पत्नी बनाएको ४० घण्टामै प्राणान्त

पत्नी बनाएको ४० घण्टामै प्राणान्त
सुन्नुहोस्

एडोल्फ हिटलरको नाउँ लिनेबित्तिकै संसारले एक जना खुंखार तानाशाहलाई सम्झन्छ, जसको कारण दोश्रो विश्वयुद्ध भयो र करिब ७ करोड ५० लाख मानिसको ज्यान गयो । यसमा २ करोड सैनिक र बाँकी सर्वसाधारण थिए । सबैभन्दा बढी रुसीहरू मारिए, जसमा पुगनपुग १ करोड सैनिक र २ करोड ४० लाख सर्वसाधारण थिए । हिटलरको मुलुक जर्मनीकै पनि ५५ लाख सैनिक र ८८ लाखजति गैरसैनिक नागरिक मारिए । जर्मन सैनिक प्रत्यक्ष जिम्मेवार हुनेगरी १ करोड १० लाख मानिस मारिएमध्ये ६० लाख त यहुदीहरू नै थिए । जर्मनीको समर्थनसहित युद्धमा होमिएको जापानले पनि १९ लाख ७२ लाख सैनिक र नागरिकको ज्यान गुमायो । 

यसको अर्थ यो होइन कि उनले कसैसित प्रेम नै गरेनन्, युद्ध मात्र गरेर विध्वंस मच्चाए । इभा ब्राउन, युनिटी मिट्फोर्ड, मारिया राइटर, विन्फ्रेड वाग्नर, गेली राउबल, मार्था डोड, लेनी रिफेन्स्ताहल, स्टेफनी राबाट्स्च, सार्लोट लाब्जोइ, इर्ना हान्सफास्तान्जेललगायत दर्जनौं युवतीसित प्रेम गरे अनि सम्बन्ध जोडे । यसबाहेक उनले दयालुपन देखाएको अर्को भाग्यमानी थियो– ब्लोन्डी । जर्मनसेफर्ड जातको कुकुर । जसले आफ्नो मालिकसंगै मृत्युवरण गर्ने सौभाग्य पायो । युद्धको अन्तिम समयमा जब हिटलर प्रेमिका इभा ब्राउन र विश्वासपात्र नाजी नेता तथा सैनिक अधिकृतहरूसंगै बंकरमा लुक्न गए, ब्लोन्डी पनि सँगै थियो । हिटलरले प्रेमिकाहरूसँग भन्दा बढी रात उसैसित बिताए । उसलाई हिटलरले सन् १९४१ देखि पाल्न थालेका हुन् । यो कुकुर उनलाई निजी सचिव मार्टिन बोर्मनले ल्याइदिएका थिए । हिटलर ब्लोन्डीलाई अत्यन्त माया गर्थे, स्याहारसुसारमा ध्यान दिन्थे, ओछ्यानमा सँगै सुताउँथे । फुर्सद मिल्नेबित्तिकै ऊसित खेल्थे । उनले ब्लोन्डीसँग धेरै फोटा खिचाएका छन् । ब्लोन्डीकै कारण हिटलर पशुप्रेमीको रूपमा छवि बनाउन एकहदसम्म सफल पनि भए । 

सेप्टेम्बर १, १९३९ मा शुरु भएको युद्ध सन् १९४५ सम्म आइपुग्दानपुग्दै जर्मनी नियन्त्रित क्षेत्र ३३ लाख वर्ग किलोमिटरसम्म फैलिएको थियो अर्थात् युरोपेली मुलुक पोल्याण्ड, नर्वे, डेनमार्क, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, लक्जम्बर्ग, युगोस्लाभिया, ग्रीसलगायत अन्य केही युरोपेली र अफ्रिकी मुलुकमाथि उसले नियन्त्रण कायम गरिसकेको थियो । उसले २२ वटा मुलुकमाथि सैन्य आक्रमण गरेर प्रायः सबैलाई हरायो । तर, सन् १९४४ को डेसेम्बर १६ मा आइपुग्दानपुग्दै मित्रराष्ट्रको सेनाले एकपछि अर्को सफलता हासिल गर्न थाल्यो । सन् १९४५ को जनवरी १६ मा हिटलर राजधानी बर्लिनस्थित आफ्नो मुख्यालय परिसरभित्र बनाइएको बंकरमा लुक्ने निर्णयमा पुगे । यो बंकर जमिनभन्दा ५० फुट तल बनाइएको थियो । अब हिटलर त्यहीँ बसेर रणनीति बनाउन र सेनालाई निर्देशन दिन थाले । दिनमा ३–४ घण्टा मात्र सुत्थे । रातभरि काम गर्थे र बिहानको ५ बजे सुत्न जान्थे । कहिलेकाहीँ ब्लोन्डीलाई कसरत गराउन बगैंचामा लान्थे । 

