रातलाई रंगीन पार्ने एउटी राजकुमारी

रातलाई रंगीन पार्ने एउटी राजकुमारी

कपुरथला पञ्जाव राज्यअन्तर्गतको एउटा जिल्ला । पहिला यो छुट्टै अधिराज्य थियो । पछि भारतमाथि अंग्रेजले शासन गर्न थालेपछि यो आंशिक सार्वभौम राज्यमा सीमित भयो । यहाँका राजा शिखहरू हुने गर्थे । निहाल सिंह अहलुवालिया वंशका चौथो राजा हुन् । उनका ३ छोरा ३ छोरी थिए । उनीहरूमध्ये एक थिइन् गोविन्द कौर ।

राजाको सबैभन्दा मन पर्ने पुत्री । स्वभावतः उनको पालनपोषणमा राजा निहाल सिंहले कुनै कमी हुन दिएका थिएनन् । दरबारको विलासी जीवन र राजाको अत्यधिक मायामा हुर्केकीले युवावस्थामा पाइला टेक्नुअघि नै बानी बिग्रिसकेको थियो । निहाल सिंहले छोरी गोविन्दकै लागि भनेर मूल दरबारसँगै अर्को दरबार बनाइदिएका थिए । उक्त दरबार ६ तलाको थियो । गोविन्द सबैभन्दा माथिल्लो छतमा बसेर तल सडकमा हिँडिरहेका पुरुषलाई फोहोरी इशारा गर्थिन् । 

पछि गोविन्दको एउटा प्रतिष्ठित शाही खानदानका पुत्रसित बिहे भयो । उनले पहिल्यै शर्त तेस्र्याएकी थिइन् कि उनी आफ्नै दरबारमा बस्छु, लोग्ने पनि त्यहीँ आएर बस्नुपर्छ । युवकको घर मात्र १६ किमि टाढा थियो, तैपनि उनले कहिल्यै लोग्नेको घर जान मानिनन् । बिहे त गरिन् तर एउटा पुरुषबाट सन्तुष्ट हुने खालकी थिइनन् ! लोग्ने हेर्दा पनि नराम्रो थिए, शारीरिक रूपमा कमजोर र सुस्त बुद्धिका थिए । यद्यपि, उनी पनि ब्यभिचारी थिए । गोविन्द हट्टाकट्टा पुरुषको चाहना राख्थिन् । असाध्यै विलासी स्वभावकी ।

पुरुषलम्पट अनि कामपिपासु । त्यसैले आफ्नो बानी त्याग्न सकिनन् र पहिलाजस्तै छतमा बस्ने अनि बाटोमा हिँड्ने युवकहरूलाई इशारा गरेर बोलाउने गर्न थालिन् । राजकुमारीको उक्त कार्य दरबारको मुख्यद्वारमा पहरा दिने सिपाहीहरूले थाहा पाए । उनीहरूले कुरो फुस्काउलान् भन्ने डरले गोविन्दले ती सिपाहीहरूलाई पनि आफ्नो शरीरको रसपान गराइन् । उनले कामवासनाको शिकार राज्यका प्रधानमन्त्री नवाब गुलाम गिलानी समेतलाई गरेकी थिइन् ।

गिलानीसितको उनको खुला प्रेम र वासनाको खेल त्यसबखत निकै चर्चाको विषय बन्यो । अन्त्यमा गिलानी र राजकुमारीको अन्तरंग सम्बधबारे सबैलाई ज्ञात भयो । मन्त्रिमण्डलको बैठकै बसेर दुवैलाई रंगेहात समात्ने योजना बनाए । यसबीच, प्रेमी/प्रेमिका भागेर जालन्धर पुग्ने योजना बनाइरहेको थाहा पाएपछि राज्यको सीमामा सुरक्षाकर्मी तैनाथ गर्न लगाइयो । आफूहरूलाई समाउने योजना बनिसकेको थाहा नपाएका गिलानी र राजकुमारी गोविन्द कौर सुटुक्क बग्गीमा बसेर जालन्धरतर्फ रवाना भए । जब उनीहरू राज्यको सीमा पार गरी बाहिर के निस्केका मात्र थिए, त्यहाँ तैनाथ सुरक्षाकर्मीले बग्गीमाथि नियन्त्रण गरे र दुवै जनालाई समाते । त्यसपछि प्रधानमन्त्री गिलानीलाई देशबाटै निष्कासन गरिदिए भने राजकुमारीलाई दरबार फर्काए । उनलाई राजाको आदेशमा बाहिर निस्कन नपाउने गरी नजरबन्दमा राखियो । गिलानी र गोविन्दको गोप्य प्रेमको चर्चा जनआस्थाको २०६९ वैशाख ६ गतेको अंकमा प्रकाशन भइसकेको छ । 

