राष्ट्रवादी देखिनका लागि चलाइएको रडाको

राष्ट्रवादी देखिनका लागि चलाइएको रडाको

जसले जेसुकै भने पनि आजको यथार्थ के हो भने एमाले अध्यक्ष ओली कमरेडको बोलीको वजन लगातार घट्दो क्रममा छ । हिजो उहाँका कुरा मुखमा माखा छिर्दासमेत चाल नपाउनेगरी आँ गरेर सुन्ने र ताली पिट्नेहरू आज उहाँ बोलेको सुनेर कतिपयले लाज मान्छन्, कतिपय हाँस्छन् त कतिपयले बोर मान्छन् । सारमा भन्दा उहाँको क्रेज स्वात्त घटेको छ । यो कुरा उहाँ स्वयं र अन्धभक्तहरूलाई सायद जानकारी छैन होला । एउटा राजनेताको तहमा विकसित भएको व्यक्तित्व यसरी स्खलित हुनु भनेको उहाँको निम्ति, उहाँको दलको निम्ति मात्रै नराम्रो होइन कि देशको निम्ति, लोकतन्त्रको निम्ति समेत राम्रो होइन । भैँसीलाई सारंगीको धुनसँग के मतलव !

 प्रचण्डले अनौपचारिक लवजमा प्रितम सिंहबारे बोलेको कुरा आजको राष्ट्रिय मुद्दा हो ? के उनले मलाई भारतले प्रधानमन्त्री बनाएको हो भनेका थिए  ? कि प्रितम सिंहले मैले उहाँ प्रधानमन्त्री बन्नुहोस् भन्ने कामना राखेर प्रार्थना गरेँ, विभिन्न ठाउँमा गएर चर्चा गरें भनेका थिए ? यदि भारतले बनाइदिएको हो भनेर मान्ने हो भने उनलाई समर्थन गर्ने सबैले भारतले भनेको मानेको भनेर मान्नुपर्ने हुन्छ । के यस्तै हो त ? यो तिललाई पहाड बनाएर बवण्डर खडा गर्ने कामले देश र जनतालाई फाइदा गर्दैन । यो बवण्डर खडा गर्दा मीटर ब्याजसम्बन्धी विधेयक असफल हुन पुगिसकेको छ । र, लगातारको बवण्डरले सदन अवरुद्ध हुँदा महँगी, भ्रष्टाचार, बेरोजगारीजस्ता मुद्दा सदनमा उठ्न सकिरहेका छैनन् । के एमालेलाई देशमा बढ्दो महँगी, भ्रष्टाचार, बेरोजगारी, असुरक्षाजस्ता विषयमाथि छलफल होस् भन्ने चाहना छैन ? यी विषय जनताका आजका मुद्दा हुन् भन्ने लाग्दैन ? हाम्रो राजनीतिमा बाह्य प्रभाव कस्तो छ र कसको प्रभाव कुन स्केलको छ भनेर कसैले बताउनुपर्छ र ? सामन्त गोयल कसरी मध्य रातमा प्रधानमन्त्री निवास पसेका थिए र त्यसपछि के के भए भनेर लेखिरहनुपर्छ र ? निश्चित रूपमा पर्दैन, यो ओपेन सेक्रेट हो । सायद घनश्याम भुसालले भन्नुभएजस्तो हुन सक्छ कि बालुवाटारबाट बालकोट जानुपर्दाको जुन पीडा छ उहाँमा त्यसको कडाभन्दा कडा बदला  प्रचण्डसँग लिन चाहनुहुन्छ । त्यसकारण हर मुद्दालाई प्रचण्डसँग बदला लिने माध्यम बनाउने प्रयत्न गरिरहनुभएको छ ।

प्रचण्डको भनाइले ठूलै आलोचना खेपिसकेको छ । मलाई लाग्छ, अबका दिनमा उनले यस्ता अनौपचारिक कुरा गरेर विवादमा फस्ने काम गर्ने छैनन् । उनलाई यो घटनाले ठूलो पाठ पढाएको हुनुपर्छ र अरूलाई पनि यसबाट ठूलो शिक्षा मिलेको हुनुपर्छ । तर, एमालेले अझैसम्म गाँठी कुरा बुझ्न सकिरहेको छैन । ‘अतिले खति निम्याउँछ’ भन्ने त चल्तीकै कथन छ, खै बुझेको ! वर्षाको समय छ । अहिलेको धानको खेती गर्न देशमा पर्याप्त मल छ भनेर सरकारले भनिरहेको छ । तर, त्यो मल विभिन्न कारणले किसानको खेतमा पुग्न सकिरहेको छैन । मेरो सुझाव छ कि, स्थानीय स्तरमा एमालेको असाध्यै राम्रो नेटवर्क छ । मल वितरण गर्ने सहकारीहरू पनि अधिकांश एमाले समर्थकहरूकै छन् । बरु काम गरेर जनताको मन जित्न नै खोजेको हो भने ती सहकारीमा आफ्ना कार्यकर्तालाई उपस्थित गराएर उनीहरूको कडा निगरानीमा मल वितरण गर्ने काममा लगाएमा धेरै  राम्रो हुनेछ । किसानले मल पाउने र कार्यकर्ताले काम पनि पाउने योभन्दा उत्तम कार्य अर्को छैन अहिलेलाई ।

कटाक्ष र घोचपेचले अबको राजनीति चल्दैन भन्ने कुरा प्रस्टै छ । यस्तो कार्यले व्यक्तिगत सम्बन्धलाई पनि बिगारिदिन्छ । माधव नेपालसँग बोली बार्नुपर्ने के छ र खासमा ! आ–आफ्नो राजनीति आ–आफैँले गर्ने हो । मदन भण्डारीको देहावसानले एमालेको राजनीति त सकिएन नि !

माधव नेपाल नभए पनि एमालेको राजनीति सकिन्न नि गाँठे सही र जनताको राजनीति गर्ने हो भने ।

मदन भण्डारी नहुँदासमेत विस्तार भएको एमाले माधव नेपाल नहुँदा किन घटिरहेको छ त ? किनभने एमालेले जनताका मुद्दालाई लिएर राजनीति गरिरहेको छैन । एमालेको राजनीतिमा भ्रष्टाचार प्रवेश गरेको छ ।

एमालेले धरातलीय राजनीति गरिरहेको छैन । चुच्चे नक्सा, रेल, पानीजहाज, धरहरा, भ्यु टावरे राजनीति जनताको मुद्दासँग जोडिएको राजनीति होइन । मलको निम्ति आन्दोलन गरेको भए, महँगी घटाउन आन्दोलन गरेको भए, शिक्षा सस्तो गराउन आन्दोलन गरेको भए, हिंसाविरुद्ध आन्दोलन गरेको भए त्यो जनताको मुद्दा हुने थियो, जनताको आन्दोलन हुने थियो र जनताले अझ धेरै पत्याउने थिए एमालेलाई । सुनिन्छ पार्टीका स्थानीय कमिटीहरूको बैठक बस्दा कोरम पुग्दैन अरे, कुनै कार्यक्रम गर्न खोज्दा मान्छे नै जुट्दैनन् अरे ! जनताको मुद्दाबाट टाढिएपछि यस्तो हुन्छ । अर्को गम्भीर कुरा त झन् के छ भने एमाले पार्टी अनिर्वाचित, जनतासँग नजोडिएकाहरूको कब्जामा छ । यस्ताले गर्ने राजनीति भनेको कमिशनवालासँग मिल्ने, भ्रष्टाचार गर्ने, अपराधीलाई जोगाएर पैसा खाने, अरुलाई गाली–गलौज गर्ने र चरित्रहत्या गरिदिने राजनीति हो जो अहिले उत्कर्षमा छ । यसरी खराब राजनीति गर्नेहरूजति सबैलाई कुखुराले चल्ला छोपेजसरी छोपेर जोगाएपछि त्यसको सन्देश के जाला ? त्यसकारण मान्छेलाई अहिले एमाले भनेको भ्रष्टाचारीलाई संरक्षण गर्ने पार्टी हो कि भन्ने पनि लाग्या’छ ।

एमालेले अहिले प्रितम सिंहको मुद्दालाई उछालेर आफूलाई राष्ट्रवादी देखाउन खोजेको कुरामा पनि दुईमत छैन । एक तीर, दुई निशाना तर हेक्का के हुनुपर्छ भने देशभक्ति भनेको कोरा होहल्ला र झुटो दावा होइन र फोस्रा आश्वासन पनि होइन । आजको दिनमा देशको प्रमुख प्रतिपक्षी दल भएको नाताले एमालेको निम्ति देशभक्ति भनेको मीटर ब्याजसम्बन्धी संसदमा पेश भएको विधेयकलाई पास गराउनु हो, भ्रष्टाचारीलाई कारबाही गर्न सरकारलाई बाध्य पार्नु हो, भुटानी शरणार्थी काण्डमा संलग्नहरूलाई उम्कन नदिनु हो, किसानलाई मल उपलब्ध गराउन सरकारलाई बाध्य पार्नु हो, महँगी घटाउन, शिक्षा र स्वास्थ्य सस्तो र सर्वशुलभ बनाउन सरकारलाई दबाब दिने काम गर्नु देशभक्ति हो । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो काम राष्ट्रवाद होइन र हामी जनताले भन्ने गरेको देशभक्ति पनि होइन । अन्यत्र जेसुकै भनिए पनि  समाजको तल्लो तप्कामा रहेका जनताको साथमा उभिने कुरा, उनीहरूको समस्यालाई आफ्नो राजनीतिक मुद्दा बनाउने र त्यसलाई प्राप्त गर्न संघर्ष गर्ने, आन्दोलन गर्ने काम नै देशभक्तिपूर्ण काम हो । एमालेले यस्तो कामलाई राष्ट्रवाद भन्छ भने पनि ठीकै छ ।


 

टिप्पणीहरू