कोशी सरकारविरुद्धको रिट तीनजना न्यायाधीशको इजलासमा

कोशी सरकारविरुद्धको रिट तीनजना न्यायाधीशको इजलासमा
सुन्नुहोस्

कोशी प्रदेश सरकारविरुद्ध परेको रिटउपर सर्वाेच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ तोकिएको छ ।  

न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सो रिटमाथि आजबाट निरन्तर सुनुवाइ हुन लागेको हो । 

मुख्यमन्त्री उद्धव थापाले प्रदेशससभाबाट विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका कांग्रेस सांसद इस्राइल मन्सुरीको समेत विश्वासको मत लिएकाले उक्त कार्य असंवैधानिक रहेको जिकिरसहित एमालेका नेता हिक्मत कार्कीले सर्वाेच्चमा रिट दिएका हुन् । 

उक्त रिटमाथि पूर्ण इजलासमा सुनुवाइ गर्न हिजो सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासबाट आदेश भएको थियो । आदेशमा  मुद्दाको विषयवस्तु गम्भीर भएको ठहरसमेत गरिएको छ ।

भदौ ७ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले सरकारलाई दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो । गत बिहीबार न्यायाधीश खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिए पनि सुनुवाइ भएको थिएन । आफूले हेरिसकेको मुद्दा पुनः नहेर्ने खतिवडाको निर्णयले स्थगित भएको सुनुवाई हिजो भएको हो । 

प्रदेश सरकारविरुद्ध यसअघि पनि एमालेले सर्वोच्चमा रिट हालेको थियो । तत्कालीन सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर बहुमत जुटाई मुख्यमन्त्री बनेका थापाको सरकार अदालतकै आदेशले ढलेको थियो । त्यतिबेला अदालतले विश्वासको मत लिने प्रयोजनमा बराबर मत भएको अवस्थामा बाहेक सभामुख सो प्रक्रियामा सहभागी हुन नपाउने व्याख्या गरिदिएको थियो । 

तर, सभामुख गौतमलाई राजीनामा गराएर बहुमतको सरकार बनाएका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा जेष्ठ सदस्यको हैसियतमा सभा सञ्चालन गरिरहेका कांग्रेस सांसदको पनि मत लिएपछि यो विषय पुनः अदालतमा पुगेको हो ।
 

टिप्पणीहरू