वृद्ध प्रधानमन्त्रीको रंगीन दुनियाँ

वृद्ध प्रधानमन्त्रीको रंगीन दुनियाँ

भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूका स्वकीय सचिव एम. ओ. मथाइले आफ्नो पुस्तक ‘रेमिनिसिन्स अफ द नेहरु एज एन्ड माई डेज विथ नेहरु’ मा बनारसकी एउटी सन्यासिनी श्रद्धा मातासित उनको सम्बन्धबारे उजागर गरेका छन् । मथाइका अनुसार सन् १९४८ को शरद ऋतुमा श्रद्धा बनारसबाट दिल्ली पुगेकी थिइन् । उनलाई नेहरूकै सचिवालयका एक कर्मचारी एसडी उपाध्यायले नेहरूसित भेट्ने व्यवस्था मिलाइदिएका थिए ।

माता संस्कृतको विद्वान् थिइन्, शास्त्रमा पारंगत । युवा र सुडौल शरीरकी धनी अनि उत्तिकै सुन्दर पनि । उनको प्रवचन सुन्न दिल्लीमा सांसदहरू तँछाडमछाड गर्थे । उनले नेहरूसँग अन्तर्वार्ता लिएकी थिइन् । उनीहरूको भेटघाट मात्र १५ मीनेटको थियो तर युवती देखेपछि मन थाम्न नसक्ने नेहरूले त्यसपछि भने उनलाई बोलाएको बोलायै गर्न थाले । एक्कासि भेटघाट बाक्लिँदै गयो, कार्यालयको काम सकेपछि नेहरूले उनलाई निवासमा बोलाउन थाले । राति हुने यस्तो भेटघाट निकै दिनसम्म चल्यो । एकदिन श्रद्धाले नेहरूको नाउँमा एउटा चिठ्ठी पठाइन् । पत्र पढेर नेहरूले निकै दबाब महसुस गरे र तुरुन्तै निवासमा बोलाए । माता आइन् पनि तर अचानक भोलिपल्टदेखि गायब भइन् । 

सन् १९४९ को नोभेम्बरमा बैंगलोरको एउटा सन्न्यासी आश्रमबाट पत्रको मुठो बोकेर एक व्यक्ति प्रधानमन्त्री कार्यालय पुगे । ती पत्र नेहरूले श्रद्धामातालाई लेखेका थिए । ती व्यक्तिले भने– उत्तर भारतबाट एउटी युवती त्यहाँ पुगी केही महिनापछि बच्चा जन्माइन् । उनले आफ्नो नाउँ र आफूबारे भने बताउन मानिनन् । पछि जब स्वस्थ भइन् र बाहिर निस्कनलायक बनिन् बच्चालाई आश्रममै छाडेर बेपत्ता भइन् । जाँदा चिठ्ठीको मुठो लान बिर्सिइन् । नेहरूले ती युवती र बच्चाबारे वास्तविकता बुझ्न मान्छे खटाए । तर, निकै दिनको मिहिनेतपछि पनि सूचना संकलन गर्न उनीहरू असमर्थ रहे । मथाइका अनुसार यसपछि बल्ल, नेहरूले सन्तोषको सास फेरे । पत्रकार खुशवन्त सिंहले पनि नेहरू र माताको सबन्धबारे प्रकाश पारेका छन् । पहिलो भेटमै नेहरू आफ्नो सुन्दरतामा मोहित भएको, बिहे र लोग्नेबारे सोधिखोजी गरेको र आफू सन्यासिनी भएकोले प्रेमिका बन्न नसकिने जवाफ दिएको कुरो माता आफैंले बताएको उल्लेख गरेका छन् । सिंहले ‘न्यू दिल्ली’ पत्रिकाका लागि लिएको अन्तर्वार्तामा उल्लेख गरेका छन् । श्रद्धा माताको निधन सन् १९८७ मै भइसकेको छ तर मथाइ र खुशवन्त सिंहहरू उनले जन्माएको बच्चा नेहरूकै भएको ठोकुवा गर्छन् । 

अम्बालाल साराभाइ भारतका एक उद्योगपति हुन्, जो महात्मा गान्धीको अहिंसात्मक आन्दोलनबाट प्रभावित बनी स्वतन्त्रता संघर्षमा होमिएका थिए । अहमदाबादका उनले भारतभरि विभिन्न उद्योग र सामाजिक संस्था खोलेका थिए । मृदुला उनैकी छोरी हुन्, ८ सन्तानमध्येकी एक । धनाढ्य परिवारमा जन्मेकीले घरैमा व्यवस्था गरिदिएका अंग्रेज र भारतीय शिक्षकहरूबाट शिक्षाको अवसर पाइन् । सानैदेखि स्वभाव केटाको जस्तो थियो, पहिरन उस्तै, निकै साहसी पनि । बाबु स्वतन्त्रता संग्राममा लागेकै कारण सजिलै छुट पाइन् र १० वर्षकै उमेरमा तात्कालीन कंग्रेस पार्टीले खोलेको ‘बानर सेना’ मा लागिन् । उक्त संगठन संघर्षमा लागेका केटाकेटीहरूको थियो । 

