जमाना बदलिएको कसले हेर्ने जोखना ?

जमाना बदलिएको कसले हेर्ने जोखना ?
सुन्नुहोस्

पार्टी माने म भन्ने जमाना छैन । याक चुरोट खाँदा गाली खान पर्दैन र कसैले कसैलाई टंक कार्की बनाउन पनि सक्दैनन् आज । किनभने नेतृत्व भनेको के हो र कस्तो हुनुपर्ने रहेछ भनेर धेरैजसोले बुझिसके । कतिसम्म भने ओली कमरेडको चुच्चे रेल ल्याउने कुरा होस् कि, माधव कमरेडको एमाले फुटाएर ठिक गर्‍याैँ भन्ने कुरा होस् कि, प्रचण्डको समृद्धि ल्याउँछु भन्ने दाबी होस्, उनीहरूकै धेरै कार्यकर्तालगायत बहुसंख्यक जनताले ती भनाइमा वास्तविकता देखेनन् र त्यसप्रति खासै चासो राखेनन् । यस्तो किन हुन गयो भने उनीहरूको भनाइ र गराइमा सामञ्जस्यता थिएन र साथसाथै ती विषय जनताको समस्यासँग सरोकार राख्ने खालका पनि होइनन् । चुच्चे रेल चीनबाट नेपाल ल्याउन कति खर्च लाग्छ र कति समय लाग्छ भन्ने मूल कुरालाई लुकाएर, मनको लड्डु घ्यूसँग खाने भनेजस्तो, असम्भव त नभनौं तर निकट भविष्यमा बनाउनै नसकिने कुरा भनेपछि जनताले पत्याउने कुरा भएन । माधव कमरेड र प्रचण्डका दाबी पनि ओली कमरेडका जस्तै हुन् । 

आज जनताको हातमा सत्य सूचना भएको समय हो । कर्पोरेट वा सरकारी मिडियाको हातबाट आम मानिसले सत्य समाचार संप्रेषण गर्ने पहलकदमी र जिम्मेवारी दुबै आफ्नो हातमा लिइरहेका छन् । अब सुत्केरीको गाडी रोकेर प्रहरीले दुःख दियो भन्दै आफ्नो कमजोरी लुकाउन सकिन्न भन्ने कुरा रुटिन अफ नेपाल बन्द भन्ने साइट बन्द गर्नुपर्ने अवस्था आइपर्नुले पनि पुष्टि गरेको छ । राजनीति भनेको विभिन्न विषयजस्तो इतिहास, संस्कृति, अर्थतन्त्र, समाज, साहित्य, उद्योग, कृषिलगायत धेरै कुरालाई राम्रोसँग बुझ्ने र त्यसलाई जनताको हितमा प्रयोग गर्ने माध्यम हो । जनताले चुनावमा किन भोट हाल्न जान्छन् भने उनीहरूले जीवनमा भोग्नुपरिरहेका मुख्य समस्या समाधान गरिदिन्छन् भनेर हो ।

अब सुत्केरीको गाडी रोकेर प्रहरीले दुःख दियो भन्दै आफ्नो कमजोरी लुकाउन सकिन्न भन्ने कुरा रुटिन अफ नेपाल बन्द भन्ने साइट बन्द गर्नुपर्ने अवस्था आइपर्नुले पनि पुष्टि गरेको छ ।

तर, जब राजनीतिक नेतृत्वले जनताको समस्यालाई उपेक्षा गर्छन्, आफ्नो हितमा सत्ताको उपयोग गर्छन् त्यसपछि जनताले उनीहरूमाथि विश्वास गर्न छाड्छन् । यद्यपि, प्रचण्ड देशको बहालवाला प्रधानमन्त्री हुन् आजको दिनमा तर उनीप्रति जनताको धेरै ठूलो हिस्साले विश्वास गर्न छोडेको छ । माधव, ओली र झलनाथ कमरेडहरूको कुरा पनि प्रचण्डकै जस्तो हो, धेरैले कम विश्वास गर्छन् । यस्तो किन भएको छ भने उनीहरू सैद्धान्तिक, वैचारिक तथा ब्यवहारिक हिसाबले आफूले भनेअनुसार कहिल्यै चल्न सकेनन् । हालसालै एमालेले आफ्नो केन्द्रीय सचिवालय बैठक गरेको तराईको घर हेरेरै थाहा हुन्छ विगत के हो र किन वामपन्थी आन्दोलनमा लाग्या हो भन्ने कुरा । तर आज कस्तो छ भन्ने कुरा त बालकोटको बार्दली हेर्दा थाहा भइहाल्छ । नेताहरू प्रति जनताको भरोसा यसरी उठ्नु भनेको राजनीतिमा असफल भएको प्रमाण हो । असफल राजनीति बोकेर बसिरहनु राम्रो होइन । यस्तो गर्दा राम्रो रहेको इतिहासमा पनि धब्बा लाग्न सक्छ । 

