गृह मन्त्रालयमा ‘गुनासो सुनुवाई कक्ष’
गृह मन्त्रालयमा ‘गुनासो सुनुवाई कक्ष’ को स्थापना गरिएको छ । मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित नागरिकका गुनासो, जिज्ञासा र सुझावको सम्बोधन गर्न गुनासो सुनुवाई कक्षको सञ्चालन गरिएको जनाइएको छ ।
उक्त कक्षबाट गुनासो सम्बोधनका लागि विभिन्न व्यवस्था मिलाएको मन्त्रालयको दाबी छ । मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोहरु सेवाग्राहीले सम्बन्धित निकायको हकमा सोही निकायको प्रमुख, विभागीय प्रमुख र जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीसमक्ष गर्न सक्नेछन् ।
यसरी प्राप्त हुने गुनासोलाई सम्बन्धित निकायको प्रमुख, विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीमार्फत प्राथमिकताका साथ सुनुवाई र फछ्र्यौट गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले बताएको छ ।
साथै, सम्बन्धित निकायबाट गुनासो सुनुवाई हुन नसकेमा ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाई कक्ष’मा जानकारी गराउन सकिनेछ । कक्षको इमेल ठेगाना, फेसबुक, ह्वाट्सएप नम्बर ९८५१३६०६२३ र हुलाकमार्फत् समेत गुनासो पठाउन सकिने व्यवस्था मिलाइएको छ ।
टिप्पणीहरू