मन परेको केटो मनमा मात्रै

मन परेको केटो मनमा मात्रै

राजनीतिप्रति चरम बितृष्णा बढेका बेला ‘फन्डा’ को राजनीति चल्छ भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राम्रोसंग थाहा छ । टेलिभिजनमा काम गर्दा कमाएको ‘लोकप्रियता’ लाई पुराना पार्टीप्रति आम नागरिकको असन्तुष्टीसँग जोडेर राजनीतिमा लागेका उनले छोटै समयमा सफलताको स्वाद पनि चाखे । सांसद र मन्त्रीसम्म भए । तर, अझै पनि उनलाई ‘भाइरल’ हुने महत्वाकांक्षाले छोडेको छैन । 

‘जान्नेलाई छान्ने’ नारा उरालेर पार्टी गठनको केही महिनामै चुनावमा गएको रास्वपाले प्रत्यक्ष ७ र समानुपातिक १४ गरी २१ सिट हात पार्नु चानचुने थिएन । जननिर्वाचित सर्वोच्च थलो संसदबाट जनताको आवाज उठाउन काफी संख्या हो त्यो । तर, चुनाव जितेर आएपछि लामिछानेले सरकारमा जान मरिहत्ते गरे । प्रतिपक्षमा रहेर सरकारलाई खबरदारी गर्न जनताले बनाइदिएको चौथो दलको हैसियत यहीँबाट दुरुपयोग भयो । अन्ततः सत्ता समीकरणमा ‘सिक्वेन्स’ नमिल्दा रास्वपा अहिले प्रतिपक्षमा छ र  ऊमाथि संसदमा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागिरहेको छ । 

एमालेले गरेको लगातारको संसद अवरोधलाई साथ दिएर उसैको पछि पछि कुदेको चर्को आरोप लागेपछि संसदको रोष्ट्रममै उभिएर लामिछानेले आफूहरु स्वतन्त्र हैसियतमा रहेको स्पष्टिकरणसमेत दिनुप¥यो । पुराना पार्टीहरुको विकल्पमा हेरिएको र युवाहरुको बर्चश्व रहेको रास्वपाका मुख्य नेताले नै ‘आफ्नो दलको स्वतन्त्र हैसियत छ है’ भनेर संसदमा ‘रोइकराई’ गर्नुपर्ने अवस्था आउनु आफैँमा लाजमर्दो कुरा हो । अहिले संसद अवरोध गर्ने एमालेको लाइनमा छैन रास्वपा । तर, सत्ता र प्रतिपक्ष दुबैलाई दबाब दिएर संसद खुलाउन जुन तहमा भूमिका खेल्नुपर्ने हो, त्यो पनि गरिरहेको छैन । 

जिम्मेवारीबोधका साथ संसद खुलाउन सक्रियता देखाउनुपर्नेमा बरु, अर्को फण्डा झिकेका छन् रविले । एमालेको अवरोधका कारण भित्र बोल्न नपाएको भन्दै संसद बाहिर सभामुखलाई संबोधन गरी पत्रकारमाझ आफ्ना कुरा राखेका छन् । जबकि सदन चलाउन सभामुखलाई संसदभित्रै दबाब दिनसक्ने प्रशस्त बाटो उनीसँग थियो । २१ जना सांसदले सदन खुल्नुपर्छ भनेर वेल घेराउ गर्दै संसदमा नारावाजी गर्न सक्थे । मार्शल लगाएर भए पनि संसद चलाउनुपर्छ भनेर आफ्नो प्रष्ट अडान जनतालाई हाउसभित्रैबाट सुनाउन सक्थ्यो । युट्युबरसहित २१ जना सांसद एकैसाथ सभामुखकहाँ डेलिगेशन गएर संसद खुलाउननिम्ति दबाब दिन रास्वपालाई केले रोक्यो ? यसो गर्न सकेको भए सभामुखलाई पनि संसद चलाउन दबाब बढ्थ्यो । एमालेका एकजना सांसदले हात हल्लाउनेबित्तिकै बोल्न दिइहाल्ने सभामुखको तटस्थ भूमिकाको पनि त्यतिबेला परीक्षण हुन्थ्यो । 

यस्तो बैधानिक बाटो नअपनाउने तर बाहिर मिडियाका सामुन्ने संसदमै जसरी बोल्ने कुराको कुनै अर्थ रहँदैन । यो त रातभरी जाँड खाएर बिहान जप गरेजस्तो भएन र माननीयज्यू ? रास्वपाका नेताहरुको हर्कत देखेर घण्टीका समर्थकहरु भन्न थालेका छन्, ‘मन परेको केटो जेठाजु !’
 

टिप्पणीहरू