अहिले पनि कम्युनिष्टहरू जनताको मुद्दामा अत्यन्तै असंवेदनशील देखिन्छन् । यिनीहरूलाई चुनाव जित्न जनता चाहिन्छन् तर जनताको समस्याबारे चासो नै छैन । विभिन्न प्रकारका कार्यक्रम लिएर जनतामाझ गएका त छन् तर त्यहाँ जनताका मुद्दा छैनन् । महँगी यसरी बढेको छ कि जनतालाई गुजारा गर्न मुश्किल छ । आम्दानीको कुनै स्रोत छैन । मजदुरको आम्दानीबाट दाल, तेल, चामल किन्न सकिने अवस्थासमेत छैन । ग्यास उस्तै महँगो छ । लुगाफाटो त ल पुरानै लगाउलान् तर के पेट नभरि बाँच्न संभव छ ? सरकारले त महँगी बढाएकै छ तर प्रमुख प्रतिपक्षी दलको राजनीतिक जिम्मेवारी होइन र महँगाइबारे सदन र सडक तताउने र महँगी घटाउन सरकारलाई बाध्य पार्ने ? खोइ त महँगीविरोधी आन्दोलन चलाएको ? खोइ त जनतालाई उठ्न आह्वान गरेको ? जनताको समस्या नचिन्ने पार्टीलाई जनताले पनि चिन्न छोड्छन् विस्तारै विस्तारै । अहिलेसम्म त नेतृत्व मात्रै अक्षम हो भन्ने परेको छ । यस्तै रवैया रहिरहने हो भने जनताले पार्टीलाई नै अक्षम भनेर मान्नुुपर्ने दिन पनि आउनेछ । पश्चिम बंगालको वामपन्थी दलको हार यत्तिकै भएको होइन । जनतासँग टाढिँदाको परिणाम थियोे । समयमै चेत खुलेमा राम्रो होला । 

अन्त्यमा, बालेनको डोजर तथा प्रहरीको पहिरनमा काठमाडौंका सडकपेटी र गल्लीमा खटिएका आततायी डफ्फाले साइकलमा फलफूल बेच्ने, सिलेवरको भाँडामा मकै पोल्ने, पेटीमा बोरा र ढाकरमा सागसब्जी बेच्ने गरिबमाथि चलाएको श्वेत आतंक तालिवानीको हिंस्रक गतिविधिभन्दा कुनै हालतमा कम थिएन । गहभरि आँसु पार्दै जसले दिनभरिमा आफूसँग भएको सामान बेचेर जम्माजम्मी चार सय पनि नाफा कमाउन सक्दैनन्, तिनले दुईहात जोडेर ती जल्लादजस्ता नगर प्रहरीसँग आफ्नो सामान नखोसिदिन अनुनय–विनय गरेको दृश्य कम्ती हृदयविदारक थिएन । 

परै देख्नासाथ साइकल गुडाएर लुक्न हिँडेकालाई लखेटी–लखेटी समाती तिनको खाँचीमा भएको फलफूल लुटेको दृश्य पनि कम्ती मुटु पोल्ने त थिएन । झोलामा मास्क राखेर बेच्न हिँडेको त्यो गरिबको मास्क खोसेको दृश्य पनि सभ्य समाजमा हेर्न नसकिने नै थियो । तर, यस्तो मानवताविरोधी र बर्बरतापूर्ण काम गर्न आदेश दिँदै गर्दा बालेनलाई कुनै अफसोच लागेन । तर, आफ्नालाई तीन मिनेट सामान्य सोधपुछ गर्दा भने महाभारतको सम्झना भएछ । यो पनि कुनै हालतमा सही होइन । अब जनतासँग माफी माग्नुपर्छ र यस्तो घटना नदोहोर्‍याउने प्रतिबद्धता जाहेर गर्नुपर्छ । 

टिप्पणीहरू