रुसी सैनिक बर्लिन छिरिसकेका थिए र लगातार आक्रमण गर्दै थिए । त्यसबेलासम्म बर्लिनका अधिकांश भवन भग्नावशेषमा परिणत भइसकेको थियो । हिटलर बंकरभित्रै बसेर बाहिर बमबारी भइरहेको आवाज सुनी बस्थे । यसबीच २८ अप्रिलमा जर्मनी र हिटलरलाई साथ दिँदै आएका इटलीका फासिस्ट नेता बेनितो मुसोलिनी मारिएको खबर पाए । साथसाथै बंकर बाहिर रुसी सेना ओहोरदोहोर गरेको आवाज नजिकैबाट सुने । यसपछि भने मनस्थिति पूर्णतः गिर्‍यो । उनले मनमनै पराजय स्वीकारे । तर, पराजय स्वीकारेर रुसी सेनासमक्ष आत्मसमर्पण गर्न चाहँदैनथे, न युद्धको समाप्तिपछि संग्रहालयमा सजिने ‘वस्तु’ नै बन्न चाहन्थे । यहाँसम्म कि जस्तोसुकै परिस्थितिको सामना गर्नु परे पनि बर्लिन छाडेर जान चाहन्नथे । बरु केही सीप नलागेमा आत्महत्या गर्ने सोच पहिल्यै बनाएका थिए । त्यसैले बंकरमा आफूलाई साथ दिइरहेकी प्रेमिका इभालाई बर्लिन छाडेर जान सल्लाह दिए, तर इभाले त्यसो गर्न जान मानिनन् । 

पराजय निश्चित भइसकेपछि बंकरभित्र बसेका सबैले साइनाइड खाएर सामुहिक आत्महत्या गर्ने सोच थियो । साइनाइड ल्याउने काम नाजी नेता हेनरिख हिमलरले गरेका थिए । तर, हिटलरलाई साइनाइडको प्रभावकारितामाथि शंका थियो । त्यसैले २९ अप्रिलको दिउँसो त्यसको परीक्षण गर्ने सोच बनाए । तर परीक्षण कसमाथि गर्ने ? भित्र रहेका सबैजसो उनका हितैषी र नाजी पार्टीलाई त्यहाँसम्म ल्याइपुर्‍याउनमा महत्वपूर्ण भूमिका खेल्नेहरू नै थिए । धेरै बेर सोचिसकेपछि हिटलर सो विषको परीक्षण आफ्नो प्यारो कुकुर ब्लोन्डीमाथि गर्ने निर्णयमा पुगे । आफ्नै सन्तानजसरी पालेको ब्लोन्डीलाई उनी कुनै हालतमा मार्न चाहन्नथे । त्यसमाथि केही दिनअगाडि मात्र उसले ५ वटा बच्चा जन्माएकी थिई । इभाले तिनीहरूको नाउँ पनि राखिसकेकी थिइन् बेला, ब्लोन्डा, उल्फ, उल्फी र स्टासी । इभाले एउटा बच्चा आफ्नी बहिनी ग्रेटललाई दिने भनिसकेकी थिइन् । 