सन् १९२२ मा गान्धीले विदेशी लुगा बहिष्कार गर्ने आन्दोलन चलाए, भर्खर ११ वर्षकी मृदुलाले बानर सेनाको सचिवको हैसियतमा गान्धीलाई ठूलो सहयोग पुर्‍याइन् । सन् १९३० मा ब्रिटिश सरकारले नुनमा कर लगाउन थालेपछि त्यसको विरोधमा गान्धीले सत्याग्रहको आन्दोलन चलाए, त्यसमा पनि सक्रिय बनिन् र जेल सजायँ भोगिन् । जसकारण भारतको इतिहासमा उनलाई एक साहसी र संघर्षशील स्वतन्त्रा सेनानीको रूपमा लिने गरिएको छ । सन् १९३० मा कंग्रेसको सदस्यता लिएकी उनलाई नेहरूले सन् १९४६ मा पार्टीको महामन्त्री बनाइदिए । महामन्त्री बन्दा मात्र ३५ वर्षकी थिइन् । नेतृत्वमा पुगेपछि पारिवारिक र अन्य कारण संघर्षमा होमिन नपाएका महिलाहरूलाई समेटेर ‘ज्योतिसंघ’ र ‘विकासगृह’ जस्ता संगठन बनाइदिइन् । महिलाको मौलिक अधिकार, गर्भपतन, सम्बन्ध विच्छेद, अवैध सन्तानजस्ता विषय उठाइन् । संघर्षमा लागेबापत तिहाड जेल पुगेकी उनलाई गान्धीले छोरीसरहको व्यवहार गर्थे । 

मृदुलाको कपाल केटाहरूको जस्तो छोटो हुन्थ्यो, पठान पुरुषले जस्तो लुगा लगाउँथिन्, मेक अप गर्दैन थिइन्, गहना कहिल्यै लगाइनन्, हाकाहाकी बोल्थिन् । नेहरू उनको यिनै स्वभावबाट प्रभावित बने । मृदुलाले आफ्नो आत्मकथा ‘दि भ्वाइस अफ हार्ट’ मा लेखेकी छन् ‘हाम्रो पहिलो भेट मद्रासमा भएको हो, जतिबेला उनी घरमा खाना खान आएका थिए ।’
शुरुमा मृदुला सरदार पटेललाई आफ्नो गुरु मान्थिन् तर जब नेहरूसितको उठबस बाक्लियो र ‘नेहरू ब्रिग्रेड’ मा लागेर पटेललाई तिरस्कार गर्न शुरु गरिन् । २२ वर्षको अन्तरका बावजुद नेहरूसँग सम्बन्ध गाढा बन्दै गएपछि पार्टीभित्र कानेखुशीको विषय बन्न पुग्यो । वरिष्ठ नेताहरूले चेतावनी पनि दिए तर दुवैको झुकावमा कुनै कमी आएन । बैठक र निर्णयमा एकले अर्कोलाई कहिल्यै विरोध गरेनन् ।

दुवै जनाले एकार्काकाको अन्ध समर्थन गर्थे । गान्धीका नाति जो पश्चिम बंगालको पूर्वराज्यपाल पनि हुन्, गोपालकृष्णले ‘हिन्दुस्तान टाइम्स’ मा एउटा लेख लेखेर (सन् २०१४ मार्च ८ को अंकमा) नेहरू र मृदुलाको गोप्य सम्बन्धबारे प्रकाश पारेका छन्् । उनी लेख्छन्, ‘मृदुलामा पुरुषत्व झल्किन्थ्यो, केटाहरूले लगाउने पोशाक, केटाहरूकै जस्तो छोटोछोटो कपालले गर्दा उनमा एउटा विशेष आकर्षण थियो । यसमा कुनै शंका थिएन कि पण्डित नेहरू र काश्मिरी नेता शेख अब्दुल्लाह दुवै मृदुलाप्रति झुकाव राख्थे । नेहरू र मृदुलाको सम्बन्धमा त एकखालको कोमलता थियो । यहाँसम्म कि नेहरूले दिल्लीस्थित आफ्नो निवासबाट प्रत्येक दिन एउटा गुलाफको फूल मृदुलाको घरमा पठाउने व्यवस्था मिलाएका थिए । 

