धर्मको नाममा मुक्तिनाथमै लुटिन्छ धमाधम
मुस्ताङस्थित विश्वप्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर रेखदेख गर्न बसेका लामा र आनीहरूले नै चरम ब्रह्मलुट मच्चाएको पाइएको छ । हिन्दु र बौद्ध धर्मावलम्बीले श्रद्धा एवं आस्थासाथ पूजाआजा गर्दै आएको मन्दिरको देवतालाई चढाइने भेटी, गरगहना प्रमुख लामा र आनीहरूले आफ्नो व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको खुलेको हो ।
समितिको अध्यक्षमा प्रमुख जिल्ला अधिकारी अनुप केसी छन् । स्थानीय हिराबहादुर ठकुरी प्रमुख लामा छन् भने उप्पल ठकुरी मन्दिरको प्रमुख झुमा हुन् । मुक्तिनाथमा बर्सेनि लाखौं स्वदेशी तथा विदेशी पर्यटक दर्शनका लागि पुग्ने गरेका छन् । प्राचीनकालदेखि नै विशेष महत्व बोकेको मन्दिर आन्तरिक तथा विदेशी पर्यटकका लागि भ्रमणको प्रमुख गन्तव्यस्थल हो । गत वर्ष मात्रै त्यहाँ पाँच करोड रूपैयाँभन्दा बढी भेटी संकलन भएको थियो । मन्दिरबाहिर रहेको दानपेटिकाबाट मात्रै गत वर्ष यति भेटी उठेको हो । यो वर्षको हालसम्म २८ लाख रूपैयाँ भेटी सङ्कलन भएको प्रशासनले जनाएको छ ।
देवतालाई चढाइने र मन्दिरभित्र रहेको दानपेटिकामा उठ्ने रकमको भने कुनै हिसाबकिताब नै छैन । त्यो पैसामा मन्दिरको प्रमुख लामा र आनीहरूले कब्जा जमाएका छन् । ‘बाहिर रहेको दानपेटिकामा चढाइएको रकम जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, सुरक्षा निकाय, समितिका पदाधिकारी, मन्दिरमा कार्यरत आनी–झुमाहरूको रोहबरमा गणना गर्ने गरिएको छ । तर, भित्र कति उठ्छ ? त्यो पैसा के गरिन्छ ? कुनै जानकारी छैन् । बाहिरको मात्र पैसा देखिएको छ’, स्रोतले भन्यो ।
पाँच वटा दानपेटिका र रसिद काटेर उठाएको रकम मात्रै कोषमा जाने गरेको छ । मूर्तिमा चढाइने भेटी र भित्री दानपेटिकामा उठ्ने रकम कोषमा ल्याउनका लागि पटक–पटक पहल गर्दा पनि सफल हुन नसकेको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी केसीले बताए ।
उनका अनुसार साउन १८ गते पनि यो विषयमा छलफल गरिएको थियो छलफल कुनै निश्कर्षबिना टुंगिएको छ । गाविस स्तरका पदाधिकारी अझै पनि समितिमा रहँदा बैठक बस्नसमेत महाभारत परेको उनको गुनासो छ । ‘अहिलेसम्म एउटा पनि बैठक भएको रहेनछ । म आएपछि बल्लतल्ल बैठक राखेँ । मूर्तिमा चढाइने पैसा पनि कोषमा जानुपर्ने भन्दै बारम्बार ताकेता गरिसकेका छौं । अब फेरि बैठक राख्छौं । मन्दिरको पैसा त्यसरी आफूसँगै राख्नु गैरकानुनी हो । मूर्तिमा चढाइने पैसा बाहिरभन्दा धेरै हुन्छ, त्यो के गरिन्छ कुनै जानकारी छैन’, उनले भने ।
अदालतको आदेश बर्खिलाप
समितिका पदाधिकारीहरूले अदालतको आदेश नै धोती लगाइदिएका छन् । मन्दिरमा व्यापक अनियमितता भएको भन्दै अधिवक्ता बलराम शर्माले २०६९ सालमा रिट निवेदन हालेका थिए । तत्कालीन प्रमुख जिल्ला अधिकारी विकास अधिकारीलगायतविरुद्ध दायर गरिएको रिट नम्बर ०६९–डब्लुओ–००२० र निवेदन नम्बर ४९ रहेको छ ।
