अनि अभिनेत्री परिन् डाँकुको फन्दामा
चलते चलते
यूँ ही कोई मिल गया था
वही ठमके रह गयी है
मेरी रात ढलते ढलते ।
जो कही गयी ना मुझसे
के पÞmसाना बन गयी है
मेरी बात चलते चलते ।
यह चिराग बुझ रहे हैं
मेरे साथ जलते जलते
यूँ ही कोई मिल गया था
सरे राह चलते चलते ‘
उपर्युक्त गीत सन् १९७२ को फेब्रुअरी ४ मा प्रदर्शित बहुचर्चित हिन्दी चलचित्र ‘पाकिजा’ को हो । यो गीतको रचयिता हिन्दी चलचित्रकी वरिष्ठ अभिनेत्री शवाना आजमीका पिता कैफी आजमी हुन् । यो चलचित्र निर्माणमा १४ वर्ष लागेको थियो भने ट्रेजडी क्विनको खिताब पाएकी नायिका मीनाकुमारीको अन्तिम चलचित्र हो । फिल्मको कथा लेखन, निर्देशन र निर्माता स्वयं मीनाका लोग्ने कमाल अमरोहीले गरेका हुन् । फिल्मको छायांकन शुरु गर्दाको समय कमाल र मीना लोग्ने–स्वास्नी थिए भने फिल्मको निर्माण पूरा हुँदा दुबै अलग्गिसकेका थिए । फिल्म एक जना निरास वेश्याको हो । कमाल र मीनाले सन् १९५२ मा बिहे गरेका हुन् भने १९६४ मा सम्बन्धविच्छेद गरेका हुन् । यो फिल्म कमालले सन् १९५८ मा शुरु गरेका हुन् । उनले फिल्ममार्फत मीनालाई आफूले कति माया गर्छु भनेर देखाउन चाहेका थिए तर फिल्म पूरा नहुँदै उनीहरूको सम्बन्ध बिग्रियो । उनीहरूको उमेरमा १४ वर्षको फरक थियो । समयमै चलचित्र पूरा नहुनुमा मीनाको स्वास्थ्य पनि एउटा कारण थियो । कमालसितको सम्बन्ध बिग्रिन थालेदेखि नै मीनाले अत्यधिक रक्सी सेवन गर्न थालेकी थिइन् । फलतः उनको कलेजो बिग्य्रो । उपचारार्थ सन् १९६८ मा लण्डन र स्विट्जरल्याण्ड पुगिन् । रिलिज हुँदाको समयमा दर्शकले फिल्मलाई खासै रुचाएनन् तर दुई महिना नबित्दै ३१ मार्च १९७२ मा मीनाको निधन हुन पुग्यो, त्यसपछि भने हलमा दर्शकको घुइँचो बढ्न थाल्यो । फिल्म सुपरडुपर हिट भयो । निधन हुँदा मीना ३८ की थिइन् । उनले ९३ वटा चलचित्रमा अभिनय गरेकी छन् र प्रायः सबैमा उनले गरेको जीवन्त अभिनयलाई दर्शकले रुचाएका छन्् । तीमध्येको एउटा पाकिजा हो । हिन्दी फिल्म इण्डस्ट्रीमा जबजब मीनाकुमारीले अभिनय गरेका चलचित्रहरूको कुरो आउँछ, पाकिजा अग्रस्थानमा रहने गरेको छ ।
पाकिजाको छायांकन अन्तिम चरणमा पुगिसकेको थियो । बाँकी दृश्यको छायांकन गर्न कमाल अमरोही र मीनाकुमारी मध्यप्रदेशबाट दिल्लीतर्फ लागे । मध्यप्रदेशको शिवपुरी क्षेत्रमा पुग्दा नपुग्दै गाडीमा पेट्रोल सकियो । आसपास जंगलबाहेक केही थिएन । बस्तीको त नामोनिशान थिएन । कमालले गाडीमै रात बिताउने बिचार गरे । तर, उनलाई रत्तिभर पनि ज्ञान थिएन कि उक्त बियाबान जंगल इलाका डाँकुहरूको नियन्त्रित क्षेत्र हो । उनीहरू गडीभित्र मस्त निद्रामा थिए । राति १ बजेको समय होला, डाँकुहरू त्यहाँ आइपुगे र गाडीलाई घेरा हाले । उनीहरूले गाडीभित्र बसेका सबैलाई बाहिर निस्कन आदेश दिए । कमाल आफँै साहित्यकार हुन्, फिल्म निर्देशक र निर्माता मात्र होइनन् उर्दू र हिन्दी भाषाका कवि पनि । अरुको कुरा सजिलै सुन्दैनथे । स्वभावअनुरूप हतियार बोकेका डाँकुहरूको आदेश मान्न उनले अस्वीकार गरे । आफूलाई भेट्न चाहनेहरू स्वयं आफ्नो गाडीको नजिक आउन भने । उनले त्यसो भनेको एकछिनपछि गाडीको नजिक एक जना व्यक्ति देखा परे । अग्लो कदका उनले सिल्कको पाइजामा र कमिज लगाएका थिए । उनले सोध, े ‘तपाईंहरू को हो ?
कमाल, ‘हामी सुटिङको लागि आएको, अचानक बीचबाटोमै पेट्रोल सकियो । त्यसैले गाडीमै बसेर रात काटिरहेको ।’ कमालको ‘सुटिङ’ शब्दलाई डाँकुहरूका ती सरदारले अन्यथा नै ठाने । सुटिङको अर्थ फिल्मको छायांकन भन्ने बुझेनन् । सुटिङको अर्थ राइफलको सुटिङ भनेर बुझे । पुलिस होलान् भन्ठाने । आफूहरूलाई सुट गर्न आएको भनेर बुझे र बन्दुक ताने । कमालले स्थिति बिग्रन लागेको देखेपछि नम्र स्वरमा आफूहरू सिनेमाको सुटिङ गर्न आएको भनेर सम्झाए । सरदारले फेरि सोधे, ‘को–को छौ ?’
कमालले फिल्मकी हेरोइन मीनाकुमारी पनि छिन् र उनी अर्को गाडीमा छिन् भनेर जवाफ दिए । मीनाकुमारीको नाउँ सुन्नेबित्तिकै उनको आँखा खुशीले चम्कन थाल्यो । उनी आफै मीनाकुमारीको ठूलो प्रशंसक रहिछन् । मीनाकुमारीको मान्छे भन्ने थाहा पाउनेबित्तिकै उनले सबैको लागि खाने र बस्ने व्यवस्था मिलाउन आदेश दिए । बिहानपख मीनाकुमारीहरू त्यहाँबाट प्रस्थान गर्न तम्तयार भए । तर, सरदारले गाडी रोकेर मीनालाई भने ‘तिमीसँग जे छ चिनोको रूपमा मलाई दिएर जानू ।’ मीनासित उनलाई दिने केही थिएन । जब उनले यो कुरो सरदारलाई सुनाइन् सरदारले अटोग्राफ भए पनि दिन आग्रह गरे र आफ्नो मान्छेलाई कलम र कागज ल्याउन आदेश दिए । सरदारको आदेशअनुरूप डाँकुले कलमको सट्टा जे लिएर आए त्यो देखेर मीना थरथर काँप्न थालिन् । मीनाले डराइ डराइ त्यो वस्तु लिइन् । त्यो धारिलो चक्कु थियो । सरदारले आफ्नो हात अगाडि सारेर आफ्नो हातको नाडीमा चक्कुले मीनाको नाउँ लेखिदिन आग्रह गरे । निकै कोमल मन भएकी र हातमा कलम र ब्रस समातेर प्रेमिल गजल लेखिरहने उनी चक्कुले कसैको हातमा आफ्नो अटोग्राफ दिन निकै हिच्किचाएर बसिन् । तर, सरदारको कुरो नसुन्दा हुने परिणामबारे कमललाई राम्रो थाहा थियो, त्यसैले उनले सरदारले भनेअनुरूप गर्न मीनालाई हौस्याइन् । मीनाले थरथर काँपेको हातले सकिनसकी सरदारको हातमा ‘मीना’ लेखिदिइन् । सरदार आफूले मन पराएको हिरोइनको अटोग्राफ पाएर निकै खुशी भए । त्यसपछि उनले मीनाहरूको गाडीमा पेट्रोल भरिदिन पनि आदेश दिए । र, सिनेकर्मीलाई बिदाइ गरे । तर, त्यतिञ्जेलसम्म पनि न कमाल, न मीना न अरु कसैलाई थाहा पाए कि ती डाँकूका सरदार अरु कोही होइनन् बल्कि त्यो जमानाका खुँखार डाँकू अमृतलाल रहेछन् भन्ने । मीना अर्को शहरमा पुगेपछि जब उनले आफूले सँगै रात बिताएका ब्यक्ति डाँकू अमृतलाल हुन् भन्ने थाहा पाइन् एकछिन् त भयले बेहोश मात्र भइनन्... ।
चम्बल यमुना नदीको सहायक नदी हो । यो भारतको उत्तर र उत्तर–मध्य भागको राजस्थान र मध्यप्रदेश हुँदै बग्छ । यो नदी ९ सय ६६ किमि लामो छ र मध्यप्रदेशमा मात्र ३ सय ३५ किमि पर्छ । यो नदीको दुबै तर्फको ठूलो क्षेत्र जंगल र पहाडै पहाडले ढाकिएको घाँटी छ । डकैत गर्ने डाँकुहरूका लागि यो क्षेत्र सुरक्षित स्थान रहँदै आएको छ । फूलनदेवी, मलखानसिंह, पानसिंह तोमार, मानसिंह, निर्भयसिंह गुजर, गब्बरसिंह गुजरजस्ता भारतका खुँखार डाँकुहरूको इलाका हो यो । अमृतलाल पनि उनीहरू जस्तै डाँकु हुन् । उनी त्यस्ता डाँकु हुन्, जो अरुजस्तो बाध्यताले डाँकु बनेका होइनन्, शिक्षकको पेशाले आफ्नो सोख पूरा हुने नदेखेपछि डाँकु बन्न पुगेका हुन् । शोख पूरा गर्न डाँका डाल्न थालेकाले हुन् कुन्नी उनी अरु डाँकुजस्तो पुलिस देखेपछि भाग्दैनन्, बरु मुठभेड गर्न जान्छन् । प्रहरी थाना नै लुट्न पुग्छन् । शिक्षण पेशामा कार्यरत रहँदै चोरीको आरोपमा समातिए । तर, थानामा एक जना प्रहरीलाई नियन्त्रणमा लिए अनि बन्दुक र गोली लुटेर भागे । उनी सिधै चम्बल घाँटी पुगेर डाँकु रूपा पण्डितको ग्याङमा सामेल हुन पुगे । पढेलेखेका उनलाई रूपाले योजनाकार बनाए । ग्याङमा अमृतलालको प्रवेशपश्चात् रूपाले डकैतीमा ठुल्ठूलो सफलता हासिल गरे । अमृतलाल आफ्ना साथीहरूको साथमा दिनमा बस र रेल चढी घुम्न जान्थे र राति लुट्न जान्थे । प्रहरीसित मुठभेड गर्ने र चौकीमा लगातार आक्रमण गर्ने गरेकाले प्रहरीले उनलाई समाउन र मार्न अनेक योजना बनायो । तर, हरेक पटक प्रहरीलाई छलेर भाग्थे । त्यसैले मध्यप्रदेशका प्रहरीले उनको नाउँ नै राखिदियो ‘फ्याउरी’।
निर्दोष नागरिकलाई मार्न पनि पछि नपर्ने उनी नामी ऐयासी थिए । जेल परेका वा मुठभेडमा मारिएका आफ्नै ग्याङका सदस्यको परिवारका महिला सदस्यसँग यौन प्यास मेटाउँथे । उनी जुन गाउँमा जान्थे त्यहाँ पनि महिलामाथि बलात्कार गर्थे । बारूद र महिला उनको ठूलो कमजोरी थियो । यौनकै कारण ग्याङभित्रकै सदस्यले कैयौंपटक उनलाई मार्न खोजे तर हरेक पटक उनी बच्थे, भागेर अर्को ग्याङ बनाउँथे र फेरि तहल्का मच्चाउँथे । ऐयासीकै क्रममा ग्याङका सक्रिय सदस्य रथी करारको हत्यापश्चात् उनले रथीकी विधवा पत्नीसँग जबर्जस्ती सम्बन्ध बनाए । ग्याङमा रथीका सालो बद्री पनि केही समय अगाडि मात्र सामेल हुन पुगेका थिए । उनकी पत्नीसँग पनि अमृतलाल सम्बन्ध बनाउने कोसिसमा थिए । यो कुरोबाट बद्री निकै चिन्तित हुन थाले । यसबीच भिनाजुको रथीको मृत्यु पनि अमृतलालकै षड्यन्त्रको तहत भएको रहस्य थाहा पाए । क्रुद्ध उनी मौकाको प्रतीक्षामा बसे र एक दिन गोपालपुरको जंगलको घाँसे मैदानमा साथीहरूसँग दिउँसै मस्त निदाइरहेका मौका पारेर अमृतलालको बन्दुक खोसे र उनैलाई गोली हानी दिए । पटकपटक जेल परे पनि हरेक पटक जेलको पर्खाल नाघेर भाग्न सफल खुँखार डाँकु अमृतलाल आफ्नै ग्याङको सदस्यबाट मारिए । उनको हत्यापश्चात् बद्रीले प्रहरीसमक्ष आत्मसमर्पण गरे ।
टिप्पणीहरू