कान्छी आमाद्वारा सताइएकी माओपुत्रीको दुखद कथा

कान्छी आमाद्वारा सताइएकी माओपुत्रीको दुखद कथा सन्दर्भः सेप्टेम्बर ९, माओको पुण्यतिथि

अध्यक्ष माओका चार पत्नी थिए । पहिलो पत्नी लुओ यिसिउबाट कुनै सन्तान भएनन् । दोस्री पत्नी याङ काइहुइ तीन छोरा माओ आन्यिङ, माओ आन्छिङ र माओ आन्लोङको आमा बनिन् । जेठो छोरो आन्यिङको मृत्यु त कोरियाली युद्धभूमिमै सन् १९५० मा भयो । माइलो छोरा आन्छिङ मानसिक रोगी थिए अनि कान्छा आन्लोङको मृत्यु ४ वर्षको उमेरमै भयो । तेस्री पत्नी ह छिछेनबाट ३ छोरी र ३ छोरा जन्मिए । जेठी छोरी माओ जिन्ह्वा, जसलाई माओ र हले लङ मार्चमा सम्मिलित हुनु परेको कारण एउटा किसान परिवारको जिम्मा लगाएका थिए । याङ परिवारमा हुर्केकै कारण उनको नाउँ पछि याङ युइह्वा रहन पुग्यो । याङले आफ्नो जीवनमा आमाबुबालाई कहिल्यै भेट्न पाइनन् । हका अरु दुई सन्तान पनि त्यसैगरी फरक फरक किसान परिवारलाई जिम्मा दिइएको थियो । अर्की पत्नी थिइन्– चियाङ चिङ । उनको तर्फबाट एउटी छोरी जन्मिइन् – लि ना । चियाङ माओकी चौथी पत्नी हुन् भने माओ पनि चियाङको चौथो पति थिए । चियाङले सन् १९३८ मा माओसित बिहे गर्नुअघि सन् १९३१ मा पेइ मिङ्लुन, १९३२ मा यु खिवेइ र सन् १९३६ मा ताङ नासित बिहे गरिसकेकी थिइन् । 

माओ जियाओजियाओ माओकी तेश्री पत्नी छिछेनतर्फकी पुत्री हुन् । माओ जियाओलाई धेरै मन पराउँथे । जियाओ जब माध्यमिक स्कूलमा भर्ना हुने उमेरमा पुगिन् माओले नयाँ नाउँ राखिदिए– लि मिन । माओका सबै छोराको नाउँ ‘माओ’ बाटै शुरु भएको छ तर जियाओको नयाँ नाउँ अगाडि ‘माओ’ नराखी ‘लि’ राखियो । यसो गर्नुको कारण क्रान्तिकालमा आफ्नो नाउँ फेर्ने बाध्यता हो तर उनलाई सबैभन्दा मन पर्ने नाउँ थियो– लि देसेन । यो नाउँ उनले कोमिन्ताङसित संघर्षको क्रममा सन् १९४७ मा राखेका थिए । लि मिनले स्नातक उत्तीर्ण गरेपछि बेइजिङको साधारण विश्वविद्यालयमा रसायन शास्त्र पढिन् । त्यहीँ उनको भेट सन् १९५९ मा कोङ लिङह्वासित भयो । सोही वर्ष उनीहरूले बिहे गरे । सन् १९६६ मा सर्वहारा सांस्कृतिक क्रान्ति शुरु भयो । दक्षिणपन्थीहरूविरुद्ध अभियान चलाउने क्रममा माओले ‘बुर्जुवाहरूको हेडक्वार्टरमा बम खसाल’ अंकित पोष्टर टाँस्न लगाए । जियाओले पनि समाचारपत्रमार्फत यो कुरो थाहा पाइन् । अरु जस्तै उनी पनि उक्त पोष्टरले भन्न खोजेको के हो ? भन्नेमा अनभिज्ञ थिइन् । एकदिन आफू कार्यरत रक्षा मन्त्रालयअन्तर्गतको विज्ञान र प्रविधि इन्स्टिच्युटका विरोधी समूहसित यसबारे कुरा गरिन् र भनिन् ‘हरेक व्यक्तिको आफ्नो विचार हुन्छ । बिना तर्क विद्रोही बन्नु निरर्थक छ ।’

