प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध गर्ने अभियानमा सहयोग गर्न मन्त्रालयको आह्वान
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४० माईक्रोनभन्दा कम गुणस्तरका प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध गर्न आह्वान गरेको छ ।
प्रत्येक नागरिकले स्वस्थ र सन्तुलित पर्यावरणसहितको परिष्कृत र मर्यादित जीवनयापन एंव भावी पुस्ताको हितका लागि समेत फोहोरमैलाको व्यवस्थापनमा क्षमता अनुरुपको योगदान गर्न आवश्यकता रहेको उल्लेख गर्दै मन्त्रालयले प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध गर्ने अभियानमा सहयोग पुर्याउन सम्बन्धित सबैलाई आग्रह गरेको हो ।
मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्करले आह्वान पत्र जारी गर्दै प्लाष्टिक झोला तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध गर्ने राज्यको महान अभियानमा सहयोग गर्न संघ, प्रदेश र स्थानीय तह सो अन्तर्गतका सबै निकाय र राष्ट्रसेवक कर्मचारीहरुमा अनुरोध गरेका छन् ।
नेपाल सरकार (कार्यविभाजन) नियमावली २०७४, अनुसार ‘फोहोरमैला व्यवस्थापनसम्बन्धी नीति, मापदण्ड, समन्वय र सहजीकरणसम्बन्धी कार्य’ मन्त्रालयको कार्य जिम्मेवारीमा रहेको औल्याउँदै उनले संवैधानिक, नीतिगत एंव कानूनी व्यवस्थाको सफल कार्यान्वयनका लागि सबै तहका सरकार, गैरसरकारी क्षेत्र तथा आम नागरिकको समन्वयात्मक प्रयासको आवश्यकता रहने बताएका छन् ।
साथै, प्लाष्टिकजन्य फोहोरका कारण हरितगृह ग्याँस उत्सर्जन हुने, जलचर जीवनजन्तुको मृत्युको कारक बन्ने, प्लाष्टिक बाल्दा वायुमण्डलमा डाइअक्सीन, प्युरानजस्ता विषालु ग्याँस उत्सर्जिन हुने, प्लाष्टिकजन्य फोहोर नकुहिने हुँदा पानीका मुहान सुक्ने, जताततै फोहोर देखिनेलगायतका समस्याले वातावरणीय स्वास्थ्य र मानव स्वास्थ्यमा गम्भिर असर पुर्याउनेप्रति मन्त्रालयले सचेत गराएको छ ।
टिप्पणीहरू