चेलीमाथि यस्तै अत्याचार गर्ने हो मन्त्री कमरेड ?

चेलीमाथि यस्तै अत्याचार गर्ने हो मन्त्री कमरेड ?

समायोजनको राप र तापमा हजारौं कर्मचारी सेकिएका छन् । कतिपय स्थानीय तहले साउन १ देखि तलब खुवाउन सक्दैनौं भन्दै खटाइएका कर्मचारी धमाधम फिर्ता गर्दै छन् । प्रधानमन्त्री प्रचण्डको निर्वाचन क्षेत्र, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र गृहमन्त्री नारायणकाजी श्रेष्ठकै गृहजिल्लामा भएको हो यस्तो ज्यादती । प्रशासकबाट भएको यो ज्यादतीविरुद्ध हामी खोज्दै छौं न्याय तर माथिसम्म पहुँच नभएका सानो मान्छेले बोलेको कसले सुन्छ र यहाँ ?

जीवनको लामो कालखण्ड गोर्खा जिल्लाको दुर्गम भेगमा बसेर काम गरिरहेका छौं । तर हामीलाई पन्छाएर एउटी महिला कर्मचारीलाई कास्कीबाट नियमविपरीत गोर्खा तानिन्छ । र तीन/चार महिना दुर्गममा बसेर सेवा गरेको देखाई उनैलाई बढुवा गरिन्छ भने कुन मन लगाएर काम गर्नु ? पोखराबाट गोरखा आएर बढुवा खाने र बढुवा खाएको भोलिपल्ट काठमाडौं फर्कने त्यस्तो पावरफुल कर्मचारी हुन, दधिकला भुसाल । जो गोरखा जिल्ला प्रशासन कार्यालयबाट नासु तहमा उक्लिएको भोलिपल्टै पुरातत्व विभागमा हाजिर लगाउन पुगेकी छन् ।

यिनलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट गोर्खामा तानेर बढुवा दिने नाममा १० औं जना कर्मचारीलाई पीडित बनाइएको छ । प्रमुख जिल्ला अधिकारी भुसाल र दधिकला पनि भुसाल नै भएको नाता हो कि वा अरु नै केही थाहा छैन । कर्मचारी संकेत नम्बर २०४४६८ भएकी दधिकलालाई सामान्य प्रशासनले खरिदारको सरुवा स्थगन गरेकै बेला किन गोर्खा ल्याइएको रहेछ, बल्ल खुल्दै छ रहस्य । 

हामीमाथि भएको अन्याय र अत्याचारको पत्र बोकेर गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्म पुगेका छौं तर न्याय हराए गोर्खा जानु भन्ने उक्ति बनेको जिल्लामै कार्यरत हामी न्याय नपाएर भौंतारिरहेका छौं । 

हामीला पन्छाएर एउटी महिला कर्मचारीला कास्कीबाट  नियमविपरीत गाेर्खा तानिन्छ र तीन/चार महिना दुर्गममा बसेर सेवा गरेकाे देखाउनैला बढुवा गरिन्छ भने कुन मन लगाएर काम गर्नु ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ०७९ मंसिरदेखि नै परिपत्र गर्दै खरिदारको सरुवा स्थगन गरेको थियो । आन्तरिक बढुवा खुल्नुभन्दा केही दिनअघि सरुवा मिलाएर हाजिरमा दुर्गमतिर जाने र बढुवा भएको केही महिनामै सुगममै फर्कने निजामती क्षेत्रमा देखिएको रोगलाई रोक्न भन्दै राजपत्र अनंकित द्वितीय तह(खरिदार)को सरुवा रद्द गरिएको थियो । दुर्गममा लामो समयदेखि कार्यरत कर्मचारीको बढुवामा प्रत्यक्ष असर परेको गुनासो बढेपछि सामान्यले खरिदार तहका कर्मचारीको सरुवा रद्दका लागि परिपत्र गरेको थियो, चलानी नम्बर ३०८ को पत्रअनुसार, ०७९ मंसिर २८ गते यस्तो सरूवा तथा पदस्थापन रोक्का भएको हो ।

