ईश्वरपुरका वडाध्यक्षविरुद्ध प्रहरीमा जाहेरी, जातीय विभेदको आरोप

ईश्वरपुरका वडाध्यक्षविरुद्ध प्रहरीमा जाहेरी, जातीय विभेदको आरोप
सुन्नुहोस्

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ८का वडाध्यक्षविरुद्ध प्रहरीमा जाहेरी परेको छ । 

जातीय विभेद र छुवाछुत गरेको आरोपमा स्थानीय जनकबहादुर विक, सुमित्रा विक, रवि विकले वडाध्यक्ष श्याम थापाविरुद्ध ईलाका प्रहरी कार्यालय, बयलबासमा उजुरी दर्ता गरेका हुन् । वडाध्यक्षका छोरा हिमाल थापा र स्थानीय राजेन्द्र खड्काको नाम पनि किटानी जाहेरी परेको छ । 

गत असार १७ गते बेलुका साढे ७ बजे वडाध्यक्षका छोरा हिमालले मादक पदार्थ सेवन गरेर जथाभावी गाली गरेको निवेदकको आरोप छ । निवेदकका अनुसार हिमालले ६५ वर्षीय जनकबहादुरलाई ‘तँ साले डुम भएर हामी ठूला जातिलाई नटेर्ने, मुखमुखै लाग्ने, अचेल तँहरु निकै चढिएको छस्’ भनेर गालामा दुई थप्पड र छातीमा एक मुक्का हानेका हुन् । 

उनले ‘कामीहरुलाई ठीक पारौं’ भन्दै आफन्तलाई बोलाएर समेत कुटपिट गरेको जाहेरीकर्ताको आरोप छ । वडाध्यक्षका आफन्त रमा खड्काले ‘चौडिका, कमिनी, डङ्गीनी, डुमिनीहरु धेरै चिढिएका छन् ठीक लगाउनुपर्छ’, भन्दै अपशब्द प्रयोग गरेर गाली गरेको जाहेरीमा उल्लेख छ । स्थानीय राजेन्द्रले सोही क्रममा जाहेरीकर्ता सुमित्रालाई 'टिपेर फालेको' जनाइएको छ । 

उनीहरुले कुटपिट गर्दा पाँच जना गम्भीर घाइते भएको बताइएको छ । प्रहरी कार्यालयमा छलफलका क्रममा समेत हिमालले ‘यी दमाई कामीहरुलाई त जुत्ताको तल धुलो बनाएर राख्नुपर्छ, अब यिनीहरुलाई कसरी ठीक लगाउने हो मैले जानेको छु’, भनेर धम्काएको पीडित पक्षको भनाइ छ ।

आफ्नो बुवाको आडभरोसामा हिमालले त्यस्तो काम गरेको उनीहरुको ठहर छ । आफ्नो मान मर्यादामा आघात पुगेको उल्लेख गर्दै उनीहरुले प्रतिवादीहरुलाई हदैसम्मको सजाय गरी उपचार खर्च तथा क्षतिपूर्तिसमेत दिलाउन माग गरेका छन् । यता, वडाध्यक्ष थापाले आफू र आफ्नो छोरामाथि लागेको आरोप अस्वीकार गरेका छन् । 

पीडित पक्ष भनिएकाले उल्टै आफ्नो छोरालाई कुटपिट गरेको उनको दाबी छ । ‘मेरो छोराले होइन्, उनीहरुले चाँहि मेरो छोरालाई पिटेका छन् । पहिले पनि धेरैलाई कुटपिट गरिसकेका छन् । अहिले मेरो छोरालाई फसाउन खोजिरहेका छन्’, उनले भने ।
 

टिप्पणीहरू