कक्षा ११ को छात्रवृत्तिका लागि मध्यपुर नगरपालिकाद्धारा आवेदन खुला

कक्षा ११ को छात्रवृत्तिका लागि मध्यपुर नगरपालिकाद्धारा आवेदन खुला

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीसँग आवेदन मागेको छ । शैक्षिक सत्र २०८० मा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला गरेको नगरपालिकाले जानकारी दिएको हो । 

नगरपालिकाले आज सूचना जारी गर्दै ‘मध्यपुर थिमी नगर शिक्षा समितिको निर्णय तथा मौजुदा शिक्षा ऐन–नियम एवं नगर शिक्षा ऐन, २०७९’ बमोजिम आफ्नो कार्यक्षेत्रभित्र सञ्चालनमा रहेको संस्थागत विद्यालयहरुमा अध्ययन गर्न चाहनेलाई मात्र छात्रवृत्ति दिइने स्पष्ट पारेको छ । 

नगरपालिकाका अनुसार यही साउन १० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदन दिनका लागि माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ उत्तीर्ण प्रमाण–पत्रको प्रतिलिपि, समावेशी छात्रवृत्तिका लागि थरबाट नछुट्टिने विद्यार्थीले आधिकारिक आयोग–संघसंस्थाबाट परिचय खुलेको समावेशी प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ । 

त्यस्तै, आर्थिक रुपले पिछडिएका वर्गले छात्रवृत्तिका लागि विपन्नता खुलेको वडा–स्थानीय तहको सिफारिस पत्र बुझाउनुपर्ने नगरपालिकाले जनाएको छ । एकभन्दा बढी सन्तान भएका परिवारले आफ्ना छोराछोरीमध्ये एक जनाको मात्र निवेदन पेश गर्न सक्नेछन् । 

छनोटका लागि हुने परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित एक सय वटा वस्तुगत प्रश्न सोधिने नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाले विद्यालयगत छात्रवृत्ति कोटा, परीक्षा तालिका र परीक्षा केन्द्रसम्बन्धी विवरण पछि प्रकाशन गरिने बताएको छ ।
 

टिप्पणीहरू