प्रचण्ड बेइजिङ नपुग्दै नेपालीको प्राणान्त
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुग्नु केही दिनअगाडि चीन घुम्न गएका एक जना व्यवसायीको बेइजिङमा हृदयाघातका कारण मृत्यु भएको छ । काठमाडौँका ६४ वर्षीय रमेशमान तुलाधरको असोज २ गते मंगलबार बेलुकी मृत्यु भएको हो । चीनका विभिन्न शहरमा आयोजना हुने प्रदर्शनीमा भाग लिन उनी साथीहरूसँगै गएका थिए । त्यता पुगेपछि ग्रेटवाल पनि हेरौँ भन्दै बेइजिङ पुगेका उनी त्यहीँ बिसर्जित भए ।
ग्रेटवाल घुमेर साँझ आफू बसेको होटलमा फर्किए । बेलुकीको खाना खाँदै गर्दा हृदयघात भएर ढलेका तुलाधरलाई साथीहरूले अस्पताल पुर्याएका थिए । तर अस्पतालले उनको मृत्यु भइसकेको जनायो । तुलाधरको मृत्यु हुँदा नेपाली दूतावासमा बुधवार आयोजना हुने संविधान दिवस समारोहको तयारी हुँदै थियो । तैपनि, बेलुका नै राजदूत विष्णुपुकार श्रेष्ठ अस्पताल पुगेर जानकारी लिए ।
तुलाधरको मृत्युपछि उनको शवलाई चाँडै नेपाल फर्काउने तयारी भएको थियो । तर चीनबाट शव ल्याउन निकै झन्झटिलो हुने र पठाउने कम्पनीले डेढ लाख युआन अर्थात् २६ लाख रूपैयाँभन्दा बढी पैसा माग गरेपछि परिवार शव नल्याउने बरु आफूहरू उतै गएर अन्तिम सँस्कार गर्ने तयारीमा जुटेको छ । मृतकका एक जना आफन्तले जनआस्थालाई बताएअनुसार भिसा लिने काम भइसकेको छ र तुरुन्तै जाने तयारी हुँदै छ ।
केही वर्षअगाडि कन्फ्युसियस इन्स्टिच्युटको निमन्त्रणामा गएका पोखराको एउटा निजी स्कूलका सञ्चालकको पनि बेइजिङमै हृदयाघातका कारण मृत्यु भएको थियो । उक्त समयमा शव नेपाल ल्याउनलाई लगभग ८० हजार युआन लागेको थियो । तर, अहिले त्यसको दोब्बर लाग्ने बताइएपछि आफन्तहरू चीनमै गएर अन्तिम संस्कार गर्नमा जुटेका हुन् । यतिबेला प्रधानमन्त्री चीनमै रहेकाले उनले शव फिर्ता पठाउन केही पहल गरिदिए हुने चाहना परिवारले राखेका थिए । तर, तुलाधरको मृत्यु भएको कुरा प्रचण्डको कानमा पुगेन अथवा थाहा पाएर पनि वास्ता गरेनन्, त्यसबारे विस्तृतमा जानकारी प्राप्त हुन सकेन ।
टिप्पणीहरू