साहुजीको ज्यादतीविरुद्ध पत्रकारहरु सडकमा

साहुजीको ज्यादतीविरुद्ध पत्रकारहरु सडकमा

श्रमजीवी पत्रकार हकहितको माग गर्दै राजधानीमा सडक आन्दोलन गरिने भएको छ । मिडिया सञ्चालकहरुले विभिन्न बहानामा पत्रकारहरुलाई निकाल्न थालेको र न्यूनतम पारिश्रमिकसमेत नदिएको विरोधमा श्रमजीवी पत्रकार संघले आन्दोलनको घोषणा गरेको हो । 

संघका अध्यक्ष जन्मदैव जैसीले दुई साताभित्र नयाँ पारिश्रमिक कार्यान्वयनमा नआए चरणबद्ध आन्दोलनमा जाने बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई यसविषयमा ध्यानाकर्षण पत्र बुझाइसकेको जानकारी दिँदै उनले भने,‘न्यूनतम पारिश्रमिक निर्धारण समितिले पुनरावलोकन गरेर सिफारिस गरेको पारिश्रमिक दुई साताभित्र कार्यान्वयनमा नआए हामी सडक आन्दोलन गर्छौं । श्रमजीवी पत्रकारहरुले न्यूनतम तलबसमेत पाउन सकेको अवस्था छैन ।’

श्रमजीवीहरुको पारिश्रमिक प्रत्येक दुई वर्षमा वृद्धि गर्ने परम्परा भए पनि पाँच वर्षदेखि पारिश्रमिक पुनरावलोकन हुन नसकेको संघले जनाएको छ । त्यस्तै, गत वर्षको फागुन १९ गते बुझाइएको ९ बुँदे अधिकारपत्रसमेत कार्यान्वयन नभएको संघको भनाइ छ । 

‘गत २०७५ कार्तिक १ गते श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २४,३७५ रुपैयाँ तोकिएको थियो । त्यसपछि यो मितिसम्म आइपुग्दा श्रमजीवी पत्रकार कर्मचारी तथा कामदारको तलब पुनरावलोकन नभएको झण्डै पाँच वर्ष बितेको छ । यसबीचमा नेपाल सरकारको अंग न्यूनतम पारिश्रमिक निर्धारण समितिले २०७८ फागुन १८ गते र २०८० जेठमा गरी दुईपटक तहगत न्यूनतम पारिश्रमिक सिफारिस गरिसकेको छ तरपनि पारिश्रमिक कार्यान्वयन भएको छैन्’, ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
 

टिप्पणीहरू