यही खरो अभिव्यक्ति उनको लागि अभिशाप बन्यो । लगत्तै विद्रोहीको शिकार बन्न थालिन् । उनीविरुद्ध ‘लाल सेना’ ले संघर्ष शुरु ग¥यो । उनी ५ महिनादेखि परिवारबाट छुट्टिएर एउटा कोठामा बसिरहेकी थिइन् । ठीक त्यसैबेला क्रान्तिको नेतृत्व गरिरहेकी माओकी कान्छी पत्नी चियाङ चिङका आज्ञाकारी हान आइजिङले चियाङलाई ‘जियाओ तपाईंकी छोरी होइनन् । माओले परित्याग गरिसकेकी पत्नीकी छोरी हुन् । यिनको लोग्ने विरोधीका एजेन्ट हुन्, टाइम बम हुन् । यिनीहरूलाई यहाँबाट खेद्नुपर्छ’ भनेर उक्साउनसम्म उक्साए । हान र उनका साथीहरूले जियाओ कार्यरत इन्स्टिच्युटका उपनिर्देशक झाङ चिपिङविरुद्ध पनि संघर्ष छेडे । जियाओ दम्पतीले प्रसिद्ध र ऐतिहासिक लङ मार्चका एक जना नायकविरुद्ध सञ्चालित उक्त अभियानबाट सबै क्रान्तिकारीको अपमान भएको महसुस ग¥यो । उनीहरूले अध्यक्ष माओलाई भेटेर त्यस्तो कार्य रोकाउन अनुरोध गर्ने निश्चय गरे । तर, धेरै पटक प्रयास गर्दा पनि भेट्न सकेनन् । एकदिन जियाओ जबर्जस्ती बाबुको कोठामा प्रवेश गरिन् । कुरा थाल्न नपाउँदै चियाङले जियाओलाई ‘सानी महारानी, बाहिर आन्दोलन चल्दै छ, तिमी किन आयौ ? परिस्थितिको सही विश्लेषण गर्न सिक’ भनिन् ।

बोल्नै नपाई झपारेको सुनेर माओ रिसाए । उठेर ढोकानिर पुगे र छोरीलाई भित्र आउन संकेत गरे । चियाङतिर हेर्दै भने, ‘रानी महारानीको कुरो गर भनेर कसले भन्यो तिमीलाई ? ऊ यहाँ आउदैमा के बिग्रियो ? छुच्चो बोली नबोल ।’ यति भनेर छोरीको पाखुरा समाती भित्र लगे र छोरीको कुरो ध्यान दिएर सुने । सांस्कृतिक क्रान्तिको नाउँमा सानो–ठूलो अप्रिय घटना र ज्यादती भइरहेको थाहा पाए । झाङमाथि गरिएको दुव्र्यवहार सुनेर भने, ‘उनी एकजना असल कमरेड हुन् । क्रान्तिमा होमिएर आन्दोलनको नेतृत्व गरेका व्यक्ति हुन् ।’ जियाओसँगको भेटपछि उनीप्रतिको पार्टी दृष्टिकोण माओले प्रष्ट्याए र झाङको जीवन सुरक्षित भयो । सन् १९७४ आइपुग्दानपुग्दै माओको स्वास्थ्य निकै कमजोर भइसकेको थियो । र, राजकीय शक्तिमा पकड पनि कमजोर हुँदै थियो । कतिपय घटनाप्रति आँखा चिम्लिदिए । माओको यो कमजोरीबाट लाभ उठाउँदै चियाङ र उनको मित्रमण्डलीले माओ त्सेतुङ विचारधाराविपरीत धेरै कार्य गरे । जियाओले माओलाई भेटेर यो कुरो बताउन चाहिन् तर उनलाई भेट्नै दिइएन । कहिले व्यस्त हुनुहुन्छ भन्ने कहिले के । एकदिन सुरक्षाकर्मीसँग झगडा नै गरिन् । आन्दोलनको नाउँमा आफ्नै बाबुसँग भेट्न नदिएकोमा रोष प्रकट गरिन् । जियाओले माओसँग भेट्न नसक्नुको प्रमुख कारण चियाङ थिइन् । बाहिर भइरहेका गतिविधि माओले थाहा नपाउन् भन्ने उनको चाहना हुन्थ्यो । 

सन् १९७६ मा जियाओ र उनका पति कोङ कार्यालयमा थिए । माओ सिकिस्त बिरामी परेको खबर टेलिफोनबाट पाएर रुँदै बेइजिङ पुगिन् । घर पुग्दा बाहिरै सानीआमा चियाङसित जम्काभेट भयो । उनले ‘आकस्मिक उपचारपछि उहाँको स्वास्थ्य राम्रो भएको छ । तिमी फर्के हुन्छ’ भनिन् । जियाओ उनको कुरो मान्न तयार भइनन् । आएको बेला केही दिन बाबुसंग बसेर जाने जिद्दी गर्न थालिन् । चियाङले ‘ल बस्न त बस तर बुबाको स्वास्थ्यमा तलमाथि भयो भने त्यसको सम्पूर्ण जिम्मेवारी तिमीले बोक्नुपर्नेछ र यस्तै ढिपी गर्न थाल्यौ भने आइन्दा यहाँ प्रवेश पाउने छैनौ’ भनिन् । जियाओ पनि उत्तेजित बनिन् र चिच्याइन्, ‘आफ्नो बुबालाई भेट्न मलाई तपाईंको अनुमति चाहिने ?’ 

