बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दीनानाथको जिकिर

बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दीनानाथको जिकिर

पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । 

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा आफ्नो समेत नाम बाहिर आएपछि विज्ञप्ति निकालेर उनले आफ्नो संलग्नता अस्वीकार गरेका हुन् । आज कान्तिपुर दैनिकको पहिलो पेजमै 'ललिता निवास प्रकरण : डेढ सय पदाधिकारी–कर्मचारी संलग्न' शीर्षकको समाचारमा त्यसबेलाका शिक्षामन्त्री शर्मा 'गुठीको जग्गा लैजाने निर्णय'मा संलग्न रहेको उल्लेख छ । 

सोही समाचारलाई लिएर सामाजिक सञ्जालमा आफूविरुद्ध टिप्पणी हुन् थालेपछि नेता शर्माले त्यसको खण्डन गरेका हुन् । त्यतिबेला आफू शिक्षा मन्त्रालयको जिम्मेवारीमा रहेकाले अन्य मन्त्रालयअन्तर्गतका काम कारवाही र निर्णयमा कुनै संलग्नता र सम्बन्ध नहुने पनि उनले प्रष्ट पारेका छन् । 

'म २०६८-६९ मा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन्त्रिपरिषद्मा बसेर करिब १५ महिना शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको थिएँ', पूर्वमन्त्री शर्माको विज्ञप्तिमा भनिएको छ, 'म जिम्मेवार रहेको मन्त्रालयबाहेक भूमि सुधार, भौतिक योजना वा गृहसमेतका अन्य मन्त्रालयको मन्त्रालयगत काम कारवाही र निर्णयमा मेरो कुनै संलग्नता र सम्बन्ध नरहेको कुरा प्रष्ट पार्न चाहान्छु ।'

आफ्नो व्यक्तिगत जीवनमा अन्यथा हुनेगरी समाचार छापिएकोमा असन्तुष्टि प्रकट गर्दै उनले भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता र आम जनतामा अपिलसमेत गरेका छन् । त्यस्तै, भ्रष्टाचारविरुद्ध वर्तमान सरकारले चालेको अभियानको आफूले दृढतापूर्वक समर्थन गर्ने पनि नेता शर्माको प्रतिवद्धता छ । 

सरकारले चालेको भ्रस्टाचार विरोधी अभियानबाट अत्तालिएका विभिन्न पक्षले माओवादी केन्द्र र त्यसका नेताहरु विरुद्ध अनर्गल दुष्प्रचार गरेको पनि उनको दावी छ ।

टिप्पणीहरू