नेताहरु नागढुंगा,सिस्नेखोला सुरुङमार्गभित्र

नेताहरु नागढुंगा,सिस्नेखोला सुरुङमार्गभित्र

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुंगा सिस्नेखोला) सुरुङमार्गको अनुगमन गरेको छ। 

भौतिक पुर्वाधार तथा यातायात राज्य मन्त्री नन्दा चपाइ, बाग्मतीका पूर्व मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे,पूर्वमन्त्री गंगालाल तुलाधर,सडक विभाग र विश्व बैंकका उच्च अधिकारीहरुको टोलीले निर्माणको अन्तिम चरणमा रहेको सुरुङमार्गभित्रै छिरेर निरीक्षण गरेको हो । 

सुरुङमार्गको मुख्य टनेल करिव ४ सय मीटर र रेस्क्यु टनेल करिव ३५ मीटर खन्न बाँकी रहेको सुरुङमार्ग निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले जानकारी दिए । 

निरीक्षणको क्रममा मन्त्री ज्वालाले थपिएको समयसीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिए । निर्माण प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने पनि बताए । मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका छन् ।

अबको केही महिनामा रेस्क्यु टनेल जोडिसक्ने र छिट्टै मुख्य टनेल जोड्ने तयारी छ। आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्र रूपमा अघि बढाइएको उनले बताए । 

सुरुङमार्गको ०७६ कात्तिकमा शिलान्यास गरिएको थियो। यसको लम्बाइ २.६८ किलोमिटर छ । यहाँ नौ मीटर चौडाइको मुख्य टनेल र चार मीटर  चौडाईको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् । 

कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महिना थपिएको हो । थपिएको समयअनुसार २०८१ सालको असोजसम्ममा सम्पुर्ण काम सकेर सुरुङ्ग मार्गमा सवारी सन्चालन गर्न सकिनेछ ।​​​​​​​

टिप्पणीहरू