गिलानी राज्यबाट निष्काशित र आफू दरबारमै नजरबन्दमा परेपछि केही समय राजकुमारीको जीवन पानीबिनाको माछासरह बन्यो । उनले यो अवधिमा पुरुषको स्पर्शसमेत पाइनन् । दुःखी जीवन व्यतित गरिन् । पछि जब उनीमाथिको निगरानी खुकुलो हुँदै गयो फेरि उनले आफ्नो चाला देखाउन थालिन् । पछिल्लो समय उनले सेनाका उच्च अधिकृत बरयाम सिंहलाई फसाउन सफल भइन् । बरयामका बाबु र बाजे पनि सेनामै कार्यरत रहेर राज्यको सेवा गरेका व्यक्ति थिए । एकदिन कर्नेल बरयाम सिंह दरबारमा तैनाथ सैनिक डफ्फाको निगरानी गर्न दरबार पसेका थिए ।

उनले गोविन्दलाई देखे र ‘फिदा’ भइहाले । गोविन्द त पहिलादेखि नै बरयामको गठिलो शरीरप्रति लोभिएकै थिइन् । बरयाम राजकुमारीलाई देखेपछि नै भेट्न आतुर बनिहाले । तर, त्यसबेला गोविन्दमाथि बाहिरका पुरुषसँग भेटघाट गर्न प्रतिबन्ध लागेको थियो । उनी बस्ने गरेको दरबारको द्वारमा कडा पहरा थियो । गोविन्दलाई बगैँचामा टहल्नसमेत नदिएको स्थिति थियो । गोविन्द जसरी भए पनि बरयामलाई भेट्न चाहन्थिन् । तर, उपाय सुझिराखेको थिएन । गोविन्दका धेरै दासी थिए । एक जना वसन्ती नाउँ गरेकी थिइन् । गोविन्दले उनैलाई प्रयोग गरिन् र बरयामको नाउँमा पत्र लेखेर उनको हातमा पठाइन् । पत्र पाएर बरयाम निकै खुशी भए । उनले पनि पत्रको जवाफ दिए । वसन्तीले उनीहरूको हल्काराको भूमिका निभाइन् । 

बरयाम राजकुमारीसँग जसरी पनि भेट्न चाहन्थे । यसका लागि उनले एउटा उपाय निकाले । दरबारभित्र एउटा कुवा थियो । उक्त कुवाको भित्तो नै दरबारको बाहिरी पर्खाल थियो । बरयामले दरबारको बाहिर एउटा मान्छे छिर्न मिल्ने प्वाल बनाए, जुन भित्रको कुवासम्म जान मिल्ने बाटो बन्यो । अब उनी सोही प्वालबाट भित्र छिरे र विस्तारै कुवाभित्र उत्रे ।

राजकुमारीले बरयाम आउने सूचना पाइसकेकी थिइन् । त्यसैले समयमै आफ्ना विश्वासपात्र दासीहरूलाई कुवा भएको स्थानतिर पठाइन् । दासीहरूले पितलको बाल्टिन बाँधेको डोरी कुवाभित्र झारिन् । बरयाम सोही डोरीको सहायताले माथि उक्ले । अनि दासीहरूले उनलाई लुसुक्क दरबारभित्र छिराए । बरयाम राजकुमारीको शयनकक्षमा घुसे । उनलाई राजकुमारी गोविन्दले न्यानो स्वागत गरिन् । भित्र सुनको जलप लगाएको पलङमा बनारसी जरीयुक्त तन्ना बिछ्याइएको थियो भने बुट्टा भरिएको तकिया । गोविन्दले प्रेमीको स्वागतमा चमेली र गुलाफको फूल छरिन् । अनि दुवै जना प्रेमालापमा डुबे । उनीहरूको यो कामुक खेल रातभर चल्यो । सबेर झिसमिसेमै बरयाम कोठाबाट निस्के, भित्र छिरेकै मार्गबाट बाहिर गए । दरबारबाहिर पुगेपछि सावधानीपूर्वक उनले भित्र छिर्न बनाइएको प्वाल इँटाले बन्द गरे अनि घरतर्फ लागे । अब यो क्रम नियमित बन्यो । दुवै जनाको इच्छामा जतिखेर मन लाग्यो त्यतिखेर भेट्न थाले । यो गोप्य भेटघाट यसरी नै २ वर्षसम्म चल्यो । 

