जसले अरुका निम्ति सैयौं सन्तान जन्माए
त्यो बेला युरोपमा मसला पाइँदैनथ्यो, यसर्थ एशियाबाट लगिन्थ्यो । युरोपेली जनता मसलाको अभावमा मीठो खाना खान नपाएर चिन्तित थिए । त्यसैले एशियाको अलि ठूलो मुलुक भारत पुग्न सामुद्रिक मार्ग खोज्न थाले । युरोपेलीमा पनि पोर्चुगल र स्पेनका नाविक यो मामिलामा घम्साघम्सी गर्न थाले । यसै क्रममा इटलीका क्रिस्टोफर कोलम्बसले सन् १४९२ मा अमेरिका पत्ता लगाए । उनी भारत पुग्न स्पेनबाट हिँडेका थिए तर पुगे अमेरिकी महादेश । उता, ६ वर्षपछि सन् १४९८ मा पोर्चुगलका भास्को डी गामा भारत पुगे । यसै क्रममा दक्षिण अमेरिकी मुलुक ब्राजिलमा पनि सन् १५०० को अप्रिल २२ मा पोर्चुगाली पुगे । पेड्रो अल्भारेज क्याब्राल पहिलो नाविक टोलीको कमाण्डर हुन् जसले ब्राजिलको भूमि टेके । पोर्चुगल सरकार र इसाई चर्चको प्रायोजनमा उनी त्यसरी हिँडेका थिए ।
इसार्ई धर्मको प्रचार र व्यापारमा एकलौटी नियन्त्रणको उद्देश्यसहित पुगेका उनीहरूले रातो, रातो सुन्तला रंगको अचम्मको रूखको जंगल देखे । त्यहाँका स्थानीय आदिवासीले धनुषको बाण, भ्वायलिन बनाउन र कपाल रंगाउन प्रयोग गर्ने उक्त रूखको काठमा पोर्चुगालीको व्यापारिक दिमाग पस्यो । र, उनीहरूले सो रूखलाई ‘पाउ ब्रासिल’ अर्थात् रातो काठ भन्न थाले । कालान्तरमा यही काठको नाउँले नै देशकै नाउँ ब्राजिल रहन गयो । पोर्चुगालीले त्यहाँ उखु र कफी खेतीको बृहत् सम्भावना देखे र त्यसका लागि आवश्यक श्रमिक आफूहरूले कब्जा गरेका अफ्रिकी देश अंगोला, मोजाम्बिक, गिनिया बिसाउबाट लाने योजना बनाए । त्यसपछि ती मुलुकबाट जवान स्त्री–पुरुषलाई भेडा–बाख्रासरह हुलका हुल बाँधेर, पानीजहाजमा कोचेर ब्राजिल लगी खेतीपातीमा लगाए । यसरी एक समय यी दासको संख्या १ करोड २० लाखसम्म पुग्यो ।
अफ्रिकाबाट ल्याइने यी दासलाई पोर्चुगालीहरू ‘वस्तु’ मान्दथे । जति बेला मन लाग्यो किन्थे, मन नलाग्दा बेच्थे । पसलेले ग्राहकसमक्ष कपडा बेच्न पटक–पटक कपडा पछारेर राम्रो, असल र नयाँ छ भनी देखाए जस्तै यिनीहरूका मालिकले बेच्न राखेका यिनीहरूको दाँतमा पालिस लगाउन, शरीरमा तेल मालिस गर्न लगाउँथे ताकि उनीहरू स्वस्थ देखिउन् र अधिक दाम मिलोस् । बिक्रीमा महिलाको तुलनामा पुरुषको मूल्य अधिक हुन्थ्यो ।
१२ देखि ३० उमेरकालाई युवक मानिन्थ्यो । यिनीहरूलाई लगातार १४–१५ घण्टा बिना विश्राम काममा लगाइन्थ्यो । बिहान ६ बजेदेखि राति १० बजेसम्म कामै काम । अत्यधिक शारीरिक परिश्रम गरेकै कारण यिनीहरू ३५ वर्ष पुग्दानपुग्दै बूढो देखिन थाल्थे । विभिन्न रोगले ग्रस्त भई अल्पायुमै मर्थे । करोडौं दासमध्येका थिए –पाटा सेका । ब्राजिलको सोरोकोबामा जन्मिएका उनका बाबुआमा पनि अफ्रिकाबाट ल्याइएका दास नै थिए । जन्मिँँदा उनको नाउँ थियो – रोखे जोस फ्लोरेन्सियो । सानै उमेरमा उनी पनि बिके । उनलाई किन्ने एक जना जमिनदार थिए – जाओखिम जोसे डी ओलियभिरा । उनैले नयाँ नाउँ राखिदिए पाटा सेका । पोर्चुगिज भाषामा यसको अर्थ हुन्छ – सुक्खा खुट्टो, किनभने उनी नांगो खुट्टाले आगोसरी तातेको माटोमा टेकेर काम गर्थे र कहिल्यै पोल्यो भन्दैनथे । ओलियभिराको पाओ साउलोस्थित ठूलो भूमिमा फैलिएको कफीको खेत थियो ।
