कसले बाजी मार्लान् सशस्त्रमा
सशस्त्र प्रहरीमा नयाँ कायम भएको एसएसपी दरबन्दीमा बढुवा योग्यहरूले आवेदन दिने म्याद नसकिँदै एसपीहरूको ‘जागिर कुण्डली’ हेर्न थालिएको छ । सम्भावित बढुवाको सूचीमा एसपीहरू राजेश उप्रेती, गंगाराम श्रेष्ठ, भरत खनियाँ, ध्रुवबहादुर कार्की, रमेशकुमार पाण्डे, तिर्थराज पौडेल, रविनराज कर्णजित, वीरसिंह साहु, जनक पुरी, नेत्रबहादुर कार्की, सूर्यबहादुर सेन ओली, तेजप्रसाद पोखरेल, यादव विश्वकर्मा, विकास घिमिरे, टोपबहादुर खनाल, नरेन्द्र बम, जहरसिंह बुढामगर र वीरेन्द्र ऐर रहेका छन् । यी सबै सिसं नम्बर २ का अधिकृत हुन् । यी १९ जनामध्ये १२ जनाको थपिएको दरबन्दीमा बढुवा हुनेछ भने ७ जनाले पालो पर्खनेछन् ।
बढुवाको १ नम्बरमा रहेका एसपी राजेश उप्रेती धनुषामा गणपति हुँदा तत्कालीन डिआइजी (अहिलेका आइजिपी) राजु अर्याललाई बाइपास गरी तस्करीमा संलग्न रहेको आरोप लागेको थियो । त्यसपछि कारवाहीस्वरूप हेडक्र्वाटरमा तानिए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको पावर र सर्वेन्द्र खनालको ज्याक लगाएर रूपन्देही गएका थिए ।
अर्का वरिष्ठ एसपी गंगाराम श्रेष्ठ सर्लाहीमा हुँदा सिडिओ र नेपाल प्रहरीका एसपीसँग तास खेली बसेको भिडियो बाहिरिएपछि रातारात कारबाहीमा परे । सबै सुरक्षा निकायका प्रमुख दशैंको बेला शान्ति सुरक्षा कायम गर्न सजग हुनुपर्नेमा तास खेलेको भिडियो बाहिरिएको थियो । यीभन्दा जुनियर एसपीहरू किरण ढुंगाना र शकर खनाल यसअघि बालकृष्ण खाँण गृहमन्त्री भएका बखत बढुवा भए ।
त्यसैगरी बढुवाको पहिलो लिस्टमा नाम हुने भरत खनियाँले पश्चिम नवलपरासीमा गणपति हुँदा खसी काण्ड मच्चाएर डोटी सरुवा भएको बताइन्छ । डोटीबाट पावर लगाई रूपन्देहीको कमाण्ड सम्हाल्न भ्याएका उनलाई एमाले नेता विष्णु पौडेलसँग जोडिएको ढुंगामुढा र सुकुम्वासी काण्डका कारण तत्कालै हेडक्वार्टरमा तानेर कमाण्ड खोसिएको थियो । त्यसपछि पावर लगाएर उनी सर्लाहीस्थित गणको प्रमुख हुन भ्याए ।
ध्रुवबहादुर कार्की रौतहटबाट पुरस्कार बुझ्न हलचोक आएको बेला उनका हवल्दारले पानपराग कोशेली खाएको भन्दै हेडक्वार्टरमा उजुरी परेपछि पुरस्कार खोसिएको थियो । सशस्त्र प्रहरीको वार्षिकोत्सवका दिन उत्कृष्ट गणपतिका रुपमा कार्की सम्मानित हुँदै थिए । उनको पुरस्कार खोसिनुमा खुमलटारस्थित दक्षिणकाली गणका एसपी विकास घिमिरेको मुख्य भूमिका भएको बताइन्छ । प्रतिस्पर्धामा तिनै चुक्लीवाज विकास घिमिरे पनि सामेल भएको स्रोतको दावी छ । उनी सबैभन्दा धुर्त गणपति र कालो अनुहार, कालै मन भएका हाकिम भनेर चिनिन्छन् । यसै लटमा डण्डास्थित व्यारेक भवन निर्माणकाण्डमा कारबाहीको लागि सिफारिस भएका तर पर्साबाट तानिए पनि कारबाहीबाट जोगिँदै आएका एसपी तेजप्रसाद पोखरेल पनि छन् ।
त्यसैगरी प्रतिस्पर्धामा रहेका रवीन्द्रराज कर्णजित अव्यावहारिक हाकिमका रूपमा चिनिन्छन् । एसएसपी हुने लाइनमा गुल्मी घर भएका सूर्यबहादुर सेनओली र धु्रवबहादुर कार्की छन् । यी दुवैमाथि कमाण्ड नै सट्टापट्टा गरेको आरोप लाग्दै आएको छ । कपिलवस्तु र रौतहट जिल्लाको कमाण्ड एकअर्कासँग अदलीबदली गरेको र एकअर्कालाई टेलिफोन गरेर लाइन क्लियर गर्न पल्केको आरोप यी दुईमाथि छ । जावलाखेलमा जाँड खाएर प्रहरी कुटेपछि साथी नरेन्द्र बमलाई जोगाउन हम्मे परेको थियो । आइजिपी राजु अर्यालको सचिवालयमा रहेका नरेन्द्र पनि बढुवाको दावेदार हुन् । कालिकोट घर भएका उनी इटालिमा तालिम गर्दै छन् ।
डिएसपीबाट बढुवा हुँदा पछि परेका नेत्र कार्की पनि एसएसपीको दावेदार हुन् । उनी प्रोफेसनल भए पनि धेरै जान्ने र बाठो हुनु पर्ने भएकाले पछि पर्दै आएका थिए । उहिले महाराजगञ्जतिर महिलासँगको खैलाबैला काण्डमा परेका सोझा जहरसिंह बुढामगर पनि दावेदार हुन । रामचन्द्र पौडेलको भतिजा कहलिने तीर्थराज पौडेल प्रतिस्पर्धीमा छन् । रमेशकुमार पाण्डे झापाली भए पनि प्रकाशशरण महतका मान्छे भनिन्छन् भने वीरसिंह साहु सिपाहीबाट आएका मिहिनेती हुन् । उनी सुदूरपश्चिम दार्चुलाका हुन् । त्यसैगरी चितवन घर भएका जनक पुरी पनि दावेदार हुन् ।
उनले कैलाली र कपिलवस्तुको कमाण्ड सम्हालेका छन् टोपबहादुर खनाल सप्तरीको दन्तकाली गणमा कार्यरत छन् । यादव विश्वकर्मा ठीकठीकै मानिन्छन् । त्यसैगरी पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रिय पात्र मानिने डडेलधुराका वीरेन्द्र ऐर पनि प्रतिस्पर्धीका रूपमा देखिएका छन् । पहिलो लटका यी सँगै काँधमा काँध जोडेर दावेदारी प्रस्तुत गर्ने दोस्रो लटका एसपीहरूमा समिप महर्जन, सुरेश सापकोटा र पूर्ण साउद रहेका छन् । यिनीहरू मध्येबाट पनि कोही–कोही एसएसपी हुन सक्ने स्रोतको दाबी छ ।
टिप्पणीहरू