पहिरोको जोखिमपछि धादिङमा घरगोठ खाली गरिँदै
धादिङको उत्तरी भेगमा पर्ने गंगाजमुना गाउँपालिका १, रिगाउँ पहिरोको जोखिममा परेको छ । गाउँ माथिबाट पहिरो झर्ने सम्भावना बढेपछि स्थानीयहरु घरगोठ खाली गरेर अन्यत्र जान थालेका छन् ।
बस्ती माथीबाट जमिन भासिएपछि त्योभन्दा तलका घरगोठ खाली गर्न थालिएको बताइएको छ । हालसम्म १५ घरगोठ खाली गरिसकिएको स्थानीय शिक्षक रामचन्द्र सिटौलाले जानकारी दिए ।
वृद्धवृद्धा, बालबच्चा र गाईबस्तुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । अन्नपात, लत्ताकपडा र अत्यावश्यक सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ लगिएको उनले बताए ।
गाउँमाथीको जमिन भासिन थालेपछि ५० घर जोखिममा परेका छन् । आसपासका थप ६० घरगोठ पनि जोखिममा देखिन्छन् । पहिरोको उच्च जोखिमका कारण रिगाउँ माविको पठनपाठन बन्द गरिएको छ । विद्यालयका दुई वटा भवनमध्ये २० कोठे नयाँ भवन पनि जोखिममा छ । पहिरो गएको अवस्थामा दुई वर्षअघि निर्माण गरिएको खानेपानीको ट्याङ्की पनि क्षतिग्रस्त हुने सम्भावना बढेर गएको बताइन्छ ।
सो क्षेत्रमा अस्तिदेखि लगातार वर्षा भइरहेको छ । हिजो बिहान स्थानीयले घाँस काट्न जाने क्रममा जमिन भासिएको देखेपछि गाउँमा खबर गरेका हुन् । त्यसपछि बस्ती खाली गरिएको हो ।
रिगाउँमा तामाङ समुदायको बसोबास छ । जिल्ला सदरमुकाम धादिङबेसीबाट करिब ५४ किलोमिटरको दूरीमा रहेको उक्त गाउँमा बर्खायाममा सडक यातायात सञ्चालन हुँदैन ।
टिप्पणीहरू