पाटा सेका जब वयस्क बने उनको शरीर अरुको तुलनामा खाइलाग्दो देखियो । ७ फुट २ इञ्च अग्ला अनि उत्तिकै बलशाली पनि । कसिलो शरीर अनि तेजपूर्ण काम थिए । शुरुमा अरुसरह खेतमै कडा मिहिनेत गर्थे । पछि उनको शारीरिक क्षमता र पुरुषार्थ देखेर मालिकले खेतको काममा कम लगाउँदै ब्यञ्जनयुक्त खाना ख्वाउन थाले । नियमित स्वास्थ्य परीक्षण गराए । पाटा सेकाको हात–खुट्टा पातलो र लामो थियो । त्यसबखत त्यहाँका मानिस हातखुट्टा पातलो र लामो हुनेहरूबाट छोरा नै जन्मिन्छ भन्ने विश्वास गर्थे ।
पाटालाई कम परिश्रम गराउनु र तागतिलो खाना ख्वाउनुको उद्धेश्य यही थियो । जाओखिम चाहन्थे उनी बढीभन्दा बढी महिलासँग शारीरिक सम्बन्ध राखुन् र उनका लागि दासहरू जन्माउँदै जाउन् । जाओखिमको विचार शक्तिशाली व्यक्तिबाट जन्मेका सन्तान पनि उस्तै हुन्छन् र बेच्दा राम्रो दाम आउँछ भन्ने थियो । त्यसैले पछिल्लो समय पाटालाई दुइटा जिम्मेवारी सुम्पे –एउटा दिनरात महिलासित शारीरिक सम्बन्ध राख्ने अनि दोश्रो उनले पालेका घोडाको हेरचाह गर्ने । यहाँसम्म कि उनलाई दिनमै दर्जनभन्दा बढी महिलासित शारीरिक सम्बन्ध राख्न लगाए । एक अभिलेखअनुसार पाटाले आफ्नो मालिकको लागि कूल २ सय ४० जना सन्तान जन्माइदिए । उनीबाट जन्मेका कतिपय जाओखिमले अरु जमिन्दारलाई बेचे भने बाँकीलाई आफ्नै खेतबारीमा लगाए ।
यसबीच सन् १८८८ मा दासप्रथा अन्त्य भयो । ब्राजिल उक्त भेगमा सबैभन्दा पछि दास उन्मूलन गरिएको मुलुक हो । यसप्रथाको अन्त्यसँगै पाटा पनि स्वतन्त्र भए । त्यसबखत ६० वर्ष पुगिसकेका थिए । त्यतिञ्जेलसम्म ‘प्रजननकर्ता’ भनेर कमाइसकेका थिए । एकदिन एक जना साहुको पत्र अर्को साहुकोमा पुर्याउन जाँदै थिए । बाटोको एउटा घरमा एउटी युवती आँगन सफा गर्दै थिइन् । उनको सौन्दर्यमा पाटा मख्ख परे । केही दिनसम्म सम्झना गर्दै दिन बिताए । एकदिन युवतीको घरमा पुगेर बिहेको प्रस्ताव राखे । युवतीले ‘नाइँ’ भनिनन् । दाम्पत्य जीवनमा पाल्मिरा नाउँकी पत्नीलाई पनि ९ सन्तानको आमा बनाइदिए । कूल २ सय ४९ सन्तानका जन्मदाता उनी १ सय ३० वर्षसम्म बाँचेको भन्ने गरिन्छ । उनको निधन सन् १९५८ को जुन १३ मा भयो । अघिल्लो सान्ता एदोसिस साओ कार्लोका ३० प्रतिशत बासिन्दा उनकै सन्तति भएको अनुमान छ । उनीहरूले जुन १३ को दिन हरेक वर्ष उनको सम्झनामा कार्यक्रम गर्ने गरेका छन् ।
अन्तिम दिन उनी किलामा खुट्टा अड्केर लड्न पुगेका थिए । पछि घाउ टिटानस भएर पाक्यो । सोही रोगले उनको ज्यान गयो । निधनको समय घरमा ठूलो भीड जम्मा भयो, धेरै त उनैले शारीरिक सम्बन्ध बनाएका महिलाजन र उनीहरूबाट जन्मेका सन्तान नै थिए । निधन हुनु ३ महिनाअघि मात्र नगर निकायले सबैभन्दा धेरै वर्ष बाँचेको ब्यक्ति भनेर उनलाई सम्मान गरेको थियो ।
दासत्वबाट मुक्त भएपछि मात्र होइन दासकै रूपमा मालिकको सेवामा समर्पित रहँदै दासप्रथाविरुद्ध आवाज उठाएका थिए । दासहरूलाई संगठितसमेत गरेका थिए । दिमाग पनि तीक्ष्ण थियो । उनको अगुवाइमा दुई÷चार पटक दासहरूलाई भगाउने काम भएको छ । दासहरू जो निकै उत्पीडनमा हुन्थे, अत्याचार सहन बाध्य थिए उनीहरूलाई भगाएर सुरक्षित निवासमा रहने व्यवस्था मिलाउँथे । ती घरलाई स्थानीय भाषामा ‘किलोम्बस’ भनिने गथ्र्याे । उनलाई मन पराउने दर्जनौं महिलाको मुक्तिका लागि उनले जमिन्दारलाई पैसासमेत तिरेका थिए । दासप्रथा उन्मूलनपश्चात् पनि मुक्त दासहरूको पक्षमा आफूलाई समर्पण गरे । उनीहरूका छोराछोरीलाई पढाउने व्यवस्था मिलाए । त्यसैले उनलाई दासता उन्मूलनका ‘नायक’ को रूपमा लिने गरिन्छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू