एक महिनाभित्र विवरण पेश गर्न सहकारीलाई बालेन शाहको निर्देशन

एक महिनाभित्र विवरण पेश गर्न सहकारीलाई बालेन शाहको निर्देशन

काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुलाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको सहकारी विभागले सहकारी संस्थाको साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिएबमोजिमका विवरण पेश गर्न निर्देशन दिएको हो । 

विभागले जारी गरेको सूचना राख्दै मेयर शाहले विवरण उपलब्ध गराएर सहकारी सुशासन कायम गर्न भनेका छन् । 'बस्तु र सेवाहरुको मूल्यबृद्धि र मुद्रा स्फ्रितिले वित्तिय क्षेत्रहरुमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेका छन् । तरलताको अभाव सृजना भएको सर्वविदितै छ । महानगरपालिकाको सहकारी बिभागमा शेयर सदस्य र सञ्चालकहरुले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट अवस्था देखिन्छ । यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु', उनले भनेका छन् । 

सहकारी ऐन, २०७४ को दफा २८ को उपदफा २ ले संस्थाको साधारणसभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ३ महिनाभित्र प्रचलित कानूनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट संस्थाको प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण गराउनुपर्ने र दफा ५२ ले तोकिएबमोजिमका विवरणहरु बुझाउनुपर्ने व्यवस्था गरेको छ । 

त्यस्तै, ऐनको दफा ७९ ले विभिन्न कसुरजन्य कार्यहरु, दफा ८१ ले सजाय, दफा ८२ ले जरिवाना र दफा ६६ ले सहकारीको विघटन वा दर्ता खारेजीको व्यवस्था समेत गरेको छ । 

तर, यस्तो कानूनी व्यवस्था हुँदाहुदैं केही सहकारी संस्थाहरुले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिएबमोजिमका विवरणहरु समयमा पेश नै गर्ने गरेको नपाइएकोले ३० दिनभित्र उक्त विवरणहरु बुझाउन अनुरोध गरेको विभागले जनाएको छ । 

अन्यथा, कानूनबमोजिम कारबाही गरिने विभागको चेतावनी छ ।

मेयर शाहको भनाई 

उनले सामाजिक सञ्जालमा लेखेका छन्: 

बित्तिय जोखिमबाट बचौँ, सहकारीहरुलाई संकटग्रस्त हुनबाट बचाऔँ

सहकारी संस्था र संस्थाका शेयर धनी तथा बचतकर्ताहरुलाई अनुरोध

बस्तु र सेवाहरुको मूल्यबृद्धि र मुद्रा स्फितिले वित्तिय क्षेत्रहरुमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेका छन् । तरलताको अभाव सृजना भएको सर्वविदितै छ । महानगरपालिकाको सहकारी बिभागमा शेयर सदस्य र सञ्चालकहरुले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट अवस्था देखिन्छ । यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु ।

यसका लागि कानुनले निर्दिष्ट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गरौं ।।

सहकारी संस्थाहरुमा अनुरोध :

— तोकिएको समयमा सबै शेयर सदस्यहरुलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोवार बारे जानकारी गराउनुहोला । विश्वसनीयता र अपनत्व ग्रहण गराउनकालागि नियमित रुपले शेयर सदस्यहरुसँग सम्पर्क र संवाद बढाउनुहोला ।

— तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोवार र लगानी नगर्नुहोला ।

— वित्तिय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्नुहोला।

— परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्नुहोला ।

— शेयर सदस्यहरुलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्नुहोला ।

— सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रुपले संस्थासँग कारोवार भएको व्यक्तिहरुलाई मात्र जिम्मेवारी दिनुहोला ।

— कानुनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्नुहोला ।

— कार्यपद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेश गर्नुहोला ।

— ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्नुहोला ।

— जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्नुहोला । जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्नुहोला ।

— राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरुबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्नुहोला।

— आफ्ना शेयर सदस्य र बचतकर्ताहरुलाई नियमित सहकारी शिक्षा प्रदान गर्नुहोला ।

सदस्य/बचतकर्ताहरुलाई अनुरोध

सहकारी संस्थाहरु बैंक होईनन् । यी संस्थाहरु सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण हुन्छन् । सहकारी सुशासनकालागि सदस्यहरुको निरन्तर निगरानी आवश्यक छ ।

— सहकारी संस्थाको साधारण सभामा अनिवार्य उपस्थित हुनुहोला । संस्थाको कारोवारको बारेमा नियमित रुपले जानकारी लिनुहोला ।

— नियमित साधारण सभा नगर्ने सहकारीहरुको बारेमा विभागमा जानकारी गराउनुहोला ।

— सञ्चालक समितिका पदाधिकारीहरुको आनीबानी र इमान्दारिताका बारेमा नियमित जानकारी लिनुहोला ।

— बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्नुहोला ।

— सहकारी संस्थाका बारेमा अतिरञ्जित हल्लाका पछाडि मात्र नलागी यथार्थ अवस्था बारे जानकारी लिनुहोला ।

— कार्यक्षेत्रभन्दा बाहिर गएर कार्य गर्ने संस्थासँग कारोवार नगर्नुहोला ।

— सञ्चालक समितिका पदाधिकारीहरुको पहिचान गरेर मात्र संस्थासँग कारोवार गर्नुहोला, नियमित संवाद र सम्पर्क राख्नुहोला ।

— आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षरयुक्त कागजातसहित निक्षेप निस्सा लिनुहोला ।

— ऋण लिँदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेर मात्र ऋण लिने र समयमा नै तिर्ने बानी बसाल्नुहोला

टिप्पणीहरू