पूर्वबाट उदायो ठाँटीको घाम
कमल भट्टराई
नेपाली साहित्यको आकाशमा आज नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट नयाँ घाम उदाएको छ । ‘ठाँटीको घाम’ नेपालको पूर्व माझकिराँतको जनजीवनमा आधारित स्थानीय माटो र वातावरणसँग रमाएको परम्परागत भाषाशैलीमा लेखिएको उपन्यास हो ।
साहित्यकार टंक भट्टराईद्वारा लिखित ‘ठाँटीको घाम’ ले नेपाली जीवनस्तरको झझल्को दिँदै हिंजो र आजको समाजमा रहेको भिन्नतालाई उजागर गरिदिएको छ । आगामी समाज कस्तो हुँदा राम्रो भन्नेबारेमा यसले प्रकाश पार्न खोजेको छ ।
उपन्यासमा माया प्रितीको न्यानोेपन, आर्थिक समृिद्धको ताप, प्रशासन, न्याय, धर्म, भाषा, संस्कार र संस्कृतिका साथै स्वास्थ्य, वातावरण र प्रकृतिका हरेक क्षेत्रलाई छोइएको छ । दुई सय पैंतालीस पृष्ठभित्र ५३ शीर्षक समेटिएका छन् ।
फरक फरक शीर्षकका यस उपन्यासमा विविध विषयवस्तु समेटिएका छन् । रमितेखोलो शीर्षकबाट सुरु भएको उपन्यासमा क्रमशः गोठाला, झाँक्रीपहरो, अधुरो, सिक्किमे पिरती, बजूका कथा, धामीको भर, शिक्षाको झिल्को, अध्यारो बाटो, लाहुरतिर, चिठी—चपेटो, ठाँटी—चौतारो, बाँसमा खोपेको माया, अरबको सपना, मायाको पूmल, जागिर, बिहेको रन्को शीर्षक छन् ।
त्यसैगरी जोडिएको मन, साइत, कोसेली, सिलोक, सृष्टि, दशैंको बेला, अर्को बाटो, बैंसको भेल, मस्ती, सल्लाको सुसेली, दुखेसो, फर्केको खुसी, भत्केको मन, रेशीखोलासँगै, बेचैनी, उथलपुथल, आशाको दियो, आत्मसमीक्षा, गाउँको काखमा, धनको तुजुक, मित्रता, अर्को मोड, संकल्प, आफ्नै माटो प्यारो, आ–उठ, उद्यम, विश्वास, समयको खेल,परीक्षा, समृद्धिका पाइला, जोगी, पछुतो, अर्को वसन्त, भुरुरु—आफ्नै गाउँमा, क्षमादान शीर्षकपछि ‘ठाँटीको घाम’ ले बिट मारेको छ ।
उपन्यासले नेपाली समाज परिवर्तनमा उल्लेख्य भूमिका खेल्ने विश्वास लिन सकिन्छ । लेखनशैलीमा समेत नयाँ आयाम थपेको यो उपन्यास खोटाङमा जन्मेका टंक भट्टराईद्वारा लिखित हो । लेखकले काठमाण्डौ उपत्यका र मुलुकका विभिन्न जिल्लालाई आफ्नो कर्मथलो बनाउँदै ताप्लेजुङलाई समेत एक वर्ष पहिलेदेखि कर्मथलो बनाएका छन् ।
प्रकृतिसँग बढी रमाउने भट्टराईको यो तेस्रो कृति हो । साहित्य, कला संस्कृतिमा चुर्लुम्म डुबेका टंक आफ्नो स्वास्थ्यको प्रवाह समेत नगरी हिमाली क्षेत्रदेखि पहाडी खोच, भीरपाखा, खोला किनारमा समय निकालेपछि पुग्ने गरेको पाइन्छ । नेपाल सरकारको प्रशासनिक सेवामा कार्यरत टंक भट्टराईले कार्यालयको काम बाहेकको समय यात्रा र साहित्य सिर्जनामा बिताउने गरेको पछिल्लो कृतिबाट पनि पुष्टि हुन्छ ।
टिप्पणीहरू