एमओ मथाइले पनि आफ्नो पुस्तक ‘रेमिनिसिन्स अफ द नेहरु एज एन्ड माई डेज विथ नेहरु’मा दुवैको सम्बन्धबारे खुलस्त लेखेका छन् । जबजब नेहरू दिल्लीबाट बाहिर जान्थे, त्यहाँका मुख्यमन्त्री र सचिवलाई पत्र लेखेरै सुरक्षा प्रवन्ध मिलाउन मृदुलाले कडा निर्देशन दिन्थिन् । पुस्तकको पृष्ठ १८३ मा मथाइले लेखेका छन्, ‘प्रधानमन्त्रीको भ्रमणमा सुरक्षा प्रवन्ध र चुस्त भोजनका लागि मृदुलाले निर्देशन दिने गरेको थाहा पाएपछि मैले सबै मुख्यमन्त्री र मुख्यसचिवलाई सर्कुलर नै पठाएर उनले दिने गरेको निर्देशन अवैध भएकाले आदेशको पालना नगर्न भन्नु परेको थियो ।

यसपछि बल्ल उनी सतर्क भएकी थिइन् । मृदुला नेहरूप्रति धेरै संवेदनशील त थिइन् नै, उता नेहरू पनि आफ्ना विरोधीहरूलाई ठेगान लगाउन मृदुलालाई नै प्रयोग गर्थे । उनका लागि मृदुला त्यस्तो राजनीतिक क्षेप्यास्त्र थिइन्, जो आफ्नो दुनो सोझ्याउन शत्रुमाथि प्रहार हुन्थ्यो । मृदुलाले पनि नेहरूलाई लाभ हुने गरी सरदार पटेल र आचार्य कृपालानीविरुद्ध महात्मा गान्धीलाई उचाल्थिन् । सरदार पटेलले मृदुलाको उक्साहटमा आफूविरुद्ध नलाग्न गान्धीलाई चेतावनीसमेत दिएको गान्धीका अर्का नाति राजमोहनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । आचार्य कृपालानीले पनि लेखेका छन्– मृदुलाले नेहरूको शत्रुलाई आफ्नो पनि शत्रु ठाने गर्थिन् र सोहीअनुरूप व्यवहार गर्थिन् । 

मृदुला र नेहरूको सम्बन्ध सन् १९५२ तिर बिग्रन शुरु भयो, जब उनी शेख अब्दुल्लाहसँग नजिकिन थालिन् । यहाँसम्म कि उनले काश्मिरलाई भारतबाट अलग्याउने अब्दुल्लाहको प्रस्तावको समर्थन गरेपछि जेलसमेत बस्नुप¥यो । स्वतन्त्रताको लडाइँमा अहंम भूमिका निभाएरै पनि स्वतन्त्रतापश्चात कुनै पनि पदमा नगएका उनको निधन सन् १९७४ मा भयो । उनी आजीवन अविवाहित रहिन् । नेहरूलाई एडविना माउन्टबेटन, ज्याकलिन केनेडी, अमृता शेरगिल, पद्मजा नायडु, मृदुला साराभाइ, श्रद्धा माताबाहेक अर्की एउटी महिलासित पनि जोड्ने गरिन्छ, ती हुन्– दिनेश नन्दिनी डालमिया । नन्दिनी प्रसिद्ध उद्योगपति रामकृष्णकी पत्नी हुन् । उनीहरूकी छोरी निलिमाका अनुसार त्यसबखत नन्दिनी कविता लेख्थिन् र अविवाहित थिइन् । उनी नेहरूको प्रेममा यति धेरै पागल भइन् कि नेहरूलाई भेट्न एक्लै नागपुरबाट दिल्ली पुगेकी थिइन् । उनले सिधै प्रेम प्रस्ताव राख्दै नेहरूका लागि परिवार त्याग्नसमेत तयार भएको जानकारी दिएकी थिइन् । तर, नेहरूले प्रस्ताव मानेनन् । यस अर्थमा, नन्दिनीको प्रेम एकतर्फी थियो कि भन्ने आशंका निलिमाको छ । 

त्यसो त एडविना मात्र होइन, तत्कालीन भाइसराय लर्ड वाभेलकी पत्नी लेडी युगिनीले पनि नेहरूलाई एकतर्फी प्रेम गरेकी थिइन् । उमेरमा जेठी र रूप पनि खासै राम्री नभएकीले नेहरूले पनि खासै ध्यान दिएनन् । वाभेल सन् १९४४ देखि १९४७ सम्म भारतको लागि ब्रिटिश भाइसराय थिए । उनको गतिविधि भारत स्वतन्त्रताको पक्षमा देखिएकाले तात्कालीन प्रधानमन्त्री क्लिमेन्ट एटलीले सो स्थानमा माउन्टबेटनलाई नियुक्त गरेका थिए । एडविना उनै माउन्टबेटनकी पत्नी हुन् । 

फोटोः नेहरू र मृदुला

टिप्पणीहरू