टावर ठड्याउने टेलिकम,जस लिन खोज्ने बिनोद चौधरी ?

टावर ठड्याउने टेलिकम,जस लिन खोज्ने बिनोद चौधरी ?

नेपाल टेलिकमले नवलपरासीको सुस्ता नगरपालिका ४, नरसहीमा टावर खडा गरेको छ । सो ठाउँ  विवादास्पद व्यापारी तथा काँग्रेस सभापति विनोद चौधरीको निर्वाचन क्षेत्रअन्तर्गत पर्छ । 

निर्वाचन जित्नु अघिसम्म गत वर्ष केही समयका लागि बिलासी मोटर छाडेर मोटरसाइकल, गोरु गाढामा हिँडेका, सर्वसाधारणको खटियामा बस्दै सिल्भरको थालमा भात खाएका चौधरीले टेलिकमको टावर स्थापना र सञ्चालनको वास्तविकताबारे भने दिउँसै रात पारेका छन् । उनले सामाजिक सञ्जालमा सो क्षेत्रमा रहेको टेलिफोन नेटवर्क समस्याको समाधान भएको र आफ्नो विकासको पहलमा टेलिकमले साथ दिएकोमा धन्यवाद लेखेपछि सर्वसाधारण चौधरीमाथि खनिएका छन् ।

उनले फेसबुक पेजमा लेखेका छन्, ‘यस क्षेत्रका वासिन्दाले सहज रुपमा मोबाइल टेलिफोन नेटवर्क पाएका थिएनन् । अब यो समस्या समाधान भएको छ । मेरो विकासको पहलमा साथ दिने नेपाल टेलिकम र स्थानीय मित्रहरु सबैलाई धन्यवाद ।’ 

डलर अर्बपति भनाउँदै हिँडे पनि उनले आफ्नो कम्पनीको तर्फबाट सर्वसाधारणको सेवामा सुको नझारी सरकारी कामको जस लिन खोजेपछि उनैको उक्त स्टाटसमा जनताले कडा प्रतिक्रिया जनाउने क्रम जारी छ । प्रमोदकुमार साह लेख्छन्, ‘सिजी नेट पनि दिनुपर्यो फिरीमा माननीयज्यू !’ सिजी नेट चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक कम्पनी हो । 

चन्द्रप्रकाश साउदले चोटिलो प्रतिक्रिया जनाएका छन् । उनले सरकारी कम्पनीले बनाएको टावरको बारेमा गरिएको अनर्गल प्रचार भन्दै चौधरीको सिजी टेलिकमको टावर नभएकाले धाक नलगाउन सुझाव दिएका हुन् । साउद लेख्छन्, ‘नेपाली नागरिकले तिरेको करबाटै बनेको टावर हो न कि  सिजी टेलिकमले निःशुल्क बनाएको,फेरि धाकचाहिँ व्यक्तिगत लगानी गरी बनाएजस्तो । चाहिने चाहिँ फेरि सोसल मिडियाबाट पब्लिसिटी रे !’

चौधरी रातारात धनी हुनुको कारणवारे ध्रुव थापा लेख्छन् ‘छातीमा हात राखेर भन त विनोद दाइ,राजा मारेपछि तिम्रो सम्पत्तिमा अचाक्ली बढुवा भएको छ । तिम्रो किताब मैले पनि पढेको छु ।’
 

टिप्पणीहरू