एक दिन बरयाम र राजकुमारीको यो गोप्य प्रेम, राज्यका गृहमन्त्री सरदार दानिसमन्दले थाहा पाए । उनी र बरयामको शत्रुता पहिल्यैदेखि चल्दै आइरहेको थियो, त्यसैले दानिसमन्दले यसलाई बरयामसित बदला लिने सुवर्ण अवसरको रूपमा लिए । उनले दरबारको पर्खालवरिपरि प्रहरीको गस्ती गर्न लगाए । दानिसमन्दले चालेको चालबाट पूर्णतः अनभिज्ञ बरयाम सधैँझैं राजकुमारीलाई भेट्न राति त्यहाँ पुगे । गस्तीमा तैनाथ प्रहरीले उनलाई देखे र थानामा खबर गरे । थानाले दानिसमन्दलाई । सूचना मिल्नेबित्तिकै दानिसमन्द प्रहरी महानिरीक्षक र १२ जना प्रहरीको साथमा दरबार छिरे । भित्र पुगेर उनीहरूले बरयाम र राजकुमारीलाई रंगेहात समात्ने हेतुले ढोका ढकढक्याउन थाले । नखुलेपछि ढोका फोर्न थाले । बाहिर ढोका फोर्न थालेको आवाज सुनेर भित्र प्रेमालापमा लीन दुवै जनाको सातो गयो । दुवै जना पछाडिको चोरबाटो समातेर निस्के, यो चोर मार्ग सय गज लामो थियो । जुन मार्ग भएर राजकुमारी दैनिक कुवा भएको स्थानमा पुग्थिन् र नुहाउने गर्थिन् । पानी एकदम चिसो थियो, चिसोको परवाह नगरी दुवै जना रातभर त्यहीँ बसे र बिहान उज्यालो हुनुअगाडि कुवाको मार्ग भएर बाहिर निस्के । यता दानिसमन्द प्रहरीको सहायताले जबर्जस्ती कोठाभित्र पसे तर त्यहाँ बरयाम र राजकुमारी दुवै जनालाई भेटेनन् । रंगेहात समात्ने उद्देश्यले दरबार पसेका उनी निरास भएर फर्कन विवश बने । 

बरयाम र राजकुमारी पैदल हिँडेर २० मील टाढाको एउटा गाउँ पुगे । कल्याण नाउँको उक्त गाउँ सुल्तानपुरको सीमानजिक थियो अर्थात् उनीहरू कपुरथलाको सीमाबाहिर पुगिसकेका थिए । त्यो क्षेत्र कपुरथलाका प्रहरीको पहुँचभन्दा बाहिरको अंग्रेजहरूको इलाका थियो । खतरा त टर्‍यो तर खाने, बस्ने कुनै ठेगाना भएन । राजकुमारीले पाउने भत्ता पनि बन्द भइसक्यो, राति भागेकाले गहना बोक्नु त के शरीरमा पनि नाउँ मात्रको गहना थियो । खान, बस्नलाई भएको गहनाले केही दिन चल्यो । त्यो पनि सकेपछि खानलाई नै धौधौ पर्न शुरु भयो ।

उता, बरयामको परिवारले पनि उनीसितको नाता तोडिसकेका थिए । त्यसैले सम्पत्तिको एक अंश पनि उनले पाएनन् । दुवै जनाले आफैँले श्रम गरेर कल्याणमा एउटा सानो माटोको झुपडी बनाए र बस्न थाले । नजिकैको पर्ती जग्गामा खेतीपाती गरी पेट पाल्न थाले । बरयाम खेतमा हलो जोत्थे भने राजकुमारी जनावरको गोबर सोर्थिन्, त्यही गोबर सुकाएर चुलो बाल्थिन् । अतृप्त काम वासनाको कारण मिश्रका महारानी क्लियोपेट्रा र रुसकी साम्राज्ञी क्याथरिनसित तुलना गर्ने गरेकी राजकुमारी गोविन्द कौरको मृत्यु कहिले र कसरी भयो, भारतीय इतिहासकारहरू अनभिज्ञता जाहेर गर्छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू