएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले बताए । नगरपालिकाले जबरजस्ती समितिलाई आफ्नो मातहतमा ल्याउन खोजेको उनको आरोप छ । 

यता, मेयर गिरी नगरपालिकाले उक्त निर्णय गरिसकेकाले पछि नहट्ने बताउँछन् । मातातीर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलगायत सबै खानेपानी उपभोक्ता समिति गठन  गरेर तिनका सबै चल अचल सम्पत्ति नगरपालिकाले आफ्नो स्वामित्वमा राख्ने निष्कर्षमा पुगिसकेको उनको भनाई छ ।

टिप्पणीहरू