त्यस्तै, सो रकम पूर्वाधार विकासमा समेत खर्च नगरी व्यक्तिगत प्रयोग गरिएको अभियोग–पत्रमा उल्लेख छ । यता, प्रमुख लामा र प्रमुख झुमाले उक्त निवेदन नै खारेज गर्नुपर्ने भनी लिखित जवाफ दिएका थिए । पुनरावेदन अदालत, बागलुङका तत्कालीन कायममुकायम न्यायाधीश शारदाप्रसाद घिमिरे र न्यायाधीश लेखनाथ घिमिरेको संयुक्त इजलाशले २०७० असार १७ गते सो रिटमाथि फैसला सुनाएको छ ।
‘मुक्तिनाथ मन्दिरमा चढ्ने तथा चढाइने भेटी गरगहनालगायतका सम्पत्ति दुरूपयोग नहुने गरी पारदर्शी रूपमा कोषमा समावेश गराई दुरुस्त प्रत्येक ३–३ महिनामा सार्वजनिक गर्ने तथा समग्र मन्दिर परिसरको पूर्वाधारको विकासलगायत तीर्थयात्रीको अधिकतम सुविधाको लागि आवश्यक अन्य काम गरी समितिको विधानले निर्धारण गरेको लक्ष्य प्राप्त गर्न तथा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको धार्मिक आस्थाको केन्द्रको रूपमा विकास गर्न अझ प्रभावकारी रूपमा आवश्यक कार्य गर्नु–गराउनु भनी विपक्षीहरूका नाऊँमा परमादेशको आदेश जारी हुने ठहर्छ’, आदेशमा उल्लेख छ । तर, अहिले पनि मूर्तिमा चढाइने र भित्री दानपेटिकामा उठ्ने रकम प्रमुख लामा र आनीहरूले राख्दै आएका छन् ।
त्यो हाम्रो अधिकारको कुरा होः प्रमुख लामा ठकुरी
मूर्तिमा चढाइएको भेटी पहिल्यैदेखि आनीहरूले राख्ने गरेको प्रमुख लामा ठकुरीले बताए । परम्परादेखि नै सो प्रचलन भएकाले त्यो रकम कोषलाई दिन नसकिने उनको भनाइ छ । उनका अनुसार त्यही रकमबाट आनीहरूको व्यक्तिगत खर्च परिपूर्ति गर्दै आइएको छ । त्यस्तै, मन्दिर व्यवस्थापनका लागि कोषबाट अहिलेसम्म एक पैसा पनि नलिएको उनको दाबी छ । टीका लगाएर पाएको पैसा पुजारी आफैंले राख्ने गरेको र मूर्तिमा चढाइने भेटी आनीहरूले उठाउने गरेको उनले जानकारी दिए ।
आफ्नो बुवा–बाजेको पालादेखि नै मूर्तिमा चढाइएको रकम मन्दिरका प्रमुख लामा र आनीहरूका लागि खर्च गरिँदै आएको उनको जिकिर छ । ‘म २०५६ सालदेखि यहाँको प्रमुख लामा छु । मेरो बाबु–बाजेको पालादेखि नै यो चलन थियो । पहिले धेरै भक्तजन आउँदैनथें । थोरै रकम हुन्थ्यो । अहिले अब भक्तजन आउन थाले अनि विवाद शुरु गरियो । यत्रो आनीको खान–लाउन व्यवस्थापन गर्नुप¥यो । तहीमाथि पनि यहाँको व्यवस्थापनका लागि हामीले कोषबाट एक रूपैयाँ लिएका छैनौं । मूर्तिमा चढाइएको भेटीमा हाम्रो हकअधिकार लाग्छ, त्यसैले समितिलाई दिन सकिँदैन’, उनले भने । हाल मन्दिरमा ५० जना बढी आनी छन् ।
भद्रगोल अवस्थामा मन्दिर
वैदिककालदेखि नै महत्व बोकेको मन्दिरमा वार्षिक लाखौं पर्यटक दर्शन गर्न आउँछन् । तर, मन्दिरको अवस्था भने लथालिंग छ । पहिलो त सडक संरचनाले नै पर्यटकलाई दिक्क बनाउने गरेको छ । मन्दिरको संरक्षण र प्रवद्र्धनमा पनि खासै चासो दिएको पाइँदैन । दुर्गम जिल्लामा रहेको मुक्तिनाथ मन्दिर बर्खाको बेला सुनसान हुन्छ । सडक सुविधा नभएकाले पर्यटकहरू बर्खायाममा मन्दिर दर्शनका लागि जाँदैनन् । त्यस्तै, मन्दिरभित्रको अवस्था पनि नाजुक छ । सरसफाइ, रङ्गरोगन, आवश्यक पूर्वाधार निर्माणलगायतका विषयमा समिति र रेखदेख गर्नेहरू मौन छन् ।
टिप्पणीहरू