शिक्षकले ‘पिल्स खायौ' भनेको म्यासेजमा छात्राको 'बाबा' जवाफ, परिवारले पढेपछि हङ्गामा
कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।
सोही विद्यालयकी छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका ललितपुरको शंखमूलस्थित लिटल फ्लावर पब्लिक स्कूलका शिक्षक अशोक परियारलाई जिल्ला प्रहरी परिसर,ललितपुरले हिजो हात्तिवनबाट समातेको हो ।
शिक्षक परियारले ती छात्रालाई ‘पिल्स चक्की खायौ’ लगायतका शंकास्पद म्यासेज पठाउने गरेको थाहा भएपछि उनका अविभावकले प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा समातिएका उनी अहिले प्रहरी हिरासतमा छन् ।
"शिक्षक परियारले छात्रालाई ‘बूढी’ भनेर सम्बोधन गर्ने गरेको र छात्राले पनि उनलाई ‘बाबा’ भनेको म्यासेजहरु भेटिएको बताइएको छ ।"
परियार सो विद्यालयका गणित शिक्षक हुन् । एक वर्षदेखि त्यहाँ अध्यापन गराउन थालेका उनी ललितपुरको कुपण्डोलमा बस्छन् । उक्त घटनापछि विद्यालयले उनलाई जागिरबाट निश्कासित गरेको छ ।
परियारले छात्रालाई पठाएको म्यासेज हेर्दा दुबै जना प्रेममा रहेको देखिन्छ । आपसी कुराकानीमा शिक्षक परियारले छात्रालाई ‘बूढी’ भनेर सम्बोधन गर्ने गरेको र छात्राले पनि उनलाई ‘बाबा’ भनेको म्यासेजहरु भेटिएको बताइएको छ ।
शिक्षकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक (एसपी) नमराज कार्कीले बताए । परिवारजन र शिक्षकबीच हालसम्म पनि छलफल भइरहेको उनको भनाइ छ ।
‘यो एकदमै गम्भीर विषय हो । हामीले शिक्षकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं । तर, परिवारले अहिलेसम्म जाहेरी दिनुभएको छैन । छलफलकै क्रममा छ । अब परिवारले जाहेरी दिनुहुन्छ कि पछि हट्नुहुन्छ,आज बेलुकासम्म थाहा होला’, उनले भने ।
टिप्पणीहरू