पहिलो पटक फागुनसम्म रोकिएको सरुवा फेरि अर्काे परिपत्र मार्फत् ०८० वैशाख मसान्तसम्म स्थगित भयो । सायद, यो परिपत्र निमुखा कर्मचारीका लागि मात्र थियो कि ! गृह मन्त्रालयको कर्मचारी प्रशासन फाँटका हाकिम, प्रमुख जिल्ला अधिकारीसम्म पहुँच भएका कर्मचारीलाई यस्ता परिपत्रले केही छोएन ! त्यतिखेर जिल्ला प्रशासन कास्कीको प्रमुख थिए, टेकबहादुर केसी र यता गोर्खाको प्रमुख दिनेशसागर भुसाल । 

गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखा हेर्ने कुलशेखर अर्यालको आदेशमा उनी पुस ७ गते पत्र तयार भएको ४ दिनपछि नै भुसाल गोरखामा हाजिर भएकी छन् ११ गतेदेखि । भुसालको सरुवा बदरको माग गर्नेमा शिवराज बराल, सुकदेव नेपाली, शोभाकान्त पोखरेल लगायत थियौं । तत्कालीन सामान्य प्रशासन सचिवलाई पत्रै लेखेर हामीले निर्णय सच्याउन माग राखेका हौं । 

तीन महिनापछि उनै दिनेशसागर भुसाल अध्यक्ष रहेको बढुवा सिफारिस समितिले दधिकलालाई नासु तहमा उकाल्न सिफारिस गरेपछि लामो समयदेखि दुर्गम जिल्लामा रहेर सेवारत हामी मर्कामा पर्‍याैं । सो समितिमा कोष तथा लेखा नियन्त्रण प्रमुख सदस्य सचिव थिए । शिवराज बराल, सुकदेव नेपालीपछि तेश्रो नम्बरमा दधिकलाको बढुवा हुँदा चौथो नम्बरमा थिए विक्रम सुवेदी । यदि नियम विपरित र नियतवस् दधिकलाको सरुवा नभएको हुँदो हो त गोर्खाकै सिरानचोक गाउँपालिकामा कार्यरत अजिता राई बढुवा हुने थिइन् तर प्रक्रिया मिचेर आएकी दधिकलाले उनको भाग खोसिदिइन् । न्याय त खोज्नु नै थियो यसर्थ गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रमुख सचिव रविलाल पन्थसमक्ष दुःख बिसायौं । ०८० साल वैशाख ४ गते यसरी अरुको वृत्ति विकास नै खोसेर बढुवा भएकी भुसाल एक दिन मात्र गोर्खामा हाजिर गरेर पुरातत्व विभाग, काठमाडौं पुगिसकेकी छन्, असार तेश्रो साताबाटै । अब हेर्न बाँकी छ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो परिपत्रको प्रतिरक्षा गर्छ कि गर्दैन ? 

कुलशेखर भोट हाल्नुपर्दा रुखबाहेक अरु नदेख्ने, दिनेश सागर पहिला प्रचण्डको सचिवालयमा बसिसकेका, दधिकला भुसाल कांग्रेस निकट नेपाल निजामती कर्मचारी संगठनकी नेत्री । आर्थिक अपचलन गर्नु मात्र भ्रष्टाचार होइन, नीतिगत रूपमा बदमासी गर्नु पनि भ्रष्टाचारकै अर्काे रूप हो । भनिन्छ, संसार ‘प’कै वरपर घुमिरेहको छ, पावर, पैसा, पद, प्रतिष्ठा, प्रगति र पतन । अहिले संघीय मामिला तथा सामान्य प्रशासन र गृह मन्त्रालय सम्हाल्ने दुबै माओवादीका आशा गरिएका नेताहरू हुनुुहुन्छ । माननीय मन्त्री अमनलाल मोदीज्यू, तपाईंकै मन्त्रालयले गरेको परिपत्रलाई नारायणकाजी श्रेष्ठको मन्त्रालयले कुल्चिएर एउटा महिला कर्मचारीको मुखैमा आएको गास खोसिएको छ । र, अरुको भाग लुटेर बढुवा खोसेको छ । हामी अक्सर संसार बदल्ने ठुल्ठूला क्रान्तिका कुरा गर्दछौं, हिम्मत छ नियमविपरीत गरिएको खरिदार सरुवा र बढुवा बदर गर्ने ? 

– पीडित कर्मचारी 
 

टिप्पणीहरू