हनुमानढोका क्षेत्रमा विदेशी चलचित्रको छायाङ्कनका लागि दैनिक ५५ हजार बुझाउनुपर्ने
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि सम्पत्तिसम्बन्धी कर कार्यान्वयनमा ल्याउन वडा कार्यालयहरुलाई निर्देशन दिएको छ ।
महानगरपालिकाले सबै वडा कार्यालयलाई परिपत्र गर्दै आर्थिक वर्ष २०८०/८१ का लागि जारी गरिएको आर्थिक ऐन, २०८० मा भएको व्यवस्थाबमोजिम कार्य अघि बढाउन भनेको हो ।
जसअनुसार अब विदेशीले हनुमानढोका दरबार परिसरमा चलचित्र छायाङ्कन गर्दा प्रतिदिन ५५ हजार रुपैयाँ तिर्नुपर्नेछ । छोटो चलचित्र, डकुमेन्ट्रीको भिडियो खिच्न प्रतिदिन २५ हजार रुपैयाँ र विज्ञापन भिडियो छायाङ्कन गर्न ६० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।
स्वदेशीको हकमा ठूला पर्दाको चलचित्रका लागि प्रतिदिन २० हजार रुपैयाँ, छोटो चलचित्र र म्युजिक भिडियोका लागि १० हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, दोहोरी गीत/म्युजिक भिडियो सुटिङको लागि प्रतिदिन पाँच हजार, व्यक्तिगत मुभी क्यामरा÷क्यामरा शुल्क विवाहका लागि पाँच सयदेखि एक हजार रुपैयाँसम्म तिर्नुपर्छ ।
महानगरपालिकाले हनुमानढोका दरबार परिसर छिर्न अबदेखि पर्यटकले एक हजार रुपैयाँ तिर्नुपर्ने जनाएको छ । त्यस्तै, बालाजु, बाइसधारा पार्क, शंकपार्क, शंखधर पार्क छिर्न स्वदेशीको हकमा ३० रुपैयाँ र विदेशीको हकमा १०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
योसँगै पिकनिकका लागि ठाउँअनुसार एक हजार पाँच सय रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ ।
टिप्पणीहरू