चेपाङ समुदायको राष्ट्रिय पर्व ‘न्वागी’ धादिङमा सामूहिक रुपमा मनाइँदै
आज चेपाङ समुदायले न्वागी (छोनाम) पर्व मनाइरहेका छन् । मुलुकका सीमान्तकृत समुदायको आजदेखि नयाँ वर्ष प्रारम्भ हुन्छ । न्वागी चेपाङ अर्थात प्रजा समुदायको राष्ट्रिय पर्व हो ।
बागमती प्रदेश सरकारले न्वागीको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ । प्रदेशको चितवन, मकवानपुर र धादिङमा सीमान्तकृत चेपाङ जातिको बसोबास रहेकाले त्यहाँ बिदा दिइएको हो ।
यो पर्व निकै रमाइलो र चाखलाग्दो छ । पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वको रुपमा परिचित न्वागीमा चेपाङ समुदायले मूल झाँक्रीको घरमा जम्मा भएर झाँक्री फलाक्ने गर्दछन् । न्वागी पर्वमा घैया धान, निबुवा, घिरौंला, कन्दमूल र तरकारी पितृलाई चढाएर भूमिको पूजा गर्ने प्रचलन छ ।
नयाँ बाली पाकेपछि पितृलाई नचढाई खाँदा पितृ रिसाउने र अनिष्ट हुने जनविश्वास रहेकाले झाँक्रीहरुले फलाकेर पितृलाई चढाउँछन् । अन्न फलाउने भूमिलाई धन्यवाद दिने चलन रहेको झाँक्री राजकुमार चेपाङले बताए । उक्त समुदायले आफ्नो प्रमुख चाडको रुपमा हरेक वर्षको भदौ २२ गते न्वागी मनाउने गर्दछन् । झाँक्रीहरुले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउने गरेका छन् ।
नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङ नयाँ अन्नबाली पितृलाई नचढाईकन खाएमा अशुभ हुने बताउँछन् । रातभर सिमेभुमे फलाकेर मात्रै नयाँ अन्न खान मिल्ने परम्परा छ । चेपाङ समुदायले आज आफ्ना छरछिमेकी बोलाएर भोज खुवाउने, नाचगान गर्ने र सुःखदुःख साट्ने गर्दछन् ।
ठाउँ र कूलअनुसार न्वागी मनाउने चलन फरक छ । कतिपय चेपाङले न्वागीलाई ‘पान्देई घ्यासा’ पनि भन्छन् । उनीहरुले एकापसमा टिका लगाएर आशिर्वाद थाप्ने गर्दछन् । न्वागीलाई चेपाङहरुले वारनाको रुपमा मनाउने संघका केन्द्रीय सचिव एवम् धादिङको गजुरी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुरेन्द्र चेपाङले बताए ।
बारनामा कोही पनि काममा जाँदैनन् । चेपाङ समुदायले भदौ २२ गते न्वागी मनाउने भएपनि भदौ लागेदेखि नै फलाक्न शुरु गर्छन् । कुल र भूगोलअनुसार स–साना समूहमा झाँक्री फलाक्ने र न्वागी मनाउने चलन छ ।
चेपाङ जातिलाई प्रकृति पूजकको रुपमा चिनिन्छ । उनीहरु सिमेभुमेलाई बुझाएर मात्रै पाकेको अन्नबाली खान्छन् । जल, जंगल र जमिन चेपाङ जातिको जीविकोपार्जनको स्रोत हो । जमिनमा खोरिया खनेर, जंगलमा सिकार खेलेर र नदी खोल्सामा माछा मारेर उनीहरुले जीविकोपार्जन गर्दै आएका छन् ।
आज सार्वजनिक बिदा
संघले चेपाङहरुको बाहुल्यता रहेको जिल्लामा न्वागी मनाउँदै आएको छ । पालैपालो चितवन, धादिङ र मकवानपुरमा न्वागी मनाइन्छ । यो वर्ष धादिङमा सामूहिक रुपमा न्वागी पर्व मनाउन लागिएको हो ।
सरकारले सोही अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ । न्वागी मनाउन चितवन, मकवानपुर, गोरखालगायत जिल्लामा बसोबास गर्दै आएका चेपाङ जातिहरु हिजै धादिङमा भेला भइसकेका छन् ।
सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । उनीहरु महाभारत पर्वत श्रृङ्खला वरिपरिको रैथाने बासिन्दा मानिन्छन् । मकवानपुरको पश्चिम, चितवनको उत्तर र धादिङको दक्षिणी भेगमा चेपाङहरूको घना बसोबास छ । गोरखा, तनहुँ र लमजुङमा पनि चेपाङ समुदायको बाक्लो बस्ती छ ।
इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौं, कास्की, गुल्मी, नवलपरासी, रूपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास पाइएको संघले जनाएको छ ।
चेपाङ भाषाबाटै ‘धादिङ’ को नामाकरण
धादिङ जिल्लाको नाम पनि चेपाङ भाषाबाटै राखिएको कथन छ । चेपाङहरुले ‘धा’ लाई ‘आगोको ज्वाला’ र ‘दिङ’ ‘देवी देउता चथौत माटो’ भन्ने गरेका छन् । यसलाई मिलाएर धादिङ नामाकरण गरिएको चेपाङ संघ, धादिङका अध्यक्ष भीमबहादुर चेपाङले बताए । चेपाङ समुदायको थातथलो नै महाभारत क्षेत्र हो ।
चेपाङहरू पहिलेदेखि नै धादिङ, चितवन र मकवानपुरको सीमाना महाभारत श्रृङ्खलामा बसोबास गर्थें । उनीहरुले पूजा गर्ने ज्वालामुखी देवीको मन्दिर पनि धादिङ जिल्लामा रहेकाले चेपाङ भाषाबाट नै जिल्लाको नाम ‘धादिङ’ रहेको जनविश्वास छ । चेपाङ जातिलाई भौगोलिक सीमाभन्दा सामाजिक तथा सांस्कृतिक सीमाले बाँधेको छ । उनीहरुको जन्मदेखि मृत्युसम्मको संस्कार पनि भूमिसँग सम्बन्धित छ ।
टिप्पणीहरू