शान्त विराटनगर फेरि अशान्त !

शान्त विराटनगर फेरि अशान्त !

विगतमा कुनै समय विराटनगर गुण्डागर्दीको कारण निकै बदनाम शहरको रुपमा परिचित थियो । तर पछिल्ला केही वर्षदेखि तुलनात्मक रुपमा विराटनगर शान्त शहरमा परिणत भयो । ठेक्टापट्टा र टेण्डरमा हुने गुण्डागर्दीलाई नियन्त्रणमा लिएपछि उक्त अवस्थामा कमी आएको बताइन्छ । तर अहिले दिनदहाडै काटमारका घटना हुन थालेपछि स्थानीय चिन्तित छन् ।
 

हिजो दिउँसो विराटनगर १०, तीनटोलियास्थित बाबा चोकमा मोटरसाइकलमा सवार तीन जना युवाले तरबार प्रहार गरेका छन् । उक्त घटनामा विराटनगर ८ का २२ वर्षीय मोहम्द हलिम गम्भीर घाइते भएका हुन् । उनको दुबै हात काटिएकाले नोबल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

उनलाई केही दिनअघि सम्पन्न मुस्लिम धर्मालम्बीहरुको मोहरम पर्वमा भएको आपसी विवादका कारण आफ्नै साथीहरुले तरबार प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर घटनामा संलग्नलाई प्रहरीले पक्रन सकेको छैन ।

हलिमलाई तरबार प्रहार गर्नेहरु विराटनगर ८ का ३० वर्षीय समिर हदैन, २२ वर्षीय अमन कुरेसी र विराटनगर ११ का २६ वर्षीय कुशल पाण्डे रहेको बताइएको छ । उनीहरुको खोजी कार्य तीब्र पारिएको प्रहरीको दाबी छ । 

स्थानीय पसलमा चिया पिउँदै गरेका हलिमलाई नाङ्गो तरबार बोकेर मोटरसाइकलमा आएका ती युवाले पहिले टाउकोमा प्रहार गरेका थिए । तर आफूले प्रहार छलेपछि दुबै हातमा प्रहार गरिएको हलिमको भनाई छ । त्यसपछि उनीहरु मोटरसाइकलमा फरार भएका थिए । 

विराटनगरमा पहिले पर्शुराम बस्नेत, अभिषेक गिरी, एलिस गुरुङ, मुकेश बुढाथोकी, मोहम्मद आलम, मोहम्मद एजाजलगायतका युवाको भिन्दाभिन्दै समूह थियो । उनीहरुको समूह विभिन्न कार्यालयका टेण्डर हत्याउन निर्माण व्यावसायीहरुले प्रयोग गरेर काटमार गराउँथे । राजनीतिक दलहरुले पनि उनीहरुलाई संरक्षण गर्थे । चुनावको समयमा पनि गुण्डा समूह परिचालित हुन्थे ।
 

तर पछिल्लो समय प्रहरीले थालेको गुण्डागर्दी विरुद्धको अभियानपछि विराटनगर तुलनात्मक रुपमा शान्त देखिन्थ्यो । अहिले फेरि पुरानै शैली मौलाउन थालेको स्थानीयको भनाई छ । यसअघि अघिल्लो वर्ष कात्तिक २४ गते अशोक चोकका ५२ वर्षीय अफाक आलममाथि अफिस जादै गर्दा खुकुरी प्रहार भएको थियो । 

२०७८  असोज १० गते पनि उच्च अदालत अगाडि भक्तपुरका व्यापारी कमानसिँह लामामाथि खुकुरी हानिएको थियो । प्रहरीले गुण्डागर्दीमा संलग्न धेरैलाई मुद्दा दर्ता गरेपछि आपसमा काटमार र समूह लडाईंका घटना कम हुँदै गएको बताइन्छ । पर्शुराम समूहले २०६८ जेठ १८ गते मोरङ जिल्ला अदालत परिसरभित्र पहिले आफूसँगै रहेका तर पछि अलग भएका गुण्डा नाइके अभिषेक गिरीमाथि संघातिक आक्रमण गरेका थिए ।

टिप्पणीहरू