स्वभावतः सुत्केरी ब्लोन्डीमाथिको सहानुभूति झन बढ्यो । उनी जति कठोर हृदयको भए पनि ब्लोन्डीलाई मार्ने कठोर कदम चाल्न एकदमै चाहन्नथे । तर, आफ्नो मृत्युमा ब्लोन्डीले शोक मनाउन नपरोस् र ऊ शत्रुको हातमा नपरोस् भन्ने पनि चाहन्थे । त्यसैले आफूले गर्न गइरहेको आत्महत्याअगाडि ब्लोन्डी मरोस् भन्ने चाहे । आफू मर्नुअगाडि त्यही साइनाइड ख्वाएर इभालाई मार्ने र पछि आफू मर्ने सोच उनको थियो । तसर्थ, साइनाइडको परीक्षण जरुरी थियो । हिटलरले ब्लोन्डीलाई साइनाइड खुवाउन निजी चिकित्सक वार्नर हेसलाई आदेश दिए । तर, उनले यो दृष्य हेर्ने हिम्मत गर्न सकेनन् । पिठ्युँ फर्काएर उभिइरहे । साइनाइडले काम ग¥यो । ब्लोन्डीको तत्काल मृत्यु भयो । गहभरि आँशु पारेर उनले ब्लोन्डीका स–साना ५ वटा छाउरालाई पनि मार्ने आदेश दिए । त्यसपछि उनैको आदेशानुसार ६ वटै कुकुरलाई बाकसमा राखेर बंकर बाहिरको बगैंचामा लगियो । त्यसबेलासम्म ५ वटै कुकुर आमाको दूध चुस्दै थिए । सैनिकले गोली हानेर सबैलाई मारे । र, त्यहीँ खाल्डो खनेर पुरिदिए । 

त्यसै रात हिटलरले इभासित बिहे गरे । १३ वर्ष अनवरत प्रेम गरेकी इभा त्यो रात हिटलरको पत्नी बनिन् । त्यस बखत उनी ३३ वर्षकी थिइन् भने हिटलरको उमेर ५६ थियो । त्यो रात दुवै पहिलो पटक एउटै कोठामा सुते । नत्र अलग्ग कोठामा सुत्थे । यद्यपि दुवैको कोठा र बाथरुमबीच एउटा साझा बाटो (प्यासेज) थियो । जहाँ मन लागेको बेला दुवैको भेट हुन्थ्यो र कफी पिएर गफ गर्थे । बिहे गरेको ४० घण्टा नपुग्दै इभाले साइनाइड खाएर र हिटलरले आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरे । आत्महत्या गरेको तेश्रो दिन मे २ मा रुसी सेनाले बर्लिनमाथि पूर्णतः कब्जा जमायो र चान्सलरी भवनमाथि आफ्नो हँसिया हथौडा अंकित रातो झण्डा गाड्यो । (इभासितको बिहे र आत्महत्यासम्बन्धी लेख जनआस्थाको २०७८ जेठ २६, असार २ र असार ९ गतेको अंकमा प्रकाशित भइसकेको छ ।)

हिटलर कुकुरलाई मानवजत्तिकै बुद्धिमान प्राणी मान्दथे । उनी कुकुरको छुट्टै सेना बनाउने तयारीमा थिए, त्यस्ता कुकुर जसले मानिससरह बोल्न र सुन्न सकुन् । युद्ध जित्नमा यिनीहरूले सहायता गरुन् । जासुसी काममा पनि खटियुन् । उनी मान्दथे, शत्रुको खेमाभित्र पसेर जानकारी हासिल गर्ने काममा मानवले भन्दा कुकुरले सफलता हासिल गर्न सम्भव छ । कुकुरको फौज तयार गर्न सके दुनियाँको कुनै तागतले हराउन नसक्नेमा उनी ढुक्क थिए । कुकुरलाई बोल्न लगाउन सकिन्छ कि सकिन्न भन्ने परीक्षण गर्न वैज्ञानिक र पशु विशेषज्ञहरूलाई आदेशसमेत दिइसकेका थिए । र, मान्छेको भाषा बोल्न सिकाउने स्कूलसमेत खोल्ने तयारीमा थिए । यद्यपि, इतिहासकारहरूले हिटलरको यो कार्यलाई ‘उट्पट्याङ’ को संज्ञा दिएका थिए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू