फोहोरको डङ्गुर सफा गरेर भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा युवा पुस्ताको साथ चाहियो - प्रधानमन्त्री प्रचण्ड

फोहोरको डङ्गुर सफा गरेर भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा युवा पुस्ताको साथ चाहियो - प्रधानमन्त्री प्रचण्ड

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो संकल्प रहेको बताउनुभएको छ । 

आज बालुवाटारमा इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा आयोजित विश्वभरिका नेपाली प्रतिभाहरूसँगको भेटघाटमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राम्रो बाहेक कुनै काम गर्दै नगर्ने संकल्प लिएको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, 'मैले भनेको थिएँ– यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ । जति गर्छु– देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु ।’ 

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार फोहोरको डङ्गुर सफा गरेर भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा रहेको प्रष्ट पार्दै जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सरकार दृढतापूर्वक लाग्ने प्रतिवद्धता पनि जनाउनुभएको छ । यस अभियानमा युवा पुस्ताको साथ पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

'यहाँहरूले पढ्नुभएकै होला, सुन्नुभएकै होला– मेरो नेतृत्वको वर्तमान सरकार फोहोरको डङ्गुर सफा गरेर भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा छ', प्रधानमन्त्रीले भन्नुभयो, 'मैले संकल्प गरेको छु– जस्तोसुकै परिस्थिति आओस्, देश निर्माणको यो महाअभियानमा सरकार दृढतापूर्वक लाग्नेछ, यसमा यहाँहरूजस्ता युवा साथीहरूको बलियो साथ र सहयोग रहनेसमेत मैले विश्वास लिएको छु ।'

 भ्रष्टाचारविरुद्ध सरकारले चालेको अभियानले आमजनतामा उत्साह जागेको बताउँदै उहाँले परिवर्तन विरोधी शक्तिहरु भने आतंकित बनेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले सुशासन कायम गर्ने यो अभियानमा बलियो साथ दिन युवा पुस्तालाई अपीलसमेत गर्नुभयो ।
 

टिप्पणीहरू