आमा–छोरीको बहस चर्कन थालेपछि त्यहीँ मूक दर्शक भई उभिइरहेका माओपछिका वरिष्ठ नेताहरू ह्वा कोफेङ र वाङ दोङसिङलाई अनिष्ट हुन लागेको भान भयो । उनीहरू जियाओ नजिक पुगेर उनलाई घर फर्कन आग्रह गर्न थाले । पार्टीका सिनियर कमरेडहरूको आग्रहपछि उनी घर फर्किइन् । एकदिन चिनियाँ कम्युनिष्ट पार्टीको वर्गीकृत सूचनामा माओ अत्यन्त सिकिस्त अवस्थामा पुगेको खबर पढिन् र हान्निएर फेरि बेइजिङ पुगिन् । बाबुसँग भेट्ने अनुमति मागिन् । यसपटक भने बिना अवरोध र गलफत्ती उनलाई भित्र छिर्न दिइयो । कोठाभित्र पुगेर सिधै माओ पल्टिरहेको बिछ्यौनातिर पुगिन् । माओ इन्तु न चिन्तु भएर सुतिरहेका थिए । अनुहार पहेंलो भइसकेको थियो भने स्वर भासिएको । यसको बाबजुद दिमाग भने चुस्तै थियो । चियाङको पछिपछि जियाओलाई देखेर मायालु लवजमा ‘छोरी, मलाई हेर्न आयौ ?’ भनेर सोधे । बुबाको अवस्था देखेर रुन मात्र नसकिरहेकी जियाओले टाउको हल्लाएर ‘हो’ भन्ने उत्तर दिइन् । माओले फेरि सोधे ‘बेलाबेलामा तिमी मलाई भेट्न किन आउँदैनौ ?’ 

चियाङ पनि सँगै उभिइरहेकोले जियाओले साँचो कुरो गर्न उचित ठानिनन् । मौन बसिन् । 

माओले फेरि सोधे, ‘तिमी अब कति वर्षको भयौ ?’

उनान्चालिस – जियाओले उत्तर दिइन् । 

अठ्तिस हैन ? – माओको पुनः सोधाइ ।

बुबाको कुरोबाट जियाओका आँखा आँशुले भरिए । आफूलाई सम्हाल्न खोजिन् । तैपनि, दुईथोपा आँसु गालामा बग्यो । माओले सकिनसकी हात उचाले । जियाओको बूढीऔंला समातेर हत्केलामा औंलाले गोलाकार चिह्न कोरे तर जियाओले बुबाको संकेत बुझिनन् । आफूलाई सम्हाल्नै सकिनन् । मुटु फुट्लाझैं भयो । बाबुको हात छुटाएर कोठाबाट बाहिरिइन् । उनलाई बुबाले गरेको संकेतबारे ठूलो कौतुहलता जाग्यो । बूढापाकाहरूसँग बसेर सल्लाह गरिन् तर कसैले पनि ठ्याकै यही हो भनी बताउन सकेनन् । उनीहरूको अनुमानमा माओले आफ्नी पत्नी तथा जियाओकी आमा ह छिछेनबारे सोधेको हुनुपर्छ । उनीहरूका अनुसार नाउँको पहिलो अक्षरले हतर्फ नै संकेत गर्छ । यसको दुई दिनपछि जियाओ कोठामा बसिरहेकी थिइन् । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयले एउटा जीप पठायो । जियाओ त्यसैमा बसेर माओको निवास पुगिन् । उनी पुगेलगत्तै माओको स्वासप्रश्वास बन्द भयो । यो सन् १९७६ सेप्टेम्बर ९ को दिन थियो । निधनपश्चात माओको शव तियानमेन स्क्वायरस्थित ग्रेटहलमा राखियो– अन्तिम दर्शनको लागि । जियाओले बुबाको शवको पछाडि बस्न चाहिन् तर चियाङले यसमा आपत्ति जनाइन् । बिचरा जियाओ सर्वसाधारणसरह लाममा बसिन्, टाउको निहु¥याएर । बाबुको अन्तिम दर्शन गर्न । 
 

टिप्पणीहरू