अपराधको पराकाष्ठ : सेवा प्रदायकहरुले नै इन्टरनेट काटेको खुलासा

अपराधको पराकाष्ठ : सेवा प्रदायकहरुले नै इन्टरनेट काटेको खुलासा
सुन्नुहोस्

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध गर्ने सेवा प्रदायकलाई हदैसम्म कारबाही गर्ने चेतावनी दिएको छ । अनुगमनका क्रममा केही इन्टरनेट सेवा प्रदायकले सेवा अवरुद्ध गरेको पाइएपछि प्राधिकरणले त्यस्तो गैरजिम्मेवारीपूर्ण कार्य गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

प्राधिकरणले सेवा प्रदायकहरुको उक्त कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ  । ब्याण्डविथ खरिदबापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नगरेको भनि प्रकाशित समाचारको खण्डन गर्दै प्राधिकरणले सेवा प्रदायकहरुले निर्वाध रुपमा प्राधिकरणबाट विदेशी मुद्रा सिफारिसलगायत सहजीकरणको सुविधा लिइरहेको स्पष्ट पारेको छ । 

‘२०८१ साल वैशाख २० गतेका दिन केही इन्टरनेट सेवा प्रदायकहरुको इन्टरनेट सेवा अवरुद्ध भएको सम्बन्धमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ । सोपश्चात् प्राधिकरणबाट गरिएको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध गरेको पुष्टि भएको र तत्काल प्राधिकरणबाट लिइएको पहलकदमी र सरोकारवालाहरुबाट भएको सहयोग एवम् समन्वयले केही समयभित्र नै इन्टरनेट सेवा सुचारु भएको व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ । 

केही सीमित सेवा प्रदायकले वर्षौंदेखि प्राधिकरणबाट बक्यौता भुक्तानीको लागि बारम्बार ताकेता गर्दासमेत नियमानुसार बुझाउनुपर्ने बाँकी बक्यौता नबुझाएकोले विदेशी मुद्रा सिफारिस गर्न नमिलेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । उक्त विषय सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको बताउँदै प्राधिकरणले सेवा प्रदायकहरुको यस कार्यलाई सामान्य मान्न नसक्ने जनाएको छ । 

भनिएको छ, ‘सीमित सेवा प्रदायकहरुले वर्षौंदेखि प्राधिकरणबाट बक्यौता भुक्तानीको लागि स्पष्ट गरी बारम्बार ताकेता गर्दासमेत नियमानुसार बुझाउनुपर्ने बाँकी बक्यौता रकम विभिन्न बहाना गरी हालसम्म भुक्तानी नभएको अवस्थामा दूरसञ्चार उपकरण आयात तथा विदेशी मुद्रा सटही सिफारिससम्बन्धी (कार्यविधि) विनियमावली, २०७६ को ४ (घ) बमोजिम विदेशी मुद्रा सिफारिस गर्न मिल्ने नदेखिएको । साथै उक्त विषय सम्मानित सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको अवस्थामा दूरसञ्चारजस्तो अत्यावश्यक सेवा गैरजिम्मेवारीपूर्वक अवरुद्ध हुनुलाई स्वाभाविक रुपमा लिन सकिने देखिँदैन ।’

अत्यावश्यक सेवाअन्तर्गत पर्ने इन्टरनेट अवरुद्ध गरेमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही गरिने प्राधिकरणको चेतावनी छ । हिजो दिँउसो ४ बजेदेखि इन्टरनेट सेवा अवरुद्ध भएको थियो । सेवा अवरुद्ध हुँदा सरकारी, गैरसरकारी कार्यालयलगायत सबैलाई समस्या परेको थियो ।

टिप्पणीहरू