रविले संसदमा सोधे : मीटरब्याज सम्बन्धी विधेयक खै ?
मीटरब्याज पीडितको विपक्षमा उभिएको आरोप खेप्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मीटरब्याज सम्बन्धी विधेयक संसदमा टेवल गर्न माग गरेका छन् ।
आफ्नो पार्टी मीटरब्याज पीडितको पक्षमा रहेको बताउँदै उनले विधेयक ल्याउन सत्तापक्षसँग माग राखेका हुन् । आज बसेको प्रतिनिधिसभा बैठकमा लामिछानेले आफूहरु मीटरब्याज पीडितलाई तत्काल न्याय दिनुपर्ने पक्षमा रहेको पनि प्रष्ट पारे ।
यसअघि आफ्नै कारण विधेयक प्रतिनिधिसभाबाट पारित हुन् नसकेको आरोप खेपेका उनले सोधे, ‘पीडितलाई न्याय दिनका लागि ल्याउनुपर्ने विधेयक संसदमा किन नल्याएको ?’
अध्यादेश ल्याएर मीटरब्याज समस्या समाधानको प्रयास गरेको सरकारले संसदमा प्रतिस्थापन विधेयक दर्ता गराएको थियो । मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्न ल्याइएको उक्त विधेयक ६० दिनभित्र संसद्बाट पारित भइसक्नुथ्र्यो । तर, प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै एमाले, रास्वपा र राप्रपाले संसद अवरुद्ध पारेपछि विधेयक पारित हुन सकेन ।
बिना कारण संसद अवरुद्ध गरेर विधेयक पारित गर्न रोकेको आरोपमा पीडितहरुले एमाले, रास्वपा र राप्रापाविरुद्ध सडकमा नाराबाजीसमेत गरेका थिए ।